• १ असोज २०८१, मङ्गलबार

गोरखामा डेंगुबाट एकको मृत्यु

blog

गुणबहादुर रोका

सुलीकोट, असोज १ गते । गोरखाामा डेंगुबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका-११ बरथोकका ४७ वर्षीया रामप्रसाद अर्याल भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । 

गत भदौ २७ गते जिल्ला अस्पताल गोरखामा चेक जाँच गर्दा डेंगु पोजेटिभ भएपछि केही दिनको गोरखा अस्पतालमा भर्ना भई सुधार नआएपछि थप उपचारका लागि भरतपुरको मेडिकल कलेजमा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । 

अहिले गोरखामा अत्यधिक मात्रामा डेंगु सङ्क्रमण देखिएको छ । साउन र भदौ तेस्रो सातासम्म आइपुग्दा ३७७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । झण्डै दुई महिनाको अवधिमा गोरखामा ३७७ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार साउन १ गतेदेखि भदौ महिनाको तेस्रो हप्तासम्म जिल्लाको गोरखा नगरपालिाकामा २६२ जना, पालुङटार नगरपालिकामा ४८ जना, आरुघाट गाउँपालिकामा ४७ जना, मिमसेन थापा गाउँपालिकामा १ जना, शहिदलखन गाउँपालिकामा १२ जना, अजिरकोट गाउँपालिकामा २ जना, बारपाक सुलिकोट ३ जना र गण्डकी गाउँपालिकामा २ जनामा डेंगु सङ्क्रमण देखिएको उहाँको भनाइ छ ।

त्यस्तैगरी डेढ महिनामा गोरखामा २०७ जनामा स्क्रब टाईफसको सङ्क्रमण देखिएको छ । जसमा गोरखा नगरपालिकामा ९१ जना, आरुघाट गाउँपालिकामाम ७३ जना, पालुङटार नगरपालिकामा २९ जना, सिरानचोक गाउँपालिकामा ८ जना, भीमसेन थापा गाउँपालिकामा ३ जना र शहिद लखन गाउँपालिकामा ३ जना स्क्रब टाइफसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताउनुभयो । 

डेंगु रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको सययमा टोक्ने गर्दछ । बर्षातको समयमा जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ । 

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरु, पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको टयाङ्की, आदिमा फुल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएका् पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ । 

डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीरमा बिबिरा आउने, मांसपेशी दुख्ने, टाउको धेरै दुख्ने, रक्तस्राब हुने, शरीर कटकटी दुख्ने तथा ज्वरो आउने लक्षण देखा पर्छन् । गोरखाका ९४ वटा वडाले लामखुट्टेको लार्भा खाेज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न साथै डेंगु रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न जिल्ला स्वास्थ्य कार्यालय गोरखाले ११ वटै स्थानीय तहलाई अपिल गरेको छ ।