• १९ असोज २०८१, शनिबार

रहस्यमय गुफा ‘म्यामोथ’

blog

गोरखाको गोरखनाथको गुफामा वर्षमा कम्तीमा एक पटक रोट चढाउने हाम्रो परिवारको परम्परा नै थियो । गोरखनाथको गुफाभित्र साक्षात् गोरखनाथ विराजमान हुनुहुन्छ भनेर हामी सबै विश्वास गथ्र्यौं र गुफाभित्र पस्न सके गोरखनाथको दर्शन गर्न पाइन्छ र मनले चिताएको पुग्छ भन्ने विश्वास पनि हाम्रो गाउँमा प्रायः सबैको हुने गर्दथ्यो । विद्यालयमा पढ्दा कहिलेकाहीँ साथीभाइसँग मिलेर जोगीहरूलाई झुक्याएर गुफाभित्र प्रवेश गर्ने प्रयास पनि मैले पटक पटक गरेको थिएँ तर हरेक पटक असफल भएको थिएँ र कहिलेकाहीँ त जोगीहरूको कोपभाजनमा समेत परेको थिएँ । मलाई त्यो समयमा नै गुफा रहस्यमय लाग्ने गथ्र्यो । त्यसमाथि पनि गोरखनाथसँग सम्बन्धित कथा, किंवदन्तीले गुफाप्रतिको मेरो कौतूहल झनै बढाएको थियो । पोखरा घुम्न जाँदा सबभन्दा पहिला म महेन्द्र गुफा गएको थिएँ तर ती गुफाहरू साना थिए र संसारमा ठुला ठुला गुफा छन् भन्ने थाहा पाएपछि मलाइ लामो र विशाल गुफा कस्तो होला भन्ने जिज्ञासाले मेरो मनमा जरो नै गाड्यो । सायद यसैले होला अहिले म संसारको जुनसुकै देशमा जाँदा पनि गुफा अवलोकन मेरो पहिलो प्राथमिकतामा पर्ने गर्छ । 

भुलभुलैया

यो वर्षको जुलाई ४ मा अमेरिकाको केन्टकी राज्यस्थित संसारकै सबैभन्दा लामो म्यामोथ गुफा हेर्ने साइत जु¥यो । हुन त हालै भूगर्भशास्त्रीको वार्षिक गुफा सम्मेलन (एनुयल केभिङ कन्फेरेन्स) ले चाहिँ बोर्नियोको साराबक च्याम्बरलाई संसारको सबैभन्दा लामो गुफा भनेर मानेको थियो किनभने यहाँ पूर्ण आकारका धेरै हवाईजहाजसमेत गुफामा राख्न सकिन्छ भन्ने प्रतिवेदन सार्वजनिक भएको छ । यसको साथै चिनियाँले व्यापक लेजर स्क्यानिङपश्चात् चीनमा अवस्थित मियाओ गुफाको नाप ३८०.७ क्युबिक फिट भएको र यही नै संसारको लामो गुफा हो भनेर दाबी गरेका छन् । यी गुफा सर्वसाधारणको अवलोकनका लागि खुला भने छैनन् । अमेरिकीले पनि संसारको सबैभन्दा लामो म्यामोथ गुफा नै हो भनेर निक्र्योल गरेका छन् र गुगलले पनि सन्सारको लामो गुफा म्यामोथलाई नै भनेको छ ।    

जे होस् ८० वर्गमाइलमा फैलिएको म्यामोथ गुफाको भित्री भाग चुन ढुङ्गाले बनेको एउटा घुमाउरो सञ्जाल भएको भुलभुलैया जस्तो रहेछ । केही मानिस लखनउको नवाफले लखनउमा बनाएको शाही महल ‘बडा इमामबडा’ को भुलभुलैया यही गुफाबाट प्रभावित भएर बनाएको पनि भनेका छन् । गुफाभित्र कुनै कुनै ठाउँमा देखिने बाटो शाही महलको जस्तै झुक्याउने खालको पनि रहेछ । यसैले पथप्रदर्शकले सिफारिस गरिएका बाटोबाहेक जता पायो त्यतै गए झुक्किएर गुफामा नै हराउन सकिन्छ भनेर यात्रुलाई सावधान गराउँदा रहेछन् । गुफाको अवलोकन मात्र संयोग थिएन, यो गुफा हेर्नैका लागि म केन्टकीको पनि निकै सुदूर भागमा गएको थिएँ । साँच्चै यो यात्रा मेरा लागि रोमाञ्चैरोमाञ्चले भरिएको यात्रा हुन गयो । टिकट लिएर गुफाभित्र प्रवेश गर्न प्रतीक्षालयमा बसेको थिएँ, त्यतिखेर नै एक जापानी दम्पतीसँग भेट भयो । उनीहरू पनि गुफाप्रेमी रहेछन् । यहाँ आउनुअघि मैले जस्तै धेरै गुफा भ्रमण गरेका रहेछन् । प्यासिफिकका विशेष गरेर न्युजिल्यान्डका धेरै गुफामा उनीहरू गएका रहेछन् । तस्बिर खिच्न निषेध गरिएको न्युजिल्यान्डको वइटोमो गुफाभित्र लट्किएको ग्लो ओर्म (जुनकिरी जस्तो किरा), जसलाई उनीहरूले क्यामरामा कैद गरेका रहेछन् । म तस्बिर देखेर दङ्ग परेँ । न्युजिल्यान्डले कैयौँ रोमाञ्चक गुफा अवलोकनका लागि खुला गरे पनि कुनै कुनै गुफाभित्रको तस्बिर खिच्न चाहिँ रोक लगाएको छ । म कहिल्यै पनि निषेध गरिएको या कानुनविरुद्ध काम गर्दिनथेँ तर ती दम्पतीले जुनकिरी जस्तै देखिने गुफाभित्र झुन्ड बनाएर बसेका किराको तस्बिर खिचेका रहेछन् । यसैले ती दम्पतीलाई यस्तो किन गरेको भनेर सोधेँ तर उनीहरूले सोखले गरेको मात्र भने र यसबारे धेरै कुरा नगरी विषयान्तर गरे । त्यसपछि पथपदर्शकले म्यामोथ गुफाभित्र प्रवेश गर्नका लागि समय भएको भनेर जानकारी दिए ।

म्यामोथ गुफामा त एउटा सिङ्गो पार्क नै बनाइएको छ । गुफा मात्र भएर पनि पर्यटक आउँदैनन् । प्रायः गुफा भएको ठाउँमा मानवनिर्मित अन्य मनोरञ्जनका साधन पनि प्रशस्त चाहिन्छ । मानवनिर्मित पोखरीमा मनोरञ्जन दिने सामग्रीदेखि गुफाको विशेषता झल्कने तस्बिर र पर्यटकलाई चाहिने आवश्यक सामान पनि बेच्न राखेको मैले यहाँँ देखेँ । म्यामोथ गुफामा एक पटकमा करिब १२५ जनालाई समूहमा लिएर जाने गरिँदो रहेछ । पथप्रदर्शकले तापक्रमलगायत गुफाभित्र पस्दा अपनाउनुपर्ने सावधानीबारे प्रतीक्षालयमा बस्दा नै जानकारी दिँदा रहेछन् र त्यसपछि पथप्रदर्शकसँगै यात्रा गर्नुपर्दो रहेछ । गुफाभित्र प्रवेश गरिसकेपछि पथप्रदर्शकको विनोदी संलापले गुफाभित्रको वातावरण अत्यन्त रमाइलो हुँदो रहेछ ।  

पथप्रदर्शकका अनुसार अहिलेसम्म यो गुफाको ३६५ माइल मात्र पत्ता लागेको छ तर गुफा प्रणाली धेरै टाढासम्म फैलिएको छ । भूर्गभशास्त्रीले पनि यो गुफाको अन्त्य पत्ता लगाउन निकै कठिन रहेको अनुमान गरेका रहेछन् । कतिपय ठाउँ साँच्चै अद्भूत थियो । अलिकता मोटो मानिस पनि छिर्न हम्मे हम्मे पर्ने थियो भने कतिपय ठाउँमा बसेर आवतजावत गर्नु पथ्र्यो र कतिपय ठाउँमा हवाईजहाज नै पार्क गर्न मिल्ने फराकिलो ठाउँ थियो, कतै प्रकृतिले नै निर्माण गरिदिएको मनमोहक छटा देखिन्थे । निःसन्देह ती प्राकृतिक दृश्य थिए तर मानवनिर्मित जस्तै सुन्दर वर्णन गर्न नसकिने र जति हेरे पनि अझै हेर्ने दृश्य बाँकी छन् जस्तो लाग्ने, अझ भनौँ अमूर्त कला जस्तो अनेक थरीका आकृति ढुङ्गामा कँुदिएका थिए । कुनै कलाकारले सिर्जना गरे जस्तो तर ती सबै आकृति मानवनिर्मित चाहिँ होइन रहेछन् । यो गुफामा करिब चार हजार वर्षअघि सबभन्दा पहिला मानवले पाइला टेकेको रहेछ । अहिले चाहिँ हरेक वर्ष संसारभरिबाट चार लाख मानिस यो गुफा हेर्न आउँदा रहेछन् । 

अलौकिक

हुन त यो विशाल गुफाभित्र दुई घण्टामा पर्यटक भएर जाँदा केही खोज्न या केही प्राप्त गरिन्छ भन्ने आशा राख्नु सम्भवतः ऊर्जाको अपव्यय मात्र हुन्छ । अर्को कुरा जब तपाईं भूगर्भशास्त्रबारे केही जान्नुहुन्न तब गुफाभित्र देखिने अनेक किसिमको आकृतिलाई लिएर कल्पना गर्नु सायद बेकार हुन सक्छ । अज्ञानतामा अडकल गर्नाले झन् घोर अज्ञानतामा पुगिन्छ तर मन भयभित छैन, ज्ञान आर्जन गर्ने भोक जागेको छ भने सावधानीपूर्वक धैर्य भएर हेर्दा असाधारण स्पष्टता र संवेदनशीलता आउँछ । यसका लागि हामी बाह्य वस्तुप्रति पनि सजग भएर गुफाभित्र प्रवेश गर्नुपर्ने हुन्छ । मानिसले सजगतासाथ काम ग¥यो भने रहस्यमय कुरा पनि किताबी ज्ञानबिना पनि प्राप्त गर्न सक्छ, जस्तो कि सडकको मोड, सहयात्री साथीको पोसाकको रङ, निलो आकाशमा पर्वतको परिरेखा, एउटा पुष्पको कोमलता, कुनै अपरिचित मानिसको अनुहारमा देखिने पीडा, अरूको अनभिज्ञता, प्रकृतिको सौन्दर्य, यी यस्तै प्रकृतिमा देखिने बाह्य वस्तु या चिजलाई देखेर नै त आन्तरिक सजगताको प्रवाहमा आरोहण गर्न सकिन्छ र आफ्नो क्षुद्रता, ईष्र्याप्रति सजग हुने गरिन्छ । बाह्य वातावरणप्रति सजग भएको मानिसले अँध्यारो गुफाभित्र पनि धेरै कुरा देख्न सक्छ ।  

कुनै अलौकिक सिर्जनाकारले बनाएको हो भनेर कल्पना गर्दा यो गुफाभित्र मैले त सारा प्रकृति समाहित भएको हो कि जस्तो लाग्यो । अर्थात ब्रह्माण्ड नै यही हो कि जस्तो लाग्यो । जसले जे भने पनि आखिर ब्रह्माण्ड, प्रकृतिको विशालता भनेको पनि मानिसले जति सोच्न सक्छ त्यति त हो । गुफाभित्र मैले सोच्न सक्नेभन्दा धेरै आकृति थिए । कतै कतै चिरपरिचित आकृति पनि देखिन्थ्यो । 

मैले अवलोकन गरेका गुफाभन्दा म्यामोथ गुफा साँच्चै फरक थियो । कतै घनघस्याको उकालो जस्तो नाकै ठोकिने, चढ्दाचढ्दै सासै फुल्ने, ओर्लंदा लडिन्छ कि भन्ने डर पनि । कतै गुफाभित्रै पानीको कुण्ड कतै तपतप बर्संदै गरेको शीतको थोपा जस्तो । शीतको थोपा शरीरमा झर्दा आङै सिरिङ हुन्थ्यो । झन्डै दुई घण्टाको उकाली ओराली भन्ज्याङ चौतारी भने जस्तो गुफालाई नियालेपछि हामी फर्कने बेलामा पथप्रदर्शकले फेरि एक पटक बत्ती निभाए र गुफाको प्राकृतिक स्वरूपको महसुस गराए । ओरालैओरालो गएर जब हामी १६५ वटा खुड्किलो चढेर माथि उक्लियौँ तब मैले एक अमेरिकी दम्पतीले कुनै गुप्तचरले दुर्लभ वस्तु नियाले झैँ कसैको मतलब नगरी एकटक केही आकृति नियालिरहेको देखेँ । पथप्रदर्शकले जानेबेला भयो भनेर सङ्केत गर्दासमेत तिनीहरू चलमलाएनन् र मलाई पनि कौतूहल लाग्यो र सोधेँ, “के हेर्दै हुनुहुन्छ, पथप्रदर्शकले हामी सबैलाई आउन भनिसक्यो ।”

हामीले पनि सुन्यौँ तर धित मरेन महिलाले उत्तर दिइन् र त्यसपछि महिलाले एउटा आकृतिलाई देखाउँदै भनिन्, “त्यहाँ हेर्नुस् त ‘साक्षात् जेसस’, यहाँ अध्यात्म छचल्किएको छ ।” उनीहरू सात महिनाको बच्चा गर्भमा हुँदा आएका रहेछन् । त्यसपछि उनीहरू पटक पटक १० पटक यहाँ आइसकेका रहेछन् । उनले भनिन्, “यो गुफा दैविक ऊर्जा र शक्तिले भरपुर छ ।” विवाहअघि पनि पहिलो पटक उनीहरू दुवैले एकअर्कालाई यही भेटेका थिए रे । भेटपछि उनीहरूको विवाह भयो र उनीहरूको वैवाहिक जीवन ३० वर्षदेखि सफलतापूर्वक चलेको छ । म छक्क परेँ र मैले उनले जस्तै एकछिन टक्क उभिएर हेरेँ । नभन्दै सोचे अनुसारको आकृति परिवर्तन भइरहेको थियो । कुनै आकृति शिवलिङ्ग जस्तै, कुनै साक्षात् कामधेनु गाई जस्तै थुनैथुन, कुनै ऐरावत हात्ती जस्तो, ज्यादै बडेमानको सुँड, साँच्चै गुफा अद्भुत थियो । प्रकृतिप्रति नेपालीको मात्रै होइन, संसारका सबै मानिसको आस्था विश्वास उस्तै हुँदो रहेछ भन्ने लाग्यो र कता कता गुफा रहस्यमय तरिकाले नै कुनै सहृदयी सिर्जनाकारले निर्माण गरे जस्तो लाग्यो । म्यामोथ गुफाबाट बाहिर आएपछि मलाई कुनै ठुलो असाधारण काम गरे जस्तो महसुस भयो ।  

   

Author

प्रदिप्नराज पन्त