• २ असोज २०८१, बुधबार

रास्वपाको राष्ट्रिय भेला : सभापति लामिछानेको राजनीतिक प्रतिवेदन अनुमोदन गरिने

blog

मङ्गलबारदेखि कमलादीमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेला ।

काठमाडौँ, असोज २ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन अनुमोदन गरिने भएको छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले मङ्गलबारदेखि कमलादीमा सुरु भएको राष्ट्रिय भेलामा विभान, सङ्गठनलगायतका सम्बन्धमा प्रतिवेदन प्रस्तुत भएको भन्नुहुँदै बुधबार सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिनुभयो ।

प्रमुख सचेतक परियारले भन्नुभयो, “दुई दिनको पहिलो राष्ट्रिय परिषद्को भेला हो । यसमा आज विभिन्न समूह बनाएर छलफल चल्छ । र भेलाले त्यसलाई अनुमोदन गर्छ ।”

यसैगरी, रास्वपा सांसद मनिष झाले भेलामा मुख्यगरी लिडरसिप एकेडेमिकको विषयमा पनि छलफल हुने जानकारी दिनुभयो ।

सांसद झाले भन्नुभयो, “विशेष यो अभियान डिलरसिप एकेडेमिक, त्यसपछि सभापतिको राजनीतिक प्रतिवेदन यी तीन कुरा छ । अभियान चाहिँ राजनीतिक रुपमा अगाडि बढ्नका लागि के कस्ता अभियानहरू चाहिन्छ, त्यस्तो एउटा अभियान घोषणा गर्ने ।”

उहाँले लिडरसिप एकेडेमिकका सन्दर्भमा राजनीतिज्ञका लागि पनि योग्यता एवम् दक्षताको विषयमा छलफल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा पुलिसले जागिर खान ६ महिना तालिम लिनुपर्छ, तर राजनीतिज्ञले चाहिँ चाहेको दिनदेखि सबै जानेको जस्तो हुन्छ । कुनै तालिम लिनुपर्छ भन्ने कुरा छैन ।”

उहाँले भेलाले एकता एवम् उत्साहजनक रूपमा साङ्गठनिक भएर अघि बढ्ने सन्देश दिने बताउनुभयो । रास्वपाको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला बुधबार सकिँदैछ ।