• १० मंसिर २०८१, सोमबार

महारानीथानमा पर्यटकीय सम्भावना

blog

तस्बिर: गोरखापत्र

अमृतप्रसाद पौडेल 

म्याग्दी, भदौ २५ गते । म्याग्दी जिल्लाको बेनी नगरपालिका–७, कुरिलाखर्कमा रहेको महारानीथान ऐतिहासिक पर्वत राज्य र महारानीसँग आबद्ध महत्वपूर्ण ऐतिहासिक स्थलका रूपमा चिनिन्छ । यसको पर्यटकीय सम्भावना रहेको भए पनि यसतर्फ भने ध्यान पुग्न सकेको छैन । उचित प्रचार हुन सके यसको पर्यटकीय गन्तव्य बन्न सक्छ । यो थान सदरमुकाम बेनीबाट नजिकै रहेको प्रमुख धार्मिकस्थल पनि हो । पर्वत राज्यका मलेबमले भर्तिबमको हत्या गरेपछि विक्षिप्त बनेकी उनकी पत्नी अर्थात् महारानी विश्वप्रभाले कुरिलाखर्कमा अलप भएपछि त्यही स्थानमा पूजाअर्चना गर्न थालिएको र त्यही स्थान ऐतिहासिक महारानी थानका रूपमा प्रसिद्ध छ । 

पर्वत राज्यका तत्कालीन राजाका दुई रानीबाट जन्मेका भर्तिबम र मलेबम दुई भाइबिचको शक्तिको लडाइँमा पति वियोगमा परेर विक्षिप्त भएर सन्न्यास लिएर अलप हुन पुगेकी विश्वप्रभा अर्थात् महारानीको सम्झनास्वरूप यो ठाउँको महत्व छ । महारानीथान क्षेत्र विकास कोषका पूर्वअध्यक्ष अमृतदेवी बानियाँले महारानीको अकाल मृत्युपश्चात् माइती पक्षलाई सपनीमा सताउने गरेपछि महारानीले सपनामै आफ्नो पूजा गर्न र बलि दिन भनिएको प्रसङ्ग सुनाउनुभयो । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने भनेपछि महारानीथानमा नियमित पूजा अर्चना गर्न थालिएको जनविश्वास रहेको बताउनुभयो । 

मदनपुरस्कार विजेता ऐतिहासिक उपन्यास महारानीका लेखक चन्द्रप्रकाश बानियाँ महारानीको मृत्यु भएको त्यस स्थानमा निश्चित समय पछि पूजाअर्चना हुन थालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महारानीथानलाई अहिलेको अवस्थाको व्यवस्थित गराउने काम तुलबहादुर शाक्यले गर्नुभएको र त्यसभन्दा पहिला पनि नियमित पूजाअर्चना हुने गरेको तथ्यले देखाउने गरेको थियो ।” महारानीथान म्याग्दी जिल्ला सदरमुकामको दृश्य अवलोकन गर्न र मनोरमस्थल मन पराउनेका लागि उत्कृष्ट गन्तव्य रहेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । उक्त स्थान जिल्ला भित्रने पर्यटकका लागि पर्यटकीय हिसाबले पनि नजिकै रहेको र धेरै सम्भावना बोकेको हुनाले थानको उचित प्रचार गर्न सकेको खण्डमा आन्तरिक पर्यटकलाई बेनी बजारमा अड्याउनका लागि निकै महत्वपूर्ण हुने केसीको धारणा छ । 

महारानीथानमा दर्शन, भाकल र पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास अनुरूप अहिले नियमित पूजाअर्चना हुने गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बेलबहादुर कटुवालको भनाइ छ । महारानीथानमा आउने भक्तजनको सुविधा र त्यसको प्रवर्धनका लागि मन्दिर परिसरमा पर्खाल र तारबार, टहरा, शौचालय, पार्क निर्माण, खानेपानीको सुविधा, नयाँ मूर्ति प्रतिस्थापन गरी थानलाई व्यवस्थित गरिएको छ ।