• २१ पुस २०८१, आइतबार

सडक बनाउन माग गर्दै विद्यार्थी आन्दोलनमा

blog

सडक मर्मतको माग राख्दै चक्काजाम गर्दे जन नमुना माध्यमिक विद्यालय र भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरु ।

नवीन सुवेदी

सुर्खेत, भदौ ३० गते । प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरको गणेशचोकदेखि भैरवस्थान हुँदै ढोडेखाली जोड्ने सडकमा दुई वर्षदेखि खाल्डाखुल्डी भएको र त्यसले दुर्घटना निम्त्याएको भन्दै विद्यार्थीहरुले सडकमा चक्काजाम गरेका छन् । 

जन नमूना माध्यमिक विद्यालय र भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरुले सडकमा खाल्डाखुल्डी भएको र हिँडेर विद्यालय आँउदा सवारी साधनले आफ्नो ड्रेसमा हिलो छ्याप्नुका साथै बारम्बार दुर्घटना घटाएको भन्दै आन्दोलन सुरु गरेका हुन् ।

भैरव माध्यमिक विद्यालय अगाडी नै दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले दुईतर्फी सडक अवरुद्ध गरेका छन् । "हामीले बारम्बार नगरप्रमुखलाई यो बाटो सुधार गरिदिन अनुरोध गरेका थियौं । यो बाटोमा हामी दैनिक रुपमा आवतजावत गरिरहन्छौं । प्रदेश अस्पताल जाने बाटो पनि यही भएका कारण सवारी साधनको चाप यहाँ बढी छ," जन नमुना माविका विद्यार्थीले नारायण नेपालले भन्नुभयो, "विद्यालयमा ड्रेस लगाएर जानुपर्ने तर बाटोमा कहिले हिलोमा छ्यापिएर जानुपर्ने, कहिले दुर्घटनामा पर्नुपर्ने अवस्था आएको दुई वर्ष भइसकेको छ । सरकारले केही गर्ला भनेर आश गरे पनि हालसम्म कुनै प्रगति भएन । त्यसैले हामी यो आन्दोलन गर्न बाध्य भएका हौं ।"

अर्का विद्यार्थी विपना खनालले पनि मुख्यमन्त्री यामलाल कँडेल वा नगरप्रमुख मोहनमाया ढकाल आएर बाटो निर्माणबारे लिखित सहमति गरे मात्रै आफूहरु आन्दोलनबाट पछि हट्ने जनाउनुभयो । नगरप्रमुख वा मुख्यमन्त्री एक जना आएर हामीसँग एक साता होस् या दुई साता होस्, लिखित सहमति गरेर बाटो बनाउने प्रतिबद्धता जनाउनुपर्‍याे । खनालले भन्नुभयो, "त्यो नभएसम्म यो आन्दोलन जारी रहन्छ ।"

यो सडक मुख्यमन्त्री यामलाल कँडेलकै वडामा पर्छ भने नगर उपप्रमुख नीलकण्ठ खनाल यही वडाबाट प्रतिनिधित्व गर्नुहुन्छ । यता नगरप्रमुख मोहनमाया ढकालले भने बर्खायाममा पानी परिरहेको हुनाले सडक मर्मत गर्न ढिला भएको बताउनुभयो । उहाँले अब तत्काल सडक मर्मत गर्ने योजना रहेको जानकारी दिनुभयो । प्रमुख ढकाललाई विद्यार्थीहरुले लिखित सहमति गर्न फोन गरेर बोलाएका थिए । तर ढकाल काम विशेषले काठमाडाैं गएको हुनाले उपस्थित हुन नसक्ने बताउनुभयो ।