• १ असोज २०८१, मङ्गलबार

‘जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन’

blog

मध्यविन्दु (नवलपरासी), असोज १ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिताबिनाका कुनै पनि योजना सफल हुन नसक्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको आज उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले सरकारको मात्र लगानीले योजना सफल नहुने बताउनुभएको हो ।

“आम जनताको सहभागिताबिना कुनै पनि मुलुक सफल हुन सक्दैन, त्यसैले जनचासो र जनसहभागिता हरेक क्षेत्रमा आवश्यक छ”, उहाँले भन्नुभयो, “सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्न खोजेका कार्यक्रममा जनताको  सकारात्मक साथ र चासो भएमात्र काम सफल हुने देखिन्छ ।”

उहाँले समाजमा अहिलेको व्यवस्था र सरकारप्रति भ्रम छर्ने काम भएको बताउँदै सकारात्मक कामको जनतासमक्ष सही सूचना दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो । जनतामा नकारात्मक भाव पैदा गर्ने काम धेरै भएकाले भए/गरेका कामको जानकारी जनताले लिनु आवश्यक रहेको उहाँको भनाइ छ ।

 “देशमा काम नभएको होइन, धेरै भएको छ । त्यसलाई जनतासमक्ष पुर्याउँदा नकारात्मक भावना छर्ने काम भएको छ, त्यस्ता कुराले मुलुकको दूरभविष्यलाई असर पार्दछ”, उहाँले भन्नुभयो, “केही भएन होइन कि भएका के छन् र गर्नुपर्ने के हो, यसमा मेरो सहभागिता के हो भन्ने सोच जनतामा हुनु आवश्यक छ ।”

गण्डकी प्रदेशले प्रत्येक आर्थिक वर्षमा नवप्रवर्तन कार्यक्रममार्फत प्रदेशभित्रका स्थानीय सरकारसँग साझेदारीमा नवीनतम् कार्य गर्दै आएको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा पनि १८ वटा स्थानीय सरकारसँग साझेदारी गर्नेगरी मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम छनोट भएको उहाँले जानकारी दिनुभयो ।

“अहिले हरेक कुरा सरकारले गरिदिनुपर्छ भन्ने सोच विकास भएको छ तर सरकारले मात्र होइन सरकारले ल्याएको कार्यक्रममा जनताको पनि अहम् भूमिका हुन्छ”, उहाँले भन्नुभयो, “सफल नभएका काम किन भएन त्यसलाई कसरी सफल बनाउने, हाम्रो जिम्मेवारी के छ ? कसरी गर्न सकिन्छ भनेर नागरिकले सोचिदिनुस् ।” रासस