• ११ असोज २०८१, शुक्रबार

बालकथा

सुरीको प्रतीक्षा

blog

पुस महिनाको ठन्डी थियो । एक दिन सानिमाको घरबाट आउँदै गर्दा बनेपाको ध्यानकुटी विहारपछाडि बाटोको छेउमा एउटा सानो बिरालो पल्टिरहेको देखेँ । नजिकै गएर त्यसलाई छोएँ । जीवितै रहेछ । उठाउन खोजेँ तर त्यो उठेन । रौँ शीतले भिजेको थियो । शरीरभरि माटो थियो । ऊ हिँड्नै नसक्ने गरी बिरामी परेको रहेछ । उसलाई त्यत्तिकै छोड्न सकिनँ । हल्का फोहोर टकटक्याएर झोलाको किताब निकालेर बिरालोलाई झोलामा राखेँ । सास फेर्न सजिलो होस् भनेर झोलाको मुख खुला राखेँ । अनि किताब हातमा बोकी घरतिर लागेँ । 

पनौतीको बसमा सिट नपाएर उठ्नु पर्‍यो । घुइँचोमा पछाडि बोकेको झोलाले बिरालोलाई धक्का परेछ, रुग्ण स्वरले म्याउ म्याउ गर्न थाल्यो । बसभित्र बिरालो कता कराइरहेछ भनेर सबै जना कुरा गर्न थाले । पछि सबै जनाले मेरो झोलातिर क्वार क्वार्ती हेर्न थाले । मलाई अप्ठेरो लाग्यो । बिरालो चोरेर ल्याएको जस्तो गरी मानिसले मलाई हेर्न थाले । 

पनौती पुगेपछि बिरालोलाई झोलाबाट निकालेर बिस्कुट किनेर खान दिएँ । उसले बिस्कुट हेर्दै हेरेन । भेटेरिनरी केन्द्रमा गएर त्यो बिरालोलाई जचाएर औषधीमुलो गराइदिने मन थियो तर मसँग कुशादेवी पुग्न पाँच रुपियाँ गाडी भाडाबाहेक थिएन । 

घरमा लगेर घाममा राखेँ । उसका आँखा रसिला र चिप्रा लागेका थिए । गाईको दुध दिएँ तर खाएन । त्यसपछि मम्मी र म भएर तोरीको तेल तताएर सेलाएपछि बिरालोको मुख समातेर चम्चाले खुवाइदियौँ । बल्ल बल्ल निल्यो । यसरी लगातार तीन दिनसम्म बिरालोलाई तेल खुवाएपछि चौथो दिन बिरालो उठ्न सक्ने भयो । उसलाई सुत्नका लागि डोको घोप्ट्याएर बोराले वरिपरि छोपेर न्यानो घर बनाइदिएका थियौँ ।      

करिब एक हप्तापछि म स्कुलबाट फर्किंदा पिँडीमा अचम्मको दृश्य देखेँ । चार दिन भएको बाख्राको पाठी र बिरालो मज्जासँग खेलिरहेका थिए । बिरालोले त्यो दिन तीन पटक दुध र भात खाएको कुरा मम्मीले सुनाउनुभयो । एक महिनामा त बिरालो मोटाएर हृष्टपुष्ट भयो । ऊ र म एक अर्काका मिल्ने साथी भएका थियौँ । मलाई देख्नासाथ लामो स्वरमा म्याऊ म्याऊ गर्दै खुट्टा वरिपरि घुम्दै जिउ धसार्न आइहाल्थ्यो ।  

मान्छे आरामले बस्या देख्यो भने चालै नदिई सुटुक्क काखमा आई लुटुपुटु गरी निदाउँथ्यो । खुट्टा वरिपरि हिँड्ने भएकाले कहिले पुच्छर त कहिले उसका पन्जा कुल्चिन्थ्यो, अनि ऊ क्याक्क गरेर कराउँथ्यो । एकछिन पर भागे जस्तो गथ्र्याे र पछि फेरि नजिक आइहाल्थ्यो । कतै हराए जस्तो लाग्यो भने आँगनको डिलमा बसेर ‘सुरी आ’ भन्यो भने कहिले बुइँगलको दाँतीबाट त कहिले गोठको गोब्रेझ्यालबाट म्याऊ गर्दै खुट्टा छुन आउँथ्यो । सबैले सुरी आ सुरी आ भनेर बोलाँउदा बोलाउँदै उसको नाम नै सुरी भएको थियो ।   

बिहान ढिलासम्म सुत्यो भने ओच्छ्यानमै मेरो निधार चाट्न आउँथ्यो । उसको जिब्रो साह्रै खस्रो थियो । उसलाई कुनै चिज हल्लिएको देख्नै हुन्न थियो, एकछिन छेको परेर दाउ हेथ्र्याे अनि झम्टिहाल्थ्यो । आपत् परेको बेलामा उसले आफ्नो पन्जाबाट धारिलो नङ्ग्रा निकाल्थ्यो तर पनि उसले मलाई कहिल्यै चिथोरेन ।

ऊ सुग्घरी पनि थियो, दिसापिसाब जहिल्यै बारीमा गएर नङ्ग्राले खाडल बनाई गर्दथ्यो । शौच गरिसकेपछि पुरेर मात्र हिँड्थ्यो । मेरो सुरीले कहिल्यै कुँडेको दुध चोरेन । पोखिएको वा उसकै भाँडोमा राखिदिएको खानेकुराबाहेक कहिल्यै हाम्रो भाग जुठो हाल्न आएनँ । ऊ मान्छे भएको बेलामा चुलोमा समेत उक्लिँदैन थियो । उसको उपस्थितिले घरभरि दुलो खन्ने, कपडा काट्ने र अन्न खाने मुसा सबै भागिसकेका थिए ।  

जहाँ गए पनि जता हराए पनि साँझपख दुध दुहुने बेलामा लसक्क लस्किँदै दैलोभित्र पस्थ्यो सुरी । एक दिन पारि मोठतिरबाट हाम्रो घरैनजिकको वनमा काफल खान भनी आएका केटाहरूसँग पछि लागेर हिँडेको सुरी कहिल्यै फर्केर आएन । कति खोजियो कतै भेटिएन । केटाहरूले बिरालो बोकेको दृश्य देखेको कुरा वनछेउका पसलेले सुनाउँथे । आजसम्म पनि कुनै बिरालो देख्नासाथ त्यही प्यारो सुरीको याद आँउछ । घर फेला पारेर आउँछ कि भन्ने अझै आश छ तर लाग्छ त्यो अब कहिल्यै आउँदैन । 

भदौ मुना २०८१

  

Author

रवीन्द्र अधिकारी