• १ असोज २०८१, मङ्गलबार

प्रबुद्ध माविका प्रधानाध्यापक सम्पर्कविहीन

blog

सम्पर्कविहीन हुनुभएका ओखलढुङ्गा सुनकोशी गाउँपालिका–७ को प्रबुद्ध माध्यमिक विद्यालय च्यानमका प्रधानाध्यापक मधुप्रसाद खतिवडा । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, असोज १ गते ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–७ को प्रबुद्ध माध्यमिक विद्यालय च्यानमका प्रधानाध्यापक मधुप्रसाद खतिवडा सम्पर्कविहीन हुनुभएको छ । विद्यालयको कामको सिलसिलामा १० दिन अघि राष्ट्रिय परीक्षा बोर्डको कार्यालय लाहान सिराहा जानुभएका खतिवडा सम्पर्कविहीन हुनुभएको हो ।

लाहानबाट काठमाडौँ परिवारसँग भेट गरेर भदौ २१ गते जिल्ला फर्किनुभएका प्रधानाध्यापक खतिवडा अहिलेसम्म विद्यालय नआई पुग्नुभएको विद्यालयका निमित्त प्रधानाध्यापक सन्तोष बस्नेतले बताउनुभयो ।

विद्यालयले सोमबार एक सूचना जारी सम्पर्कविहीन हुनुभएका प्रधानाध्यापकलाई यथाशक्य चाँडै विद्यालयमा आई हाजिर हुन आग्रह गरेको छ । अचानक सम्पर्कविहीन हुनुभएका प्रधानाध्यापक खतिवडाको खोजीका लागि उहाँका परिवारले काठमाडौँको टेकुमा निवेदन दिएका छन् । प्रहरीले पनि खतिवडाको खोजीकार्य गरिरहेको पारिवारिक स्रोतलाई उद्धृत गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताउनुभयो ।

काठमाडौँमा परिवारसँग छुटेपछि चाबहिलसम्म आइपुग्नुभएको बारे मोबाइल लोकेशनमा देखिएको र त्यसपछि प्रअ खतिवडा सम्पर्कविहीन रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । प्रअ खतिवडाबारे जानकारी भए वा कसैले फेला पारेमा विद्यालय, जनप्रतिनिधि वा प्रहरीमा खबर गर्न आग्रह गरिएको छ ।