• १ असोज २०८१, मङ्गलबार

नेपाली चिया निर्यातमा श्रीलङ्काको चासो

blog

पशुपतिनगर समाचारदाता

पशुपतिनगर, असोज १ गते । इलामको सूर्योदय नगरपालिकाको चिया बगानमा पछिल्लो समय विभिन्न देशमा राजदूत पुग्ने गरेका छन् । नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पाथिरनाले अन्तु र कन्याममा पछिल्ला तीन दिन बिताउनुभयो । उहाँले उक्त अवसरमा अन्तु र कन्यामका चिया बगानको समेत अवलोकन गर्नुभयो । 

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईको समन्वयमा सूर्योदय टी प्रोडयुसर्स एसोसिएसनको आयोजनामा भएका विभिन्न कार्यव्रmममा राजदूत पाथिरनाले समय बिताउनुभयो । विशेष गरी श्रीलङ्काले विश्व बजारमा गरिरहेको चियाको निर्यातबारे जानकारी दिन र इलामको चिया विश्वमा बजार खोज्नका लागि राजदूत पाथिरनालाई सूर्योदयमा ल्याइएको हो ।

चिया निर्यातको ठुलो हिस्सा ओगटेको भारतमा बर्सेनि चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया व्यवसायीले चिया निर्यातका लागि वैकल्पिक उपायको खोजी गर्न राजदूत पाथिरनासँग समन्वय गरेको सूर्योदय टी प्रोडयुसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिनुभयो । श्रीलङ्काले वार्षिक रूपमा विश्वमै सबैभन्दा बढी २८ करोड किलोग्राम चिया निर्यात गर्ने गरेको तथ्याङ्क छ । 

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले विश्वमै बढी चिया निर्यात गर्ने श्रीलङ्काको अभ्यास र इलामको चिया विश्वमा बजारीकरण गर्नेबारे राजदूतसँग छलफल भएको जानकारी दिनुभयो । नगरप्रमुख राईले भन्नुभयो, “हाम्रो चिया विश्व बजारमा लैजानका लागि कुन बाटोबाट जाने भन्ने विषयमा छलफल भयो । सकारात्मक परिणाम आउँछ भन्नेमा हामी विश्वस्त भएका छौ ।” 

राजदूत पाथिरनासँग अन्तुमा सूर्योदयका चिया व्यवसायीले इलामको चिया उत्पादन, बजारीकरणका समस्यालगायतका विषयमा छलफल गरेको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव कट्टेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “श्रीलङ्काले हाम्रो चिया खरिद गर्ने भन्ने होइन, श्रीलङ्काको माध्यमबाट विश्व बजारमा हाम्रो चिया निर्यात गर्ने विषयमा छलफल भएको छ ।” श्रीलङ्काले विश्व बजारमा नेपाली चिया निर्यातका लागि पहल गर्न राजदूत पाथिरनाले प्रतिबद्धता जनाउनुभएको छ । उहाँले चियाको उत्पादन, अर्गानिक चिया उत्पादन, प्रशोधन, प्याकेजिङलागयतका विषयमा चासो राख्नुभएको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष उत्तमकुमार प्रधानले जानकारी दिनुभयो । 

राजदूत पाथिरनाले कन्याममा सञ्चालनमा आउन लागेको नेपालकै एकमात्र चिया टेस्टिङ सेन्टरको समेत अवलोकन गर्नुभयो । उहाँले सूर्योदय नगरपालिकामा आयोजित कार्यव्रmममा श्रीलङ्काले गरिरहेका विकास निर्माण र सामाजिक क्षेत्रका बारेमा जानकारी दिनुभयो ।  

सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले राजदूत पाथिरनासँग श्रीलङ्काका स्थानीय सरकारले गरिरहेका असल अभ्यासबारे छलफल भएको जानकारी दिनुभयो ।  सबै छलफलमा चिया निर्यातका सवालमा छलफल भएको थियो । 

भारतले नेपाली चियालाई गुणस्तरहीन र विषादीको मात्रा बढी भएको भन्दै पटक पटक निर्यात रोक्दा पनि नेपाली चिया भारतमै बेच्नुपर्ने बाध्यता अहिलेसम्म रहेको छ । हालसम्म १५ प्रतिशत अर्थोडक्स चिया नेपालमा खपत हुने गरेको छ भने बाँकी चिया भारतलगायत अन्य मुलुक जाने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजना फिक्कलका चिया प्राविधिक नवीन कोइरालाका अनुसार वार्षिक रूपमा इलाममा मात्र ६७ लाख ५७ हजार ५७६ किलोग्राम अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । नेपालमा वार्षिक रूपमा दुई करोड ६३ लाख किलोग्राम अर्थोडक्स चिया उच्पादन हुने गरेको प्राविधिक कोइरालाले जानकारी दिनुभयो । 

सन् २००० देखि २०१५ सम्मको प्राप्त तथ्याङ्क अनुसार चियाको आन्तरिक बजार तथा प्रतिव्यक्ति उपभोग वार्षिक ११ प्रतिशतका दरले वृद्धि भइरहेको देखाउँछ तर कफीलगायत अन्य प्रतिस्पर्धी पेय पदार्थको उपभोग बढ्दै जादा सन् २०२५ सम्ममा नेपालमा चिया उपभोगको वार्षिक वृद्धिदर पाँचदेखि आठ प्रतिशतमा झर्न सक्ने अनुमान गरेको पाइन्छ ।