• ६ पुस २०८१, शनिबार

मराई घरको फन्को (नियात्रा)

blog

“रहर गरेको ठाउँ त पुग्नै पर्‍यो !” आफू भनिरहेको हुन्थेँ । अनि बेलाबखत गोपाल पौडेललाई पनि सुनाउँथेँ । न्युजिल्यान्ड पुगेदेखि नै यो रहर थियो मेरो । 

भाइ आफ्नो काम, पेसा, परिवारसँगको अल्झोबिल्झो मिलाएर यताउता पुर्‍याइरहेकै हुन्थे । समयको कुनै छेकबार थिएन– बिहान, बेलुकी, साँझ जुनै पनि हुन्थ्यो । भाइले खबर गर्नासाथ तम्तयार भइहाल्थेँ म ।

मराई घर पुर्‍याउन निकै खोजे पनि चाँजोपाँजो मिलेन । आखिरमा नीरू र गौरी अघि सरे । १६ नोभेम्बरको उज्यालो दिन । पामिस्ट्रान नर्थको सिटी नपुग्दै अलिक गाउँतिर हामी पसेका थियौँ । सुकिला बाटा र हरिया रुखपातले मन हर्षित छ । सुग्घर गाउँ डुलेको खुसी खित्काएको छ छातीमा ।

“यता पो हो कि ?”

“उता जस्तो पो लाग्छ ।” गौरी र नीरूका कुरा भइरहेका छन् ।

दिदी र म कुरा सुन्दै छौँ । उनका गलफत्ती जे हुन्– हामी पुग्न पाए भयो । मलाई भुल्याउनकै निम्ति यो कुरा भएथ्यो । दुईतीन वटा सुकिला बाटोसँग यो, त्यो भन्ने अनुमान लगाए उनीहरूले । म त उस्तै देख्दै छु । मान्छे मात्रै थोरै फरक । अरू सबै पूर्वाधारमा अलगपन छँदै छैन कत्ति पनि । 

मराई घर ! माओरी समुदायको अत्यन्तै पवित्रसँग उच्चारण गरिने स्थान । अर्थात् मन्दिर । यो मराई घर पुगेपछि मनैदेखि हर्षित भएँ । ढोकामा केही सूचना लेखिएको थियो । भित्र गएर गाडी थन्क्याएपछि अरू डुल्ने सल्लाह भयो । पूर्वपट्टि चिहान गाडिएका माटोका थुप्राथुप्री थिए । वरिपरि बारबेर गरिएको रुखपातले मराई घर सजाइएको थियो ।

“गौरी यो कुन ठाउँ हो ?”

“अब पुनी हो ।”

“यस्ता मराई घर अन्त नि कत्तिको छन् ?”

“छन् निकै छन् तर यो अलिक ठुलो र विशेष हो ।”

“विशेष ठाउँमा पुगेकाले धेरै विशेषता देख्न पाइने भो है ।” अन्तिम प्रश्न मैले गरेको थिएँ ।

गाडीबाट ओर्लिएर उत्तर लाग्दा सुरुमै निकै ठुलो, अग्लो लिङ्गो ठडिएको देखियो । यो काठे लिङ्गोभरि मानिसका अनेकौँ अनुहार, शरीर, स्वभाव उतारिएका थिए । नदी, समुद्र, हावा, रुख र मान्छेका आनीबानी खोपिएका देखिए ।

लिङ्गोको टुप्पोमा निकै कलात्मक मान्छेको मुखाकृति थियो । त्यसलाई सेतो र पहेँलो रङले पोतिएको थियो । एउटा लामो काठे हातो थियो मान्छेको । परबाट हेर्दा एउटा अग्लो मान्छे उभिएको लाग्थ्यो । हात, खुट्टा, अनुहारको हाउभाउले ।

त्यो लिङ्गोलाई कलात्मक, कारिगरी र सांस्कृतिक अर्थ दिने गरी दुई तहको ढुङ्गेनी गारो थियो– तलपट्टि । विभिन्न डोरी र तारले टेका दिएर अग्लो लिङ्गे मूर्ति औधी राम्रोसँग सजाइएको लाग्थ्यो । त्यसअगाडि काठको खैरो रङको ढोका थियो । प्रदेशद्वार हुनु पर्छ यो । तलपट्टि अलिक धेरै प्वाल भएको तर मास्तिर जोडिएको ठाउँमा मुठी जस्तो देखिने त्यो द्वार कला, संस्कृति, कालिगडी र परिश्रमले धपक्कै बलेको थियो ।

मैले निकैबेर वरपर हेरेर ज्ञान लिन खोजेँ ।

“भित्र पसौँ न ।” गौरी अगाडि सरिन् ।

“आज बन्द जस्तो देख्छु म त । ढोकाको सूचनाले त्यस्तै अल्मलाउने कुरा बोलेथ्यो । अपूरो घुमाइ हुने भो नि ।” नीरूले भनिरहे पनि हामी मराई घरभित्र जाँदै छौँ ।

कुनै कला सङ्ग्रहालयभित्र पसे जस्तो लाग्दै छ मलाई । अनेकौँ कलाकारिताले भित्तो पोतिएका र सूचनाले भरिभराउ देख्दै छु । आँखा नरोकीकन हेरिरहेका छन् । पाइला पनि अगाडि बढ्न मान्दैनन् । तैपनि फकाएर पाइला सार्दै छु । हामी सोधपुछ कक्षमा पुग्यौँ । त्यहीँ गएर बुझ्न थाल्यौँ । एउटी फरासिली युवतीले भनी, “तपार्इंहरूलाई स्वागत गर्ने मान्छे छैन ।”

“हामीलाई त्यो नभए पनि हुन्छ । मराई घर डुल्न चाहन्छौँ ।”

“हुन्छ जानु ।”

त्यसपछि हामी त्यहाँबाट निस्केर अर्को भवनतिर लाग्यौँ । पूर्वतिर रहेको एकतले जस्तो भवन थियो । काठको दुई वटा ठुला ठुला फग्लेटा ढोकैमा ठड्याएर राखिएथ्यो । अगाडिपट्टि ह्वाङ्ग कोठा थियो । काठैकाठले बनेको मराई घरलाई माओरी समुदायले पवित्र र पूजास्थलका रूपमा लिँदा रहेछन् ।

दुई वटा फग्लेटामा ठुला ठुला बल्ढ्याङ्ग्रे आँखा, लामो जिब्रो निकालेको हातमा डुङ्गा खियाउने बहना, उत्तेजित लिङ्गसहितका चार भव्य मूर्ति राखिएथे दुवै सुरमा । हरिया र कालो रङ पृष्ठभूमिमा थिए । बार्दलीको मास्तिर छानामा दुई वटा डुङ्गा जोडिएथे । त्यहाँ महिला, पुरुष डुङ्गा खियाउने दाबिलो लिएर बसेथे । डुङ्गा अत्यन्तै सुन्दर थियो ।

मराई घर प्रवेश गर्ने मूल ढोका छेवैको भित्तामा समुद्रमा तैरिएको डुङ्गासहितको चित्र थियो । त्यहाँ केही लुगामा लपेटिएका महिला र केही पुरुष चित्र थिए । डुङ्गा समुद्र माझतिर गइरहेको लाग्थ्यो । समुद्रबिचबाट माओर देवता उभिएको आकार देखिन्थ्यो । ज्यादै कला, भावना र विचारले खँदिलो त्यो चित्र हेरिरहेकै थिएँ म । त्यस वरपर त्यस्तै बुट्टेदार, रङ्गीन र पालिस हालिएका अन्य सुन्दर कला देख्न पाउँदा हर्षित थिएँ म । हाम्रो हुल भित्र पस्यो ।

मराई घर मन्दिरको रूपमा पूजास्थल मानिँदो रहेछ । यहीँ माओरी जातिका दिवङ्गत शरीरलाई एक रात राखिँदो रहेछ । पूजापाठ, धार्मिक क्रियाकलाप र समुदायको विशेष छलफलका लागि मराई घर बनाइँदो रहेछ ।

हामी घुमाउरो भर्‍याङ भएर माथिल्लो तलामा पुग्यौँ । बाटोमा पनि माओरी समुदायका अनेकौँ कलाकृतिले भरिएथे । माओरी जाति विशेष गरी सामूहिक जीवनशैली रुचाउने गर्छन् । उनीहरू प्रकृति पूजक हुन् । जङ्गल, समुद्र, रुख, ओडार, घाम र जूनलाई हृदयतः सम्मान र अर्चना गर्छन् ।

“ओहो, के गजब !”

माथिल्लो तलामा पुग्नासाथ मेरा आँखामा अद्भुत सौन्दर्य लहरियो । म भित्ता भित्तामा आँखा नचाउन थालेँ । भित्तैभरि काठका ठुला ठुला चित्र कोरिएथे । जन्म, मृत्यु, विवाह, हर्षोल्लास र जीवन यात्राका अनेकौँ व्यवहारलाई चित्रमार्फत उतारिएको थियो । माओरीहरूका चित्रमा मान्छेका गतिविधिले पहिलो प्राथमिकता पाएको लाग्थ्यो ।

“धीत मरुन्जेल हेर्नु होला । यहाँ ल्याइदिएको छु, अरू पढ्ने र घोत्लिने काम आफैँ गर्नु होला ।” नीरू र गौरीका कुराको छनक यस्तै थियो ।

म पूर्वदेखि भित्ता भित्ता हेर्न थालेँ । माओरी कलाको प्रमुख स्रोत र शैली मानवीय क्रियाशीलता नै हो । मान्छेका सबै स्वभाव र आनीबानीले खेलिरहेको चरित्रलाई यहाँका हरेक भित्तामा कोरिएका थिए । मरेका, जन्मेका कथादेखि सामूहिक चरित्र हरेक चित्रले बोलेका भाव देखिन्थ्यो । चित्रमा पुरुषहरूले विशेष ठाउँ पाए पनि महिलाको चित्र कम भएको मैले पाएँ ।

मराई घरमा माओरी समुदायका व्यक्तिहरू आवश्यक पर्दा भेला हुँदा रहेछन् । गाउँका प्रबुद्ध र परिपक्व व्यक्तिलाई मराई घरको पुजारीका रूपमा उनीहरूको चयन गर्ने परम्परागत चलन रहेछ । ती मूल पुजारीले माओरीहरूको सामाजिक, सांस्कृतिक र धार्मिक क्रियाकलापलाई गति दिँदा रहेछन् । उनकै नेतृत्वमा सञ्चालनमा आउने रहेछ मराई घर ।

हामी जुत्ता खोलेर मराई घरमा पसेका थियौँ । उनीहरू शुद्धता, पवित्रता र सामूहिक एकतामा विश्वास गर्ने हुनाले त्यसको सङ्केत मराई घरमा पाइएको थियो । हेर्दैहेर्दै म पूर्वबाट उत्तर भएर पश्चिम अनि दक्षिणी कुनामा पुगेको थिएँ ।

भित्तामा कतै काठका मूर्ति थिए । कतै चित्र कोरिएथे । सबै कलाकारितामा ठुलठुला आँखा, ढ्याब्रे ओठ, लाम्चा नाक प्रस्ट देखिन्थ्यो । ती निकै जतन र मेहनतले मानवीय आकृति कोरिएका लाग्थे । त्यस्तै भाला, नौका खियाउने दाबिलो र निहुरो झार कुनै न कुनै प्रतिविम्बित भएका लाग्थे । माओरी समुदायसँग अत्यन्तै नजिक रहेको ठानिने निहुरो वनस्पतिलाई कतै न कतै कोरेर श्रद्धाभाव दिइएको लाग्थ्यो ।

एउटा कुनामा प्रवचन कक्ष भनी लेखिएथ्यो । कोठाभरि ठुला ठुला तेलचित्र झुन्डेका थिए ।

“माओरीले ढुङ्गा, माटो पुज्छन् हाम्रो जस्तै ।” दिर्गमाया दिदी बोलिरहँदा म उनीहरूका हरेक कुरा बुझ्न खोजिरहेको थिएँ । युरोपेलीहरू न्युजिल्यान्डमा प्रवेश गरेपछि यी आदिवासीमाथि चौतर्फी दबाब पारेछन् । उनीहरूका चाडबाड, पूजापाठ, जन्म÷मृत्यु संस्कार र सबै खाले जीवन पद्धतिमा धावा बोलेछन् ।

“धेरैले इसाई धर्म स्विकारे पनि आफ्नो रीतिथिति छोडेका छैनन् ।” दिर्गमाया दिदी बोलेको म सुन्दैथेँ । दक्षिणी पाटोमा मराई घरमा सेवा दिने, प्रवचक, धर्मगुरु र जेठाबाठा मुखियाका लस्करै तस्बिर राखिएथे । यी तस्बिरले न्युजिल्यान्डको माओरी जातिको उत्थान, पतन, आँसु–हाँसो र घामपानीको कथा मज्जाले बताइरहेथे ।

एक घण्टाभन्दा बढी घुमघाम गरेर तल ओल्र्यौं हामी । भर्‍याङमा देखिएका अनौठा अनौठा चित्र र मूर्तिले अर्कै लोकमा पुगेको लागिरहेथ्यो । अत्यन्तै ठुलठुला मूर्तिसँग भुँडी निस्केका, नाक फुलेका, हाब्रो च्यातेका र आँखा बल्ढ्याङ्ग्रे भएका मात्र देखिन्थे । अझ एक ठाउँमा त अत्यन्तै ठुलो काठे मूर्ति थियो । त्यो मूर्ति समुद्रको कुनै राक्षससँग वार्ता गरिरहेथ्यो । त्यो बलशाली युवकको च्युँडोमा टाटु खोपिएथ्यो ।

“कलाभित्रको कला ।” म यति भन्दै बाहिरिएँ । मनमा एउटा खसखस रहिरह्यो, “एक जना मराईका पण्डित भेट भएका भए अझै खुल्दुली बोकेर फर्कन पाउँथेँ ।” हुन त अहिले झन् बढी उकुसमुकुसिएथेँ म ।  

Author

युवराज नयाँघरे