• २ असोज २०८१, बुधबार

हात्तीको आक्रमणबाट दुई घाइते

blog

फाइल तस्विर

सिराज खान 

नेपालगन्ज, असोज २ गते । बाँके राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले राप्तीसोनारी गाउँपालिका –२ गोबारपुरमा हात्तीले आक्रमण गर्दा दुईजना स्थानीय घाइते भएका छन् । 

स्थानीय हेमन्त चौधरीका अनुसार मंगलबार राति जंगलबाट आएको हात्तीले आक्रमण गर्दा राप्तीसोनारी –२ गोबारपुरका ४० वर्षीया लक्ष्मी बोहरा र उहाँकी १६ वर्षीया छोरी शान्ता बोहरा घाइते हुनुभएको हो । 

उहाँले हात्तीले बस्तीमा पसेर आक्रमण गरेको जनाउँदै घाइतेको उपचार नेपालगन्जमा भइरहेको छ । हात्तीले आक्रमण गर्दा घाइतेको घर वरिपरि लगाइएको खेतबाली पनि नष्ट भएको छ । 

यसअघि केही दिन पहिले पनि राप्तीसोनारी गाउँपालिका–१ गाभरमा जङ्गली हात्तीले आक्रमण गरेर दुईवटा घर भत्काएको थियो । हात्तीले स्थानीय धनबहादुर बुढामगर र सरिता पुनको घरमा क्षति पुगेको राप्तीसोनारी –१ का वडाध्यक्ष यमबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार हात्तीले घर भत्काउँदा मानिसहरू समयमै भागेर ज्यान जोगाएका थिए । 

आक्रमणका कारण घरका छाना, झ्याल र ढोकामा पनि ठुलो क्षति भएको वडा अध्यक्ष खड्काले बताउनुभयो । हात्तीको आक्रमणले घर मात्र नभई वरिपरिका मकैबारी र अन्य बालीनाली समेत नष्ट भएका थिए । स्थानीय बलबहादुर घर्तीमगरले बर्सेनि हात्तीले अन्नबाली र घरगोठ नष्ट गर्दैआएको जनाउँदै सोबाट स्थानीयलाई जोगाउन निकुञ्जले दीर्घकालीन उपाय अपनाउनु पर्ने माग राख्नुभयो ।  

बाँके निकुञ्जसँग जोडिएको राप्तीसोनारीमा जङ्गली हात्तीको समस्या धेरै समयदेखि रहँदैआएको समस्या हो, जसले जनधनको क्षति मात्र नभई स्थानीयलाई मानसिक तनाव पनि थप्दै आएको छ । स्थानीयले निकुञ्ज प्रशासनसँग हात्तीबाट जोगाउने दीर्घकालीन समाधानका लागि तत्काल कदम चाल्न माग गरेका छन् ।