• ७ पुस २०८१, आइतबार

बाँदर नियन्त्रण टाउको दुःखाइ

blog

फाइल तस्बिर ।

गणेश पौडेल 

पर्वत, असोज ६ गते । पर्वतको कुस्मा नगरपालिकाका अधिकांश वडाले बाँदर आतङ्क कम गर्न बस्ती वरिपरिका रुख फँडानी अभियान नै चलाए । अभियानमा काटेका रुख बिक्री नहुने र एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्न वन कार्यालयले रोकेपछि रुख कटान रोकियो । 

बाँदर नियन्त्रण गर्न रुख कटान, हेरालु र उपकरण प्रयोग अनि समातेर निकुञ्जमा लगी छाड्ने मान्छेको उपाय काम लागेन । मान्छेले बाँदर होइन, बाँदरले मान्छेलाई ‘नियन्त्रण’ गर्न थालेको छ । सहर झर्नेले रुख पाल्ने र बाँझो रहेको खेतबारीमा पनि रुख भरिन थालेपछि बाँदर बस्ती घरघरै आउन थालेको स्थानीय गुनासो गर्छन् । कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले भन्नुभयो, “गाउँमा जाँदा स्थानीयवासी बाँदरले बस्न दिएन भनेर रुँदै आउँछन् । रुख हटाउन वनले दिँदैन, बाँदर मार्न पाइँदैन, नियन्त्रणको अरू कुनै उपाय नभएपपछि केही गर्न नसक्ने जस्तो भएर बस्नु परेको छ ।”

पर्वतको महाशिला गाउँपालिकाले पाँच वर्षअगाडि करोडौँ रुपियाँ खर्च गरेर बाँदर समात्ने र निकुञ्जमा लगेर छाड्ने अभियान चलायो तर केही समयमा फेरि बाँदर भरिए । अहिले महाशिलामा पनि बाँदरको आतङ्क उस्तै छ । महाशिला गाउँपालिकाका निवर्तमान अध्यक्ष राजुप्रसाद पौडेलले भन्नुभयो, “अहिले बाँदर घरका धुरी धुरीमा हिँड्छन्, स्थानीयले आँगनबाट लखेट्छन् ।”  केही वर्ष कम भए पनि अहिले फेरि उस्तै भएको छ । अब सरकारी तवरबाट केही भएन भने गाउँले गाउँमा बस्न सक्ने अवस्था हुँदैन । 

महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले बाँदरले गाउँमा बसिखान नदिएपछि सरकारले कि बस्ती स्थानान्तरण गर्नुप¥यो कि त जनतालाई बस्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पहिला बाँदर लखेट्ने जनतालाई अहिले बाँदरले लखेट्न थाल्यो । हामी गाउँमा बसिसक्ने अवस्था भएन, वन्यजन्तु र बाँदरको आतङ्कले गाउँ खाली भइसके अब पनि नियन्त्रण नगर्ने हो भने गाउँबस्ती स्थानान्तरण गर्नुको विकल्प हुँदैन ।” 

जिल्लाका अन्य स्थानीय तहले पनि बाँदर नियन्त्रणका लागि बर्सेनि बजेट विनियोजन गर्ने र रकम सक्ने काम गरे तर बाँदर नियन्त्रण हुन सकेको छैन । बाँदरले खेती बाली मात्रै खाएर हैरान बनाएको छैन, सर्वसाधारणको बाससमेत उठाइदिन थालेपछि टाउको दुःखाइको विषय बनेको छ । पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्लले बाँदरले खेतीबाली मात्रै नभएर स्थानीयवासीलाई समेत दुःख दिन थालेकाले दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो ।  कुस्मा–१२ का गुमा गौतमले भन्नुभयो, “बिहानदेखि बेलुकासम्म बाँदरकै हेरालो बस्नु पर्छ । वरिपरि वन मात्रै छ, घर छाडेर हिँडे घरभित्रै पसेर अन्नबालीसमेत सकिदिन्छ ।” गङ्गाप्रसाद शर्मालाई मात्रै होइन उहाँको घर वरपरका करिब ३०/४० घरधुरी बाँदरकै कारण गाउँ छाडेर बजार बसाइँ सरेका छन् । 

युवा विदेश र मध्यम उमेरका सहर पसेपछि खेतीयोग्य जमिन बाँझिएको छ । बाँझो जमिनमा झनै छिटो रुख बिरुवा बढेपछि बाँदर बस्ती पस्न थालेको मोदी गाउँपालिका–२ का कृषक दाताराम तिमिल्सिना बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सहर झर्नेले रुख पाल्ने, सामुदायिक वन र राष्ट्रिय वनमा बाँदरले खाने केही नहुने भएकाले बाँदर बस्ती पस्न थालेको हो ।”

अहिले गाउँमा हुने सभा, समारोह तथा बैठकमा साथै गाउँमा जाने नेता, मन्त्रीलाई समेत बाँदर नियन्त्रणका लागि आग्रह गर्ने गरेको भए पनि कसैले सुनुवाइ नगरेको महाशिला–५ का एकबहादुर हमालले बताउनुभयो । उता जिल्ला वन कार्यालय पर्वतका प्रमुख झ्यामलाल सापकोटाले बाँदरलाई नियन्त्रण गर्न तर्साउने उपाय गर्न सकिने भए पनि मार्न नपाइने बताउनुभयो । उहाँले वन्यजन्तु–मानव द्वन्द्व व्यवस्थापनका लागि सरकारी तवरबाटै कानुन बनाएर काम गर्नुपर्ने बताउनुभयो ।