• १ असोज २०८१, मङ्गलबार

तनहुँमा महिलालाई निःशुल्क लोक सेवा तयारी कक्षा

blog

सामाजिक विकास सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्य प्रशिक्षण दिनुहुँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज १ गते । सामाजिक विकास कार्यालय तनहुँले दमौलीमा मङ्गलबारबाट महिलाको लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ। निजामती सेवामा महिलाको पहुँच पुर्‍याउन तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

तालिमको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले निजामती क्षेत्रमा महिलाको उपस्थिति बढाउन यस्ता प्रकारका तालिमले टेवा पुग्ने बताउनुभयो । निजामती सेवामा माग भन्दा धेरै गुणा बढी आवेदन पर्ने भएकोले चर्को प्रतिस्पर्धा हुने भएकोले तालिममा राम्रोसँग ज्ञान लिन सहभागीलाई नगर प्रमुख न्यौपानेले आग्रह गर्नुभयो । आर्थिक वर्ष २०८१-०८२ मा सञ्चालन हुने महिला, बालबालिका तथा समाजकल्याण तर्फका स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । 

महिलालाई निजामती सेवामा समान रूपमा पुर्‍याउने लक्ष्यका साथ ६० जनालाई तालिममा समावेश गरिएको सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्यले बताउनुभयो । २० दिने यस तालिमको लागि पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएको कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । विभिन्न विषयमा गरी १२ जना प्रशिक्षकहरूलाई तालिममा प्रशिक्षक रूपमा आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो ।  

गत वर्ष ४० जना महिलालाई तालिम प्रदान गरिएको कार्यालय जनाएको छ । कार्यालयले जनाए अनुसार यस वर्ष पनि ४० जनालाई प्रदान गरिने भनिएकोमा माग धेरै आएकोले ६० जनालाई समावेश गरिएको हो । आचार्यले भन्नुभयो, "निजामतीमा महिलाको आकर्षण बढाउनका लागि तालिमको आयोजना गरेका हौँ आवेदन धेरैको परेकाले यस वर्ष गत वर्ष भन्दा धेरै सहभागी हुने भएका छन् ।"

अप्राविधिक तर्फको (प्रशासन) सहायकस्तर चौथो तह (खरिदार सरह) कक्षा भदौ १ गतेबाट २० गते सम्म गरी २० दिन सञ्चालन हुनेछ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकालाई तालिम दिइएको छ प्रशिक्षार्थीहरूको योग्यता र उमेरको हद लोक सेवा आयोगले निर्धारण गरे बमोजिम हुनेछ । आर्थिक रूपमा विपन्न, सामाजिक रूपमा पछि परेका, दलित र आदिवासी, जनजाति महिलालाई विशेष प्राथमिकता दिइएको छ ।