• २९ भदौ २०८१, शनिबार

विद्याको ज्योति छर्नुभएका गुरु

blog

हालै लोकार्पण गरिएको भीमप्रसाद गौतम स्मृति ग्रन्थ अवलोकन गर्दा यसका महत्वपूर्ण पक्षका विषयमा केही बोध भयो । यस ग्रन्थको नाम ‘भीमप्रसाद गौतम : व्यक्ति एक दृष्टि अनेक’ रहेको छ । विसं १९८३ चैत १४ गते भोजपुर जिल्लाको दिङ्ला आरुबोटेमा गौतमको जन्म भएको रहेछ । उहाँको पिताको नाम रामनाथ उपाध्याय र माताको नाम सरस्वती गौतम रहेछ । गौतम ऋतुभद्रदेखि ४३ औँ पुस्ता र भोजपुरमा कुशबिर्ता पाउने पुरुषोत्तमबाट आठौँ पुस्तामा जन्मिएका देखिन्छन् । 

उहाँको पुर्खा सप्तर्षिमध्येका अत्रि र अनसूयाका सन्तति परम्पराका नेपाल प्रवेश गर्ने ऋतुभद्रदेखि ३६ औँ पुस्ताका पुरुषोत्तम ठुला विद्वान् र ज्योतिर्विद् रहेछन् । उहाँलाई  मकवानपुर दरबारमा हरिहर इन्द्रसेनले सम्मानका साथ राजज्योतिषीका रूपमा राखेका रहेछन् । राजगुरुकै सल्लाहमा युद्ध जित्दै  किराँत राज्य पुगेपछि सन्धि गर्न लगाएछन् र आफू पनि उतै बसेछन् । राजाबाट प्राप्त भूमिमा थातथलो बसाएछन् । पुरुषोत्तमबाट रामकृष्ण, रामकृष्णबाट पुराणादि चार भई र पुराणबाट विश्वामित्र र उहाँबाट श्रीराम र शिवनिधि सन्तान भएका थिए । शिवनिधिका श्रीविलास र रविलाल (विसं १९०४) लगायतका सात सन्तान भए । रविलालका पनि बालानन्द र रामनाथ (विसं १९४१) लगायतका सात सन्तान नै भएका थिए । यिनै रामनाथ र सरस्वतीबाट सात छोरी र दुई छोराको जन्म भएको थियो । तिनैमध्ये एक हुनुहुन्थ्यो, यशस्वी भीमप्रसाद गौतम भन्ने जानकारी पुस्तकबाट प्राप्त गर्न सकिन्छ ।   यशस्वी स्वनामधन्य भीमप्रसाद गौतम विद्याव्यसनी, भगवत् भक्त र समाजसेवी भएको हुनाले चिरस्मरणीय र पूजनीय हुनुहुन्छ । जेठी दिदी कृष्णमाया कोइरालाबाट अक्षरारम्भ गर्नुभएका गौतमले प्रारम्भिक शिक्षा पितृकुलमै प्राप्त गर्नुभयो भने पछि बालब्रह्मचारी षडानन्दबाट विसं १९३२ मा स्थापित गुरुकुलमा रहेर वेदवेदाङ्ग अध्ययन गर्नुभयो । गुरुकुलमा अध्ययन गरेर बनारसबाट मध्यमा र केही वर्षपछि शास्त्री र आचार्य उत्तीर्ण गर्नुभएको थियो । वेद विषय र आचार्य तहमै सर्वप्रथम भई भारतबाट दुई स्वर्ण पदक र नेपालबाट महेन्द्रविद्याभूषण प्राप्त भएको थियो उहाँलाई ।

