• ११ असोज २०८१, शुक्रबार

आधारभूत विद्यालय शिक्षा सुधार कार्यक्रम सुरु

blog

परियोजनाको बारेमा जानकारी गराईंदै ।

राधाकृष्ण डुम्रे

वालिङ, असोज ३ गते । स्याङ्जामा आधारभूत विद्यालय शिक्षा सुधार कार्यक्रम (आईबीएसइ) सुरु भएको छ । कक्षा १ देखि ३ सम्म अध्ययनरत बालबालिकाको शिक्षा सुधारका लागि विशेष कार्यक्रम सुरु भएको हो । 

गणित विषयमार्फत बालबालिकाको जग बलियो बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको समन्वय तथा जापान सरकार (जाईका) को सहयोगमा सञ्चालित आईबीएसई परियोजनाका लागि गण्डकी प्रदेशबाट स्याङ्जा मात्र छनौट भएको हो । 

जिल्लाका ११ वटै पालिकामा परियोजना सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यले जानकारी दिनुभयो । स्याङ्जाको शैक्षिक गुणस्तर वृद्धिका लागि परियोजना प्रभावकारी हुने उहाँको विश्वास रहेको छ । परियोजनाको बारेमा शिक्षा विकास समन्वय इकाई स्याङ्जा र स्थानीय तहमा कार्यरत युवा तथा खेलकुद शाखा प्रमुखलाई परियोजनाका बारेमा जानकारी गराइएको हो । 

स्याङ्जामा आयोजित कार्यक्रममा बाल्नुहुँदै जापानीज शिक्षाविद् आतुसी सुकुईले बालबालिकालाई विभिन्न किसिमका विधि अवलम्बन गर्दै गणित विषय बुझ्न सक्ने बनाइने बताउनुभयो । सिकाइमा विभिन्न उपकरण, सामग्री र विधिको प्रयोग गरिने उहाँको भनाइ छ ।

परियोजनाको पाँच वर्षसम्म सञ्चालन हुने छ । स्याङ्जा जिल्लाभर ४ सय ५० वटा सरकारी विद्यालय छन् । रोष्टर शिक्षक चयन गरी उनीहरूका क्षमता अभिवृद्धि र विद्यालयका प्रधानाध्यापकलाई तालिम दिइने प्रमुख परियोजना अधिकृत विष्णुप्रसाद आचार्यको भनाइ छ ।

आईबीएसई परियोजना ७ प्रदेश अन्तर्गत क्रमशः सङ्खुवासभा, सप्तरी, धादिङ, स्याङ्जा, कपिलवस्तु, दैलेख र कञ्चनपुर जिल्लामा लागु हुने शिक्षा विकास समन्वय इकाई स्याङ्जा प्रमुख आचार्यले जानकारी दिनुभयो ।