• ४ मंसिर २०८१, मङ्गलबार

साहित्यमा सेन्सर !

blog

साहित्यले सबैको हित गर्नु पर्छ । त्यसैले त ‘शब्दार्थौःसहित तस्य भावः साहित्यम’ ‘हितेन सहितं तस्य भावः साहित्यम्’ साहित्य मानिएको हो । साहित्य लेखनको उद्देश्य पुरुषार्थ चतुष्टय नै हो अर्थात् धर्म, अर्थ, काम वा मोक्षका लागि लेखिने साहित्यमा सकारात्मक सन्देश, अर्ती, उपदेश तथा जीवनका लागि सही मार्गनिर्देशन दिने हुनु पर्छ तर आजकलका साहित्यका विभिन्न विधागत कृतिका मापन र उद्देश्य के छ ? प्रश्न गर्नु पर्छ । अझ साहित्य सिर्जनाका लागि सिर्जना, व्युत्पत्ति र अभ्यास मानिन्छ तर आजकल साहित्य सिर्जनाका लागि कुनै प्रयत्न नगर्नेहरू पनि साहित्यिक समाजका प्रतिनिधि पात्र बनिरहेका छन् । खैर जे होस्, नेपाली साहित्यमा आजकल विधागत नवीन आयामसँगै साहित्यकारको बाढी नै आइरहेको छ तर कसैले प्रश्न उठायो भने गुणस्तर चाहिँ...? उत्तर मौन छ ।

नेपाली साहित्यको आधुनिक कालसँगै नेपाली साहित्यका विधागत विकासमा निकै महत्वपूर्ण लेखनी कार्य भइरहेको छ । जो कसैले सहजै र सजिलै नयाँ विधा निर्माण गरिदिन्छ आफ्नो चर्चा र फरकपनका लागि । गजबै छ, हो के थाहा छैन ? पाँच/सात जना जमात जम्मा गरिदियो, एउटा चौतारी बन्छ । अनि निर्माण हुन्छ नयाँ विधा तर खुट्याइदिने कसले ? नपत्याए कविताका नयाँ विधाका बारेमा जानकार कति छन् ? त ! एलाक, बलेसी, कोपिला, साइनो, तान्का, चौका, हाइकु, सायरी, मुक्तक, फुटकर कविता त्यसपछिका अरू अनि विषयगत विविधतासँगै आएका नयाँ पुस्ता र पुस्तकका के कुरा गर्नु, जे लेखे पनि साहित्य भएकै छन् । विधागत विकासको भयङ्कर रूप । 

आख्यान गैरआख्यानमा पनि त्यस्तै छ हालत । अकथा, सूत्रकथा, लघुकथा, कथा, लामो कथा, लघुउपन्यास अनि उपन्यास । पुस्तक परिचय, समीक्षा, समालोचना, निसमालोचना, प्रतिसमालोचना । अझ कठिन छ विधा छुट्याउन निबन्धको– अनुभूति, संस्मरण, जीवनी, आत्मकथा, यात्रा वर्णन, तीर्थावली, निसंस्मरण, यात्रा निबन्ध, यात्रा कथा, नियात्रा, यात्रा चर्चा, यात्रा अनुभूति, यात्रा संस्मरण, यात्राका घटना   आदि । जे होस्, साहित्यका विभिन्न तत्व समाविष्ट भएका रचना साहित्यको भण्डारमा चाङ बन्लान् तर ती साहित्य भए भएनन् ? ती रचनाबाट साहित्य अध्येताले के पाउँछन् ? सकारात्मक सोचको विकासमा के योगदान पुर्‍याउला ? नयाँ पुस्ताले अध्ययन गर्न खोजे भने के होला ? साहित्यिक रचना समयसापेक्ष छ छैन ? यावत् प्रश्नको जिम्मेवारपूर्ण वा जवाफदेही कसको ? के अब जे लेखे पनि साहित्य हो त ? यो प्रश्न कसलाई सोध्ने ?

जुन माटोमा जन्मियौँ, हुर्कियौँ त्यही माटो मातृभूमिलाई गाली गर्ने निर्लज्जको के कुरा गर्नु अब । ‘पतिभक्ति त मर्दैन चुत्थै पति भए पनि देशभक्ति त मर्दैन जस्तै देश भए पनि’ भन्ने देशप्रेमका कुरा नपढी ऊ कसरी देशको नागरिक बन्छ ? यो देश यो जन्मभूमिप्रति गाली गर्नेको कुनै दायित्व छैन अब ? रचनामा मातृभूमिलाई कसैले पनि गाली गर्न पाइन्न, खै चेतना ?! शासन र शासकप्रतिको वितृष्णा होलान् तर देश र आमालाई लाञ्छना लाउन पाइन्छ त ? त्योभन्दा कृतघ्न को हुन्छ ? जे पनि लेखेर साहित्य हुन्छ भन्ने भ्रम र देशलाई गाली गरेर महान् भइन्छ भन्ने कुपात्रका लागि अङ्कुश लगाउन पनि साहित्य प्रकाशन गर्नुपूर्व सेन्सर चाहिएको छ अब ।

आजकल किन असल साहित्य लेखिन्न भन्ने प्रश्न गर्दा रिसाउनेको जमात पनि कम छैन । यसको मतलब अहिले लेखिएका साहित्य कमसल मात्र भए भने कहिले बुझ्ने हामीले । पहिलेका जस्ता कविता लेखिन्नन्, कथा लेखिन्नन्, उपन्यास लेखिन्नन् । त्यसो भन्नुको मतलब गुणस्तरका कुरा । ईश्वर वल्लभ, बैरागी काइँला, अगमसिंह गिरी, हरिभक्त कटुवाल, गोपालप्रसाद रिमालले लेखेका कवितासँग दाँज्न मिल्ने त्योभन्दा अब्बल रचना आउनुपर्ने होइन र ? समय, अवस्था त पहिलेभन्दा पनि झन् निकै सुविधायुक्त छ । पढ्न लेख्नका लागि चाहिने सम्पूर्ण कुरा सजिलै पाइन्छन् । अझ लेखन र अभ्यासका लागि सहयोग गर्ने कति संस्था खुलेका छन् तर कृतिको गुणस्तर चाहिँ झन् झन् खस्कँदो छ । पुस्तकको बजारको कुरा गर्दा झन् बेहालै छ । माध्यमिक कालमा छापिए जस्तै छापिएका पाँच सय पुस्तक बिक्री हुन एक वर्ष 

लाग्छ । पुस्तक प्रकाशन र बजार हेर्दा गजब छ । दिनकै १० देखि १५ पुस्तकमा आउँछन् विभिन्न विधाका तर किन्ने र पढ्ने पाठकचाहिँ शून्यराम ! गजब लाग्छ, आजकल बागबजारको सडकमा हिँड्ने एक/दुईबाहेकका सबै मान्छे साहित्यकार ! अझ त्यहाँमाथि वरिष्ठका ट्याग नलगाएको त भेट्नै गाह्रो छ ।

विडम्बना ! नेपाली साहित्यमा लेखिएका कति कृति विश्वसाहित्यमा उभिन सक्लान् ? यसको लेखाजोखा हुन सकेको छैन । विश्व साहित्यमा उभ्याउनका लागि अब्बल कृतिलाई भाषिक रूपान्तरण पनि त गर्नु पर्ला ? यो जिम्मेवारी कसको ? नेपाली साहित्यको विकासक्रम हेर्दा प्राथमिककालीन साहित्यभन्दा विकसित माध्यमिककालीन देखिन्छ । त्यसपछिको आधुनिककालीन साहित्यको वृद्धि र विकासमा कहाँनेर समस्या छ ? खोज्नु पर्ला कि ! आधुनिककालीन सुरुका समयलाई हेर्ने हो भने कति राम्रा कृतिहरू आज पनि मानक बनेर उभिएका छन् तर आजलाई हेर्दा हिजोका जस्ता कृति किन सिर्जना हुन सकिरहेका छैनन् ? यसमा चिन्तनमनन र विचारविमर्श हुनु पर्दैन ? विश्व साहित्यका समकक्षमा उभिने जस्ता महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, पारिजातको ‘शिरीषको फूल’, बिपीको ‘हिटलर र यहुदी’ जस्ता कृति लेखिन सकेका छैनन् । ‘भ्रमर’, ‘डाँकबङ्गला’, ‘आज रमिता छ’ जस्ता उपन्यास कहाँ पाउनु ? ‘साँढे’, ‘स्वर्ग र देउता’, ‘मातेको मान्छेको भाषण’, ‘हामी’, ‘आमाको सपना’ जस्ता कविता सिर्जना हुन सकेका छैनन् । 

सङ्ख्यात्मक हिसाबले नेपाली साहित्यका विविध विषयका पुस्तकको बाढी आए पनि गुणस्तरका हिसाबले जुन हुनुपर्ने हो त्यो झन् झन् खस्केको छ । यसमा कसले सोच्ने ? अहिले जे लेखे पनि साहित्य हुन्छ भन्ने सोच ह्वात्तै बढेको छ । साहित्यको विधागत रचनाका स्वरूपसम्म पनि नभएका मनगढन्ते विधालाई साहित्यमा दराउन लाग्ने जमातदेखि दुईचार जना जम्मा गरेर साहित्यिक कार्यक्रम र पुस्तक विमोचन गर्दा ठुलै भइन्छ भन्नेले गर्दा अब्बल साहित्यको चर्चासमेत नहुने र पाठक नभेटिने समस्या टड्कारो देखिएको छ । नेपाली साहित्यको भण्डारमा विधागत स्वरूपका कृति थपिनु त राम्रै हो तर जे पनि लेखिने र छापिने मनोवृत्तिलाई मत्थर पार्न, असल, अब्बल साहित्यलाई अघि ल्याउन र लेखक वा रचनाकारलाई परिपक्व बनाउन पनि लेखिसकेपछि हेरेर अनुमति दिन, काँटछाँटका लागि राय, सल्लाह सुझाव दिनका लागि निकाय चाहिएकै हो जस्तो लाग्दै छ । 

दुःखको कुरा, हाम्रो साहित्य आजकल झन् झन् खस्कँदो छ । कविता कविता जस्ता छैनन्, कथा कथा जस्ता छैनन्, गन्थन मन्थन र तथाकथित विषय समेटिएका संस्मरणात्मक इतिहासले कुन समाजको प्रतिनिधित्व गर्ला ? भाषा/साहित्यको विकास र जगेर्ना गर्ने जिम्मेवारी पाएका संस्थाले मानक भाषा निर्माणमा के कस्ता योगदान दिएका छन्; त्यो मननयोग्य छ । साहित्यलाई गुणस्तरीय बनाउन, मानकीकरण गर्न र सभ्य साहित्य निर्माण गर्न आधिकारिक निकाय सेन्सर भने चाहिएकै छ । गुणस्तरीय साहित्यका लागि विज्ञको आवश्यकता छ र त्यसको खाँचो परेको स्पष्ट देखिन्छ । चेकजाँच, रायसल्लाह र सुझावसहितको परिमार्जन र प्रकाशन जरुरी छ ।   

Author

बद्रीप्रसाद ढकाल