• २९ भदौ २०८१, शनिबार

दसैँअघि युवा नीति घोषणा गर्दैछौँ: मन्त्री चौधरी

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, भदौ २९ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन लागेको दसौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण दसैँ अघिसम्म सकिसक्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा एक कार्यक्रमबिच उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले दसौँ राष्ट्रिय खेलकुदका सुसम्पन्न गर्न उत्साहका साथ सरकारले ६० करोड रुपियाँ बजेट छुट्याएको बताउनुभयो । उहाँले अबको केही दिनदेखि नै दसौँ राष्ट्रिय खेलकुदको गतिविधि व्यापक रूपमा सुरुवात हुने दाबी गर्नुभयो ।

मन्त्री चौधरीले सबैभन्दा ठुलो चुनौतीको रूपमा ६ हजार खेलाडीहरूका लागि बस्ने र खाने होटलको व्यवस्थापन रहेको बताउनुभयो । उहाँले उक्त व्यवस्थापन केही जटिल देखिए पनि सरकारले गम्भीरताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले दसैँअघि नै युवा नीति घोषणा गर्ने बताउनुभयो ।

मन्त्री चौधरीले अहिले सरकारलाई खेलाडीलाई रोजगारी, स्वास्थ्य, शिक्षाको सुनिश्चितता गर्नुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले त्यसका लागि मन्त्रालयले पहल अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँले युवाहरू विदेश पलायन हुनु पनि अहिलेको मुख्य समस्या रहेको बताउनुभयो ।