• ६ वैशाख २०८२, शनिबार

निलसागर सेवा आश्रममा आश्रित बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण

blog

स्वास्थ्य परीक्षण गराएपछि आश्रममा आश्रित बालबालिकाहरू । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, भदौ ३१ गते । गोपाल–नीना फाउण्डेसनद्वारा स्थानीय निलसागर सेवा आश्रममा आश्रित ६८ जना बालबालिकाहरूलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेर निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । 

निलसागर सेवा सो आश्रममा आश्रित बालबालिकालाई स्वास्थ्य उपचार सेवाको आवश्यकता रहेको थाहा पाएर विशेष स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य समस्या भएका ६८ जना आश्रित बालबालिकाको उपचार गरिएको गोपाल–नीना फाउण्डेसनका सहनिर्देशक डा. तृप्तीपाल रमणले बताउनुभयो । उहाँले दिनुभएको जानकारी अनुसार आश्रममा आश्रित अभिभावकविहीन, आफन्तहरू समेत गुमाएका सहाराविहीन अधिकांश बालबालिकाहरूमा खटिरा, शरीर चिलाउने, छाला, दाँत र मुख आदिको समस्या देखिएको थियो । 

डा. रमणले थप्नुभयो, "यस्तो समस्या देखिएका बालबालिकालाई निःशुल्क औषधी पनि वितरण गरिएको थियो भने स्वास्थ्य परामर्श सेवा पनि प्रदान गरिएको थियो।"  फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठका अनुसार गोपाल–नीना फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरणका साथै उक्त आश्रममा आश्रित २२० जनालाई एक छाक खाना पनि खुवाइएको थियो र सबै बालबालिकाहरूलाई स्टेसनरीको किट र हाइजिन किट पनि वितरण गरिएको थियो । 

खाना खुवाउने कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठ, फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र आयोजक टिमका अन्य अतिथिहरूले खाना खुवाउनुभएको थियो । 

निलसागर सेवा आश्रमका इन्चार्ज एलिसा चौधरी र सामना निल सागरका अनुसार आश्रमका सबै बालबालिकालाई स्टेसनरी वितरण गरिएको थियो । सो विशेष स्वास्थ्य शिविरमा डा. सचिन शाह, डा. कमल जङ शाही, बाँके डेन्टल क्लिनिकका डा. शालिनी मिश्र पाठक, डा. दिल बहादुर सन्त्याल र डा. तृप्ति पाल रमणले बालबालिकाको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो । 

सो कार्यक्रम प्रारम्भ हुनुअघि आयोजित कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठ, फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ, वरिष्ठ पत्रकार पूर्ण लाल चुके, अधिवक्ता तथा फाउण्डेसनका सदस्य लोक बहादुर शाह, बाँके डेन्टल क्लिनिकका सञ्चालक सुरेन्द्र सिंह सरदार लगायतले बोल्नुभएको थियो । 

पश्चिम नेपालका वरिष्ठ फिजीसियन डा. गोपाल प्रसाद श्रेष्ठ र वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा एक वर्ष अघि स्थापित सो फाउण्डेसनले विभिन्न सामाजिक गतिविधि तथा स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।