• १ असोज २०८१, मङ्गलबार

एक पालिका एक हुलाक स्थापना

blog

बिरुवा गाउँपालिकामा स्थापना गरिएको पालिकास्तरको हुलाक कार्यालय ।

अर्जुन काफ्ले

स्याङ्जा, असोज १ गते । सरकारले हुलाकको पुनः संरचना गर्ने नीति लिएसँगै स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना गरिएको छ ।

बिरुवा गाउँपालिका–१ बिरुवा बजारमा मङगलबार पालिका हुलाक कार्यालय स्थापनासँगै स्याङ्जामा एक पालिका एक हुलाक स्थापना गरिएको हो । बिरुवामा खरदार खेम थापाको नेतृत्वमा पालिका हुलाक कार्यालय सुरु गरिएको छ । 

११ पालिका रहेको स्याङ्जामा एक जिल्ला हुलाक र अन्य १२ वटा इलाका हुलाक कार्यालय रहेकोमा तीन इलाका हुलाक हटाइएको हो भने एक थपिएको छ । पालिकामा रहेका इलाका हुलाक कार्यालयलाई पालिका हुलाक कार्यालय बनाइएको हो । 

प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम एउटा पालिकामा एकभन्दा धेरै भएको पुलतीबजार नगरपालिकाको कोल्मा, आँधीखोला गाउँपालिकाको पञ्चमुल र हरिनास गाउँपालिकाको क्याक्मी हुलाक कार्यालय हटाइएको छ । नभएको बिरुवा गाउँपालिकामा थप गरिएको छ । 

जिल्ला हुलाक कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले एउटा पनि हुलाक कार्यालय नभएको बिरुवा पालिकामा कार्यालय स्थापना गरी सेवा दिएसँगै सबै पालिकामा पालिकास्तरको हुलाक कार्यालय स्थापना भएको बताउनुभयो । 

यहाँका अन्य सात वटा पालिकामा एक–एक वटा इलाका हुलाक कार्यालय रहेकाले सोही कार्यालयलाई पालिकास्तरीय कार्यालय बनाइएको हो । यहाँ ११ वटा पालिका स्तरको कार्यालयसँगै अझैँ अन्य ४२ वटा अतिरिक्त हुलाक कार्यालय भने जिल्लामा रहेका छन् । 

अतिरिक्त हुलाकमा कम्तीमा एक जनादेखि तीन जनासम्म कर्मचारी रहेको र अहिले ८९ जना कर्मचारी रहेका छन् । केन्द्रका नीतिअनुसार अतिरिक्त हुलाकमा रहेका कर्मचारीको उमेर ५८ वर्ष पुगेर कार्यालयमा कर्मचारीविहीन भएपछि खारेज हुनेछ । यस आर्थिक वर्षमा यहाँका ११ वटा अतिरिक्त हुलाक कार्यालय खारेज गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।