• ११ असोज २०८१, शुक्रबार

बालबालिकाबारे सङ्क्षिप्त चित्र

blog

भाइबहिनीहरू, बालबालिकाको शिक्षा, स्वास्थ्य, अधिकारलगायतका बारे जागरण फैलाउने उद्देश्यले नेपालमा राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ नोभेम्बर २० तारिखमा पारित भएको बाल अधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनलाई राष्ट्रिय बाल अधिकार दिवसका रूपमा मनाउन थालिएको हो । 

नेपालले सो महासन्धिलाई २०४७ साल भदौ २९ गते (सेप्टेम्बर १४, सन् १९९०) अनुमोदन गरेको दिनको सम्झनामा २०६३ सालदेखि राष्ट्रिय बाल दिवस भदौ २९ गते मनाउने गरिएको छ । २०६३ अगाडिसम्म तत्कालीन मुमा बडामहारानी रत्न शाहको जन्मदिनको अवसर पारेर भदौ ४ गते राष्ट्रिय बालदिवस मनाउने गरिन्थ्यो । 

बालबालिकासम्बन्धी ऐन, २०७५ ले १८ वर्षमुनिका सबैलाई बालबालिका हुन् भनी परिभाषित गरेको छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार १८ वर्षसम्मका बालबालिकाको जनसङ्ख्या एक करोड ५७ लाख ७९ हजार ६९ रहेको छ । त्यसमध्ये  बालकको सङ्ख्या ५४ लाख ७५ हजार ८९ जना र बालिका ५१ लाख २८ हजार ८० जना रहेका छन् । 

नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकका रूपमा उल्लेख गरिएको छ । सरकारले बालबालिकाका क्षेत्रमा कार्य गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय स्थापना गरेको छ । त्यो मन्त्रालय अन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद् छ र त्यसले बालबालिकाका क्षेत्रमा प्रत्यक्ष काम गर्दै आएको छ । हुन त बालबालिकाको शिक्षाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्यका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि कार्य गर्दै आएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बाल संरक्षण तथा विकास शाखाका प्रमुख दीपक ढकालले गलत काम गरेका बालबालिकालाई देशका नौ वटा बाल सुधारगृहमा राखेर शिक्षाका साथै आवश्यक परामर्श दिइरहेको बताउनुभयो ।  

नेपालका ७० जिल्ला पूर्ण खोपयुक्त घोषणा भइसकेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्यसम्बन्धी समस्या देखिएमा तत्काल समाधान गर्न विद्यालय नर्स सेवा पनि उपलब्ध गराइएको छ । विद्यालय उमेरका बालबालिकामध्ये ९४.९ प्रतिशत विद्यालयमा भर्ना हुने गरेका छन् । विद्यालयमा भर्ना भएका छात्रालाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराइन्छ । कक्षा ६ सम्मका विद्यार्थीलाई खाजा उपलब्ध गराइन्छ । कुनै कुनै स्थानीय तहले छात्रालाई निःशुल्क साइकल पनि उपलब्ध गराएका छन् । पाँचदेखि १७ वर्ष उमेरका १५.३ प्रतिशत बालबालिका श्रममा संलग्न छन् । नेपालभरिमा १९ हजार ९०४ वटा बालक्लब छन् । बालबालिका हराएमा फोन नं. १०४ मा फोन गरेर जानकारी दिनु पर्छ । त्यो फोन नम्बर बालबालिका खोजतलास सेवाको हो । त्यस्तै जोखिममा परेका बालबालिकाको उद्धार गर्न टेलिफोन नं. १०९८ मा सम्पर्क गर्नु पर्छ । त्यो फोन बाल हेल्पलाइन सेवाको हो । त्यसमा फोन गर्दा शुल्क तिर्नु पर्दैन । 

भदौ मुना २०८१

 
Author

शिवा तामाङ