• २९ भदौ २०८१, शनिबार

बालअधिकार सुनिश्चित गर्न सरकार संवेदनशील छ: मन्त्री सुडी

blog

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी राष्ट्रिय बाल दिवस २०८१ मुल समारोहलाई काठमाडौँमा शनिबार सम्बोधन गर्नुहुँदै ।

काठमाडौँ, भदौ २९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले बालअधिकार सुनिश्चित गर्नका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवस २०८१ मूल समारोहलाई काठमाडौँमा शनिबार सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी र बालबालिकाको क्षेत्रका विभिन्न सवालहरूलाई सम्बोधन गर्न चालु आर्थिक वर्षमा सङ्घ, प्रदेश र स्थानीय सरकारले लिएको नीति र बजेट व्यवस्थापन गरिएको बताउनुभयो ।

मन्त्री सुडीले नेपाल सरकारले बालबालिकासम्बन्धी विभिन्न कानुन, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य लगायतका विषयमा लगानी गर्दै आएको भए पनि आवश्यक लगानी गर्न नसकेको बताउनुभयो । उहाँले बालबालिकाको सुरक्षाका लागि थप लगानी गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।

उहाँले बालबालिकाका संरक्षणका सवालमा नयाँ प्रकारका समस्या र चुनौतीहरूको सामना गरिरहेको बताउनुभयो । उहाँले बालबालिकाप्रतिको हिंसा, बाल यौन दुर्व्यवहार, बालश्रम, बालविवाह र लैङ्गिक विभेद जस्ता अन्य असमानताका समस्याले बालबालिकाको उज्ज्वल भविष्यमा नकारात्मक असर परेको बताउनुभयो ।

मन्त्री सुडीले विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकाहरूका लागि सरकारले पर्याप्त स्रोत र साधन परिचालन गर्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बालबालिकाहरूको अधिकार सुरक्षित र सुनिश्चित गर्न लगानीको आवश्यकता रहेको उल्लेख गर्नुभयो । यस वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित बाल दिवस मनाइएको छ ।