• २ असोज २०८१, बुधबार

विद्युत महसुल नतिर्ने ३३ ग्राहक कालो सूचीमा

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असोज २ गते । समयमा विद्युतको महसुल नतिर्ने ओखलढुङ्गाका ३३ जना ग्राहक कालो सूचीमा परेका छन् । भुक्तानीको लागि पटक-पटक ताकेता गर्दा पनि महसुल नतिरेका ३३ जना ग्राहकलाई नेपाल विद्युत प्राधिकरण ओखलढुङ्गाले कालो सूचीमा राखेर बक्यौता असुली प्रक्रिया अघि बढाएको हो । 

कालो सूचीमा रहेका ग्राहकबाट तीन लाख ७६ हजार बढी रकम उठ्न बाँकी रहेको कार्यालय प्रमुख ईश्वर कुमार श्रेष्ठले बताउनुभयो । विद्युत् महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको ६० औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताको विद्युत् लाइन काट्न सकिने प्रावधान अनुसार अहिले लाइन काट्न पनि सुरु गरिएको प्रमुख श्रेष्ठको भनाइ छ । 

विद्युत महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको हकमा मौजुदा महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६ औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६ औँ दिनदेखि ३० औँ दिनसम्म पाँच प्रतिशतका दरले थप शुल्क लाग्नेछ । यस्तै, ३१ औँ दिनदेखि ४० औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान रहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

मिटर रिडिङ भएको मितिले ४० औँ दिनसम्म पनि विद्युत महसुल नबुझाउने उपभोक्तालाई ४१ औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६० औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने विद्युत उपभोक्ताको विद्युत् लाइन काट्न सकिने प्रावधान उक्त विनियमावलीमा उल्लेख रहेको केन्द्रले जनाएको छ । 

बिजुलीको लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालो सूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान अनुसार जिल्लाका ३३ जना ग्राहकलाई कालो सूचीमा राखेर असुली प्रक्रिया अघि बढाइएको नेपाल विद्युत् प्राधिकरण ओखलढुङ्गा वितरण केन्द्रले जनाएको छ ।