• ६ पुस २०८१, शनिबार

मिथिला लोकसंस्कृति ‘कजरी’

blog

साउनको सुन्दर महिना अनि मैदानमा विभिन्न हरिया घाँसको मखमली बिछ्यौना । खेतखलियान सबैतिर बालीनालीको अनुपम हरियाली । आकाशमा मडारिएर उड्ने बादलका अनुपम छटाका साथै मयूरको आकर्षक नृत्य । झरना र तलाउमा पन्छीका जलक्रीडा । सिमसिम झरी अनि तरुलतिकाको नृत्य । यस्तै विशेषताले भरिएको साउन महिना विभिन्न चाडपर्व एवं संस्कृतिले भरिएको महत्वपूर्ण महिना हो । यसै महिनामा नेपालको मिथिला प्रदेश तथा भारतका विभिन्न प्रदेशका ग्रामीण क्षेत्रमा वर्षौंबर्षदेखि कजरी लोकगीत गुञ्जिने गर्छ । मैथिली भाषा बोलिने तराईका विभिन्न भूभागमा प्रत्येक वर्ष साउन महिनामा कजरी गाउने परम्परा छ । जसलाई धेरै पहिलेदेखि नै चलिआएको परम्परा हो भन्न सकिन्छ ।  

कजरीलाई नेपालको मिथिला प्रदेशका साथै भारतको पूर्वी उत्तर प्रदेशको प्रसिद्ध लोकगीतका रूपमा  लिइन्छ । त्यसो त कजरीको उत्पत्ति मिर्जापुरबाट भएको मानिन्छ । यो वर्षा ऋतुमा गाइने गीत हो, जुन अर्धशास्त्रीय गायन विधिमा गाइन्छ । कजरी गीतमा वर्षा ऋतुको वर्णन, विरहवर्णन एवं राधाकृष्ण लीलाको अधिक वर्णन पाइन्छ । भारतको मिर्जापुरमा माता विन्ध्यवासिनी देवीको शक्तिपीठ रहेकाले अधिकांश कजरीमा उनै देवीको गुणगान हुन्छ भने आजकलका कजरीको विषय विस्तृत बन्न पुगेको छ । 

हरेक वर्ष श्रावण प्रतिपदादेखि पूर्णिमासम्म राधाकृष्णको मन्दिर वा मूर्ति सजाएर पूजापाठ गरिन्छ र सो अवसरमा भगवान् कृष्णलाई झुला वा पिङमा राखेर झुलाउने गरिन्छ । यस अवसरमा भगवान्को पूजाअर्चना गर्न र रमणीय दृश्य हेर्न थुपै्र मानिस उपस्थित हुन्छन् ।  उक्त अवसरमा विभिन्न थरीका गीत गाइन्छन् । यसबेला गाइने गीत नै कजरी हो ।

झुला लागन कदमकी डोरी

झुले कृष्ण मुरारी ना

राधा झुले, कान्हा झुलावे

कान्हा झुले, राधा झुलावे

पारा पारी ना ।

विभिन्न विशेषताले भरिपूर्ण मिथिला क्षेत्रको ग्रामीण लोकजीवन, हावापानी र माटोसँग प्रत्यक्ष सम्बन्ध राख्ने कजरी गीतको उत्पत्तिका बारेमा विभिन्न मतमतान्तर पाइन्छ । कोही कजरीको उत्पत्तिको स्रोत वर्षा ऋतुको गर्जने कालो बादल वा मेघलाई मान्छन् । भारतीय साहित्यकार भारतेन्दु हरिश्चन्दले कजरीका प्रचलनका बारेमा विभिन्न कारण उल्लेख गरेका छन् । उहाँको कथानानुसार मध्यभारतमा सर्वाधिक लोकप्रिय राजा दादुरायको मृत्युपश्चात् रानी बागमती सती गएपछि शोकसन्तप्त जनताले आफ्नो पीर वेदना प्रस्तुत गर्ने क्रममा कजरी नामको नयाँ रागको जन्म दिनुभएको थियो, जुन पछि गएर निकै लोकप्रिय बन्न पुग्यो । त्यस्तै दादुरायको राज्यमा कजली नामको ज्यादै सुन्दर वन थियो र त्यसकै कारण यस गीतलाई नै उक्त वनसँग तुलना गरी कजरी नामकरण गरियो । पछिल्लो कथनानुसार भदौमा मनाइने तीजको दिनलाई कजली तीज भनिन्छ । यसैबेला गाइने गीत नै कजरी हो । कजली तिजका दिनभरि कजरी गाउने परम्परा अद्यावधि पनि जीवितै छ तर मिथिला क्षेत्रमा भने साउन महिनामा डोली वा पङिमा बसेर युवकयुवती मेघ वा मल्हारको गीत गाउँछन् । राजस्थानमा यस अवसरमा गाइने गीतलाई हिँडोले भनिन्छ । यसलाई कजरीको उच्च नमुनाका रूपमा लिइन्छ । नेपालको मिथिला प्रदेशमा भन्दा भारतको उत्तर प्रदेशमा पर्ने मिर्जापुरको कजरीलाई विशिष्ट मानिन्छ । यस क्षेत्रमा प्रचलित कजरीको आफ्नै विशेषता रहेको छ । त्यसैले मिर्जापुरको कजरीको यस्तो गुणगान पाइन्छ :

लीला रामनगरीकी भारी

कजरी मिर्जापुर सरदार ।

त्यस्तै कान्तित राज्यका राजकुमारीको नाम कजरी थियो । उहाँ आफ्नो पतिलाई निकै प्रेम गर्नुहुन्थ्यो । त्यस समय उहाँको र उहाँका पतिका बिचमा विछोड भयो र उहाँले आफ्ना पतिको यादमा गाएको विरहयुक्त गीत नै कालान्तरमा कजरी कहलिन पुग्यो । मिर्जापुरमा उहाँकै यादमा प्रत्येक वर्ष कजरी महोत्सव आयोजना गरिन्छ । 

कजरीमा संयोग वा करुण रस मात्र हुँदैन, यसमा वियोग रस पनि पाइन्छ । ग्रामीण लोकजीवनमा यस प्रकारको कजरी गीत सुनेपछि कैयन् युवती भावविह्वल बन्न पुग्छन् । खासगरी कजरीमा शृङ्गार रसको प्रधानता पाइन्छ । विरहिणीको वेदना पनि कजरीमा मार्मिकताका साथ अभिव्यक्त भएको हुन्छ । घर छाडेर परदेश गएका प्रियतमासँगको मिलनको आसमा प्रेमिकाहरू तड्पिएका हुन्छन् । यसरी प्रेमीसँगको वियोगमा परेका प्रेमीप्रेमिकाका आँखामा ‘आँसु’ भरिएको हुन्छ । विरहिणीको दर्द भरिएको आवाज उसको मनको व्यथा तथा आँखाबाट झरेको आँसुले त्यस परिवेशको कारुणिक अवस्थाको चित्रण गर्दछ । जसलाई डा. ग्रियर्सनले लेख्नुभएको छ, “यी गीतका वातावरण करुण रसले भरिपूर्ण छन् तर पनि यिनमा विभिन्न भावना पाइन्छन् ।” 


सखिया श्याम नही घर आये

बरखा बरसन लागे ना

बादल गरजे बिजरी चमके

जियरा धडके ना । 

कजरी गाउँदा दुई समूहमा रातभरि पनि गाइन्छ । यसलाई प्रतियोगिताका रूपमा पनि सञ्चालन गरिन्छ । मनले चाहेको व्यक्ति साथमा भएर कजरी गाउनुको आनन्द नै अर्कै हुन्छ तर उनको अनुपस्थितिमा राधाकृष्णको रासलीलाको माध्यम बनाएर प्रियतमा आफ्नी सङ्गीसँग ढोलक बजाएर यसरी गाउँछन् ः

कान्हा हंसि हंसि बोली बोलई

ऊ तो करई ठिठोली ना

राहे बारे बहियाँ मरोडई 

ऊ तो करई मचोली ना 

नेपाल र भारतमा कजरी गायनको परम्परा ज्यादै प्राचीन र समृद्ध रहेको छ । सुरदास, प्रेमधन आदि कविले कजरीको मनोहर गीत रचना गरेका छन् । जुन आज पनि गाइन्छन् । उत्तर प्रदेशमा बनारसको शिवदास मालवीयको अखडा, बलियाको जहाँगीर अखडा, चन्दौनीको वैरागी अखडा र गाजीपुरको अक्खड अखडा कजरीका मुख्य क्षेत्र मानिन्छन् । 

कजरी लोकगीतको प्रचारप्रसार, संरक्षण र संवर्धन गरेबापत सन् २०२२ मा मिर्जापुरकी प्रसिद्ध लोकगायिका अजिता श्रीवास्तवलाई भारत सरकारले पद्मश्री पुरस्कारले सम्मान गरेको थियो । कजरीमा शृङ्गार रसका अतिरिक्त भक्ति, सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, भौगोलिक एवं ऐतिहासिक विषयवस्तु पनि समेटिएको पाइन्छ । समाज रूपान्तरण, आर्थिक गतिविधि तथा विभिन्न प्रतिकूल परिस्थितिले पनि कजरीको मौलिकतामा बाधा पु¥याएको छ । बढ्दो आधुनिकीकरण एवं पश्चिमी सभ्यताको अतिक्रमणका कारण यस प्रकारका परम्परामा ह्रास आएको छ । आर्थिक विसङ्गति र प्रतिकूल परिस्थिति पनि यसका बाधक बनेका छन् । जसका कारण हाम्रा प्राचीन पहिचान बोकेका विभिन्न प्रकारका लोकसंस्कृति व्रmमशः लोप हुँदै छन् । त्यसैले हामीले हाम्रा सांस्कृतिक मूल्यमान्यताको संरक्षण गर्नु पर्दछ । यो नै हाम्रो प्रमुख कर्तव्य पनि हो ।


महंगी के मारे अब विरह विसरी गयो

भूलि गइली कजरी, कवीर ।

  

Author

देवेन्द्र अर्याल ‘आँसु’