• १ असोज २०८१, मङ्गलबार

विषादीको विकल्पमा जैविक मल

blog

विषादी सचेतना सम्बन्धी कार्यक्रममा सहभागीहरु

नवलपुर समाचारदाता 

नवलपुर, असोज १ गते । कृषि ज्ञान केन्द्र नवलपुरले जिल्लाको हुप्सेकोट–१, जुगेपानीका किसानलाई तरकारी तथा फलफूलमा हाल्ने विषादीसम्बन्धी सचेतना कार्यक्रम गरेको छ । गोरखापत्रले गत भदौ १९ गते ‘विषादीको प्रयोग व्यापक, एकै पालिकाका ६४ जनामा क्यान्सर र मिर्गौला रोग’ शीर्षक समाचार प्रकाशन गरेपछि ज्ञान केन्द्रले सचेतना कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले सकेसम्म विषादीको प्रयोग गर्नै नहुने र गरिहाले पनि थोरै र सावधानी अपनाएर प्रयोग गर्नुपर्ने बताउनुभयो । 

मानिसलाई लाग्ने रोगमध्ये ७० प्रतिशत विषादीकै कारण हुने गरेको तथ्यले देखाएको भन्दै तिवारीले विषादी हेरेर तीनदेखि ६० दिनसम्म फलफूल तथा तरकारी प्रयोग गर्न नहुने सुझाव दिनुभयो । उहाँले नेपालमा हरेक वर्ष सात सय मेट्रिक टन विषादी प्रयोग हुने गरेको भन्दै यो अत्यधिक रहेको र हरेक वर्ष बढ्दै गएको बताउनुभयो ।  सबैभन्दा बढी विषादी तरकारीमा प्रयोग हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । 

विषादी प्रयोग गर्दा सावधानी नअपनाउनु सबैभन्दा खतरनाक हुने र यसरी प्रयोग गरिएको विषादीको असर नौ पुस्तासम्म रहने भएकाले सतर्क हुन उहाँले आह्वान गर्नुभयो । विषादीको सट्टा तितेपाती, वनमारा, असुरो, सिस्नो जस्ता टर्रो, अमिलो र पिरो जातका वनस्पति मिसाएर प्रयोग गर्न सके मल र विषादी दुवैको काम गर्ने उहाँको भनाइ छ ।

व्यावसायिक कृषि गरिरहेका शङ्कर थापाले जुगेपानीमा विषादीको प्रयोग निकै कम हुँदै गएको बताउनुभयो । समाचार प्रकाशनपछि कावासोतीमा रहेको प्रयोगशालामा तरकारी परीक्षण गर्दा न्यून विषादी देखिएको र सबै तरकारी खानयोग्य रहेको देखाएको बताउनुभयो । 

अर्का कृषक सुब्बा चन्द्र लुङ्गेलीले विषादी प्रयोग नभएको बाङ्गोटिङ्गो तरकारी उपभोक्ताको रोजाइमा नपर्दा किसान मर्कामा परेको बताउनुभयो । अर्का किसान तेजबहादुर गुराऊले कृषक सधैँ उपेक्षामा पर्ने गरेको भन्दै अनेक समस्या सहेर पनि खेतीलाई निरन्तरता दिएको बताउनुभयो । 

हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले गोरखापत्रमा समाचार आइसकेपछि सबैलाई सचेत बनाएको टिप्पणी गर्नुभयो । उहाँले समाचारले तरकारी कृषकमा नकारात्मक प्रभाव पर्न थालेकाले यो सचेतनामूलक कार्यक्रम गर्नु परेको बताउनुभयो । 

एउटा किसानले उत्पादन गरेको तरकारी हजार जनाले खानुपर्ने र किसान सचेत नहुँदा हजार जनामा प्रभाव पर्ने भएकाले सचेत हुनुपर्ने अध्यक्ष पाण्डेको भनाइ छ । उहाँले सकेसम्म तरकारीमा विषादी नै प्रयोग गर्न नहुने र गर्नै परे विस्तारै कम गर्दै लैजानुपर्ने बताउनुभयो । 

विकल्प खोज्दै किसान

उपभोक्ता विषादीप्रति सचेत हुन थालेपछि यहाँका किसानले पनि विषादीको विकल्प खोज्न थालेका छन् । हुप्सेकोट–४ का मित्रलाल तिवारीले विषादीको विकल्पमा आफैँ जैविक औषाधी बनाउन थाल्नुभएको छ । उहाँले ‘झोल–मोल एक’, ‘झोल–मोल दुई’ र ‘झोल–मोल तीन’ नामक जैविक विषादी उत्पादन गर्न थालेको बताउनुभयो । 

गोबर, गहुँत र पानीको मात्रा मिएर झोल–मोल एक; गाईको गहुँत र पानीको मात्रा मिलाएर झोल–मोल दुई र टर्रो, तितो, अमिलो, पिरो खालका वनस्पति मिलाएर झोल–मोल तीन उत्पादन गरिरहेको उहाँको भनाइ छ । तिवारीका अनुसार झोल–मोल एकले जराका लागि र माटोको सूक्ष्म तत्व उत्पादनमा सहयोग गर्छ । झोल–मोल दुईले भिटामिन, सूक्ष्म तत्व र संरक्षणको काम गर्छ भने झोल–मोल तीनले बिरुवामा लाग्ले रोगकिरा नष्ट गरी भिटामिन प्रदान गर्ने काम गर्छ ।