• १० मंसिर २०८१, सोमबार

आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधी अभाव

blog

केन्द्रको औषधी वितरण कक्ष । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ २५ गते । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधी अभाव भएको छ । औषधी खरिदको बजेट धेरै कटौती हुँदा अभाव भएको केन्द्रले जनाएको छ । औषधीको अभावले गर्दा बिरामीहरू रित्तो हात फर्किएर बाहिर किन्नुपर्ने बाध्यता भएको छ ।

बिरामीको सङ्ख्यामा वृद्धि भइरहेकोले औषधीको लागि रकम थप गर्नुपर्नेमा पहिला भन्दा आधा भन्दा पनि कम रकम पठाएकोले अभाव झेल्नु परेको केन्द्रका प्रमुख डा। नारायण श्रेष्ठले बताउनुभयो । आर्थिक वर्ष २०७९-८० मा वार्षिक रूपमा औषधी खरिदको लागि १८ लाख रुपियाँ विनियोजन गरिएकोमा आर्थिक वर्ष २०८०-८१ मा आठ लाख १० हजार र चालु आर्थिक वर्ष २०८१-०८२ मा आठ लाख रुपियाँ मात्रै पठाएकोले औषधीको अभाव भएको छ । 

डा.श्रेष्ठले भन्नुभयो, "बिरामी झण्डै दोब्बर बढेकाले ३६ लाख रुपियाँ विनियोजन गर्नुपर्ने आठ लाख मात्रै विनियोजन गर्दा समस्या परेको छ ।" अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नी, नसा, आवाज रोकिने, श्वासप्रश्वास सम्बन्धी समस्या भएका, बाथ, प्रसूति, बमनथेरापी, अम्लपित्त लगायत सेवा लिने बिरामी आउने केन्द्रले जनाएको छ ।

केन्द्रका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईँले स्वेदन यन्त्र, पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको बेला औषधी अभाव हुँदा समस्या परेको बताउनुहुन्छ । चापागाईँले भन्नुभयो, “एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका बिरामीलाई पनि निको बनाएर पठाएकाले बिरामी चाप बढेको छ तर औषधीको समस्या हुँदा सेवा प्रभावकारी बनाउन कठिन भएको छ ।"

गण्डकी प्रदेश स्तरीय वार्षिक समीक्षामा विभिन्न जनस्वास्थ्य सेवाको सूचकको आधारमा तयार गरिएका सेवा मापदण्ड मुल्याङ्कनमा गण्डकी प्रदेशका ११ जिल्लामध्येमा उत्कृष्ट कार्य गरेकोमा गत वर्ष  प्रथम हुन सफल भएको हो । अकुपंचर उपचार पद्धति, थेरापी, पायल्स तथा फिस्टुलाको उपचारमा उल्लेखनीय कार्यहरू गरेको थियो । बिरामी बढेपछि औषधीको रकम थप्नु पर्ने माग गण्डकी प्रदेश सरकार समक्ष राखिएको भएपनि सुनुवाइ नभएको केन्द्रले जनाएको छ ।