• २ असोज २०८१, बुधबार

मोटरेबल पुलको शिलान्यास

blog

मोटरेबल पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नुहुँदै । तस्बिर: मिना कँडेल

मीना कंडेल

कावासोती, असोज २ गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित बेलचौतारामा मोटरेबल पुल निर्माण सुरु भएको छ । देवचुली नगरपालिका –३ र १२  लाई जोड्ने मोटरेबल पुलको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गर्नुभएको हो । 

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र स्थानीय सडक पुल सहयोग इकाईको प्राविधिक सहयोगमा निर्माण हुन लागेको पुलको शिलान्यास गरिएको छ । पुलको शिलान्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । 

पुलको अपरिहार्य आवश्यकतालाई बुझेर छिटोभन्दा छिटो पुल निर्माण गर्नुपर्ने बताउनुभयो । पुल निमार्णले राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक बाटोका रूपमा स्थानीयलाई सहज यात्राका लागि सहयोग पुग्ने बताउनुभयो । पटक–पटक बजेट विनियोजन भए पनि कार्यान्वयनमा असहज भएकाले पुल निमार्णको स्रोत सुनिश्चित हुन नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “ पहिला बजेट थिएन, अहिले पुल निर्माणका लागि बजेट सुनिश्चित गरेका छौँ, निर्माण कम्पनीले कुनै बहानाबाजी नगरी समयमा नै निर्माण कार्य सक्नुपर्छ । ” नारायणगढ बुटवलको बाटोजस्तो समयमा नसकी म्याद थपिरहने र विविध कारण देखाउन नपाउने बताउनुभयो । 

गण्डकी प्रदेश सरकारले पुल निर्माणका लागि बजेट विनियोजन गरेर निर्माणको सुरुवात गरेको छ ।  पुलले यहाँका नागरिकलाई सहज हुने उहाँले बताउनुभयो । पूर्वाधार विकास कार्यालय नवलपुरका कृष्ण आर्चायले  आठ करोड ८९ लाख ९९ हजार ६६ रुपियाँको लागतमा पुल निर्माण हुन थालेको बताउनुभयो । 

गण्डकी प्रदेश सरकारको ६ करोड ३० लाख ५८ हजार ६५२ आर्थिक सहयोग रहेको उहाँले बताउनुभयो । ब्रोदर्श देवचुली जेबीद्वारा २०८१ जेठ ३० गते सम्झौता भएको बेलचौतारा लक्ष्मीपुर केउरानी बौलाहा खोला पुल मोटरेबल पुलको निर्माण २०८३ जेठ १५ गते दुई वर्षमा सम्पन्न हुनेछ । पुलको ४५ मिटर लम्बाई र ८ मिटरको चौडाइ रहेको छ, जसमा मिटरमा १.२० मिटरको फुटपाथ र ६ मिटरको गाडी हिँड्न मिल्नेछ । निर्माण कम्पनीले आगामी २०८३ सालको जेठमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्नेछ ।

नगरप्रमुख हरि न्यौपानेले पुल बनेपछि आवत–जावतका साथै पहाडी क्षेत्रमा उत्पादन हुने कृषिउपज दलदले बजार हुँदै आसपासका कावासोती, नारायणगढसम्म पुग्न सहज हुने बताउनुभयो । पुल निर्माणसँगै दिव्यपुरी र प्रगतिनगरका स्थानीयले एउटै पालिका भएर पनि लामो बाटोको प्रयोग गर्नुपर्ने बाध्यता हट्ने विश्वास राखेको उहाँले बताउनुभयो । विशेष त यहाँका वडा ३ र वडा १२ का नागरिक लाभान्वित हुने उहाँले बताउनुभयो । 

पुल नहुँदा बर्खाको समयमा जोखिम मोलेर हिँड्नुपर्ने र अन्य समयमा समेत धेरै समय लाग्नेगरेको छ । अब ५ मिनेटमा दुई वडाका स्थानीयले सहज रूपमा आवत–जावत गर्न सक्ने उपप्रमुख पार्वता तिवारीले बताउनुभयो ।