• २३ भदौ २०८१, आइतबार

चेपाङ समुदायले मनाए ‘न्वागी’

blog

चितवनको शक्तिखोरमा आयोजना गरेको न्वागी पर्वमा कालिका नगर प्रमुख विनोद रेग्मीसहित अन्यले ड्याङग्रो ठोकेर न्वागी पर्व मनाउँदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

शक्तिखोर (चितवन), भदौ २३ गते । चेपाङ समुदायले महान् चाड ‘न्वागी’ चितवन जिल्लामा धूमधामसँग मनाएका छन् । चितवनमा चेपाङहरूको बाक्लो बसोबास रहेको कालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका बस्तीहरूमा यो पर्व मनाइएको हो । 

नेपाल चेपाङ सङ्घ कालिका नगर कमिटीको आयोजनामा शक्तिखोरमा वृहत् सांस्कृतिक कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले भाषा संस्कृति माथि भइराखेको प्रहारलाई रोक्न यस्ता कार्यक्रमले धेरै मदत पुग्ने बताउनुभयो । 

उहाँले विभिन्न जातजाति धर्मको अलग्गै पहिचान बोकेको यो समाजमा चेपाङ समुदायको भाषा संस्कृति जगेर्ना गर्न सरकार प्रतिबद्ध भएको बताउनुभयो । उहाँले आर्थिक रूपमा विपन्न भएका चेपाङ समुदाय उत्पादनसँग जोडिन अनुरोध गर्नुभयो । आर्य आर्जनमा सहभागी हुनेलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो आम्दानी अनुसार खर्च गर्ने संस्कार बसाल्न सकेमा आर्थिक सङ्कटबाट टाढा रहन सकिने बताउनुभयो । 

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठले विगतमा भन्दा फरक व्यवस्था आएकाले अब सधैँ अभाव र बिलौना गरेर बस्न नहुने बताउनुभयो । चेपाङ समुदायबाट उच्च शिक्षा अध्ययन गर्ने, राजनीतिक चेतना भएका, परिवर्तनमा सहभागी भएकाहरू यही समाजमा छन् । ती अगुवाहरुनै राजनीतिक नेतृत्वमा आएर समाज परिवर्तन गर्नु पर्ने बताउनुभयो । चेपाङ समुदायबाट संविधान सभा सदस्य भइसकेको प्रदेशमा मन्त्री भइसकेका छन्, उहाँले भन्नुभयो, अब स्थानीय पालिका प्रमुख भएर आफ्नो क्षमता विकास गर्न सुझाव दिनुभयो । 

कार्यक्रममा नेपाल चेपाङ सङ्घका केन्द्रीय सदस्य डिल्लीराम चेपाङले लिपिको संरक्षण गर्नु आवश्यकता भएको बताउनुभयो । विदेशी भाषा र अन्य भाषाले चेपाङको मौलिकता हराउन थालेको भन्दै चेपाङ भाषाको लिपि सुरक्षित राख्नु पर्नेमा जोड दिