• १० मंसिर २०८१, सोमबार

सीमास्तम्भ सुरक्षित गर्न आग्रह

blog

मोहना नदीले हालै बगाएको सीमास्तम्भ । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, भदौ ३१ गते । यस वर्षको बाढीले कैलालीमा रहेको नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना छुट्टयाउने सीमास्तम्भ बगाएको विषयबारे प्रतिनिधि सभामा कुरा उठेको छ । कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्नु हुने सांसद गङ्गाराम चौधरीले आज बसेको प्रतिनिधि सभा बैठकमा सीमास्तम्भबारे बोल्नुभएको हो । 

नदीले सीमास्तम्भ बगाएको र दर्जनौँ सीमास्तम्भ जोखिममा रहेको विषयमा आजको गोरखापत्रमा समाचार प्रकाशित भएपछि उहाँले सोही समाचारलाई आधार बनाएर सदनमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सांसद चौधरीले सीमास्तम्भ बगेपछि सीमा विवाद उत्पन्न हुने गरेकाले छिमेकी राष्ट्र भारतसँग समन्वय गरेर सीमास्तम्भ सुरक्षाका लागि अविलम्ब तटबन्ध गर्न नेपाल सरकारलाई आग्रह गर्नुभयो । 

बाढीले धनगढी उपमहानगरपालिका–९ स्थित मोहन नदी पारि रहेको ६५०-२ नम्बरको र भजनी नगरपालिका–७ मा रहेको ७२१-२ नम्बरको सीमास्तम्भलाई बगाएको छ । यस्तै, दुई वटा सीमास्तम्भमा क्षति भएको छ भने दर्जनौँ जोखिममा छन् । 

यसैगरी, सांसद चौधरीले सीमा क्षेत्रका जनताले बर्सेनि डुबान समस्या भोग्दै आएको भन्दै डुबान समस्या समाधानका लागि सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले भारतको उत्तर प्रदेशमा रहेको कैलाशपुरी बाँधका कारण कैलाली, बर्दियाबासीले डुबान समस्या झेल्नु परिरहेको उल्लेख गर्नुभयो ।