सात वर्षको उमेरमा (विसं १९९०) व्रतबन्ध र पहिलो विवाह एकै दिन भएको थियो । दोस्रो विवाह २००० सालमा १७ वर्षको उमेरमा भूमिनन्द लम्सालकी छोरी पद्मकुमारीसँग भयो । उहाँबाट चार छोरा र पाँच छोरीको जन्म भएको थियो । हाल केशव, पुष्कार, रोशन जीवितै छन् । जेठा केशव विद्यार्थी जीवनमा होनहार थिए । उनले पिताजीकै पदचिह्न अनुसरण गर्दै संस्कृतमा आचार्य र अर्थशास्त्रमा एमए गरेका थिए । हाल केशवजी राम्रा अर्थशास्त्री मानिन्छन् ।    

षडानन्द विद्यालयमा लामो समयसम्म अध्यापन गरेका गौतम उक्त विद्यालयको २० औँ प्रधानाध्यापकसमेत रहनुभएको थियो । उहाँले १४/१५ वर्ष जति धरानस्थित चन्द्र संस्कृत माविमा पनि पढाउनुभयो र केही वर्ष प्रधानाध्यापक भएर पनि संस्कृतको सेवा गर्नुभयो । उहाँ २०४३ सालमा ६० वर्षको अल्पायुमै पार्थिव शरीर उत्सर्जन गरी देहमुक्त हुनुभएको थियो । लामो समयदेखि उहाँको स्मृतिमा एक ग्रन्थ प्रकाशित गर्ने प्रयत्न भए पनि विभिन्न विघ्नबाधाले गर्दा थाती रहँदै आएको ग्रन्थ प्रकाशनको कार्य उहाँको निधन भएको ३८ वर्षपछि बल्ल साइत जुरेको हो । यो ग्रन्थ गत जेठ ८ गते मात्रै लोकार्पित भएको थियो । यस ग्रन्थको प्रकाशनको चाँजोपाँजो उहाँका सुपुत्रहरूले गरेको र प्रकाशनको भूमिका आबालब्रह्मचारी षडानन्द प्रतिष्ठानले संवहन गरेको हो ।  

ग्रन्थको प्रथमखण्डमा पाँच आलेख, द्वितीयखण्डमा ५७ आलेखाः, कविताखण्डमा ११ कविता छन् ।  परिशिष्टखण्डमा  गौतमको वंशावली, भीमप्रसादगुरुको र परिवारका महत्वपूर्ण चित्रहरू, त्यस्तै भीमप्रसाद गुरुले प्राप्त गर्नुभएका प्रमाणपत्रहरू, विभूषणहरू रहेका छन् । मूलग्रन्थ २८० पृष्ठमा फैलिएको छ भने ग्रन्थारम्भमा १४ र परिशिष्टमा ६० पृष्ट रहेको देखिन्छ । यो पुस्तक लामो गर्भाधारणपछि प्रकाशित भयो भन्ने कुरा यसका लेखकहरूमध्ये नौ जना दिवङ्गत हुनुबाट पनि  बुझिन्छ । यसमा प्रकाशित ११ कवितामध्ये दुई वटा कविता संस्कृत भाषामा छन् । तोयराज नेपालको कविता १३ श्लोकमा र गौरीशङ्कर काफ्लेको कविता ८० श्लोकमा विस्तारित रहेको छ । 

वेद, व्याकरण र ज्योतिषका ठुला विद्वान् भए पनि भीमगुरुले पुस्तकमा केही भूमिका र केही कविता रचना गर्नुभएको छ । धरानमा बस्दा उहाँले खण्डकाव्यसमेत रचना गर्नुभएको थियो । काव्य भने प्रकाशित हुन पाएन र हाल उपलब्ध पनि छैन । पण्डित भीमप्रसादसँग सम्बन्धित विविध सामग्री त पुस्तकमा समेटिएकै छन् । त्यसैले मात्र यस ग्रन्थको महत्व रहेको होइन, दिङ्ला पाठशाला र षडानन्दसँग जोडिएर यसको महìव बढेको हो । काठमाडौँपूर्व अनकन्टारमा रहेको भोजपुरस्थित किराँत क्षेत्रमा शिक्षाको ज्योति फैलाउने कार्य आबाल ब्रह्मचारी षडानन्द (विसं १८९२–१९७३) ले पाठशाला स्थापना गरेर अगाडि बढाउनुभएको थियो । तपस्वी ब्रह्मचारीले गायत्री पुरश्चरण गर्नुभएको थियो । एक शताब्दीसम्म दिङ्गला पाठशाला शिक्षा, ज्ञान, साधना र पौरस्त्य विद्याको केन्द्र रहेको थियो । षडानन्दभन्दा २४ वर्षपछि प्युठानमा स्वर्गद्वारी महाप्रभुको जन्म (विसं १९१६–१९९७ श्रावण शुक्ल एकादशी) भएको थियो र ३५ वर्षसम्म गाउँमै तपस्वी जीवन बिताएर एकान्त खोजी गर्दै स्वर्गद्वारी शिखरमा आएर तपस्यामा लीन हुँदै सोही स्थानमा यज्ञ र पाठशाला सुरुवात गर्नुभएको थियो ।  

राणाशाहीको अन्धकारमय युगमा पनि यी दुई तपस्वीले पूर्व र पश्चिमको अनकन्टार ठाउँमा विद्याको ज्योति छर्नुभएको थियो । यी दुई तपस्वीको पौरस्त्य संस्कृति, सभ्यता, वेदवेदाङ्गको अध्ययन, पूर्वीय दर्शनको व्याख्या, प्रचारप्रसार आदिमा महनीय भूमिका रहेको थियो । राणाकालीन युगमा दुई तपस्वीका प्रयत्नले त्यस अन्धकार युगमा शिक्षा, स्वास्थ्य र सामाजिक सांस्कृतिक जागरणका लागि महनीय कार्य भएको थियो । यस्ता दुई तपस्वीमध्ये षडानन्दका विषयमा पनि ग्रन्थका विभिन्न प्रसङ्ग जोडिएका छन् । भोजपुरको पाठशाला, शिक्षाको केन्द्र यहाँ विभिन्न प्रसङ्गमा आएका छन् । भीमप्रसादले दिङ्ला पाठशालामै पढ्नुभएको र पढाउनुभएकाले पनि त्यसको उल्लेख हुनु स्वाभाविक देखिन्छ । स्वर्गद्वारीमा त्यो गौरवमय परम्परा जोगिए पनि दिङ्लाले भने त्यो गौरवमय परम्परा जोगाउन सकेन । उस्तै कालखण्डमा पूर्वमा राई परिवारमा जन्मिएर स्वामी प्रपन्नाचार्यले र सुदूरपश्चिममा क्षत्रीय परिवारमा जन्मिएका योगी नरहरिनाथले पौरस्त्य दर्शन, संस्कृत भाषा, साहित्य, संस्कृति र सभ्यताको संरक्षणमा महान् योगदान दिनुभएको देखिन्छ ।    

भीमप्रसादबाट पढेका र प्रेरणा लिएका व्यक्ति आज राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त छन्, आआफ्ना विषयका विज्ञ छन्, साहित्यकार छन्, प्राध्यापक छन् र चिकित्सक भएका छन् । यी विशिष्ट प्रतिभा सम्पन्न विद्वान्हरूका आलेखहरूले पनि यिनै कुराको सङ्केत गरिरहेका छन् । प्राडा हेमाङ्गराज अधिकारी, प्राडा बद्रीविशाल भट्टराई, प्रा. लाला सुवेदी, डा. गोपाल भण्डारी, प्रा वंशीधर कट्टेल, डा. लक्ष्मी खतिवडा,  डा. गङ्गाधर कट्टेल, प्राडा भीम खतिवडा, यज्ञनिधि दाहाल, केशव गौतम आदि अनगन्ती प्रतिभाका गुरु हुनुहुन्थ्यो भीमगुरु । यस्ता ५७ प्रतिभाका स्मृति र अभिनन्दनले भीमगुरुको व्यक्तित्वलाई प्रकाशित गरेको पाइन्छ । गुरु चेलाको चेतनामा जीवित रहन्छन्, चेतनामय गुरुलाई वन्दना छ ।   

Author

डा. नवराज कट्टेल