• २१ पुस २०८१, आइतबार

सशस्त्र प्रहरीको दुई बिओपी कटानको जोखिममा

blog

बाढीले बगाएको लल्लीपुरस्थित सशस्त्रको बिओपी।

अविनाश चौधरी

धनगढी, भदौ ३० गते।  कैलालीमा सशस्त्र प्रहरी बलको दुई वटा बिओपी कटानको जोखिममा परेको छ।  

कैलारी गाउँपालिका–३ खोनपुरमा रहेको बिओपी र भजनी नगरपालिकास्थित हलौनाघाटमा रहेको बिओपी कार्यालय कटानको जोखिममा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर धनगढीले जानकारी दिएको छ।  बिओपी कार्यालयतर्फ मोहना नदीले कटान गरिरहेको सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले जानकारी दिनुभयो।  

उहाँले कटान नियन्त्रण गर्न र बिओपी कार्यालय जोगाउनका लागि नदी किनारमा तटबन्ध गर्न आवश्यक देखिएको बताउनुभयो।  “हाम्रो अन्तर्राष्ट्रिय सिमाना नदी आसपासमै रहेकाले बिओपी कार्यालय पनि त्यतै छन्”, पाण्डेयले भन्नुभयो,“अहिले दुई वटा बिओपी कार्यालय कटानको जोखिममा छ।  त्यसलाई जोगाउनका लागि नदीमा तटबन्ध बनाउनु पर्दछ। ”

शनिबार मात्रै धनगढी उपमहानगरपालिका–१९ लल्लीपुरमा रहेको सशस्त्रको बिओपी कार्यालय भवनलाई बाढीले बगाएको थियो।  नयाँ निर्माण गरिएको दुई वटा भवन नदीले बगाएपछि बिओपी कार्यालय त्यहाँस्थित सामुदायिक भवनमा सारिएको छ।  

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र त्यहाँ शान्ति, सुरक्षा कायमका साथै सीमा रेखदेखका लागि कैलालीको विभिन्न स्थानमा सशस्त्र प्रहरीको बिओपी राखिएको छ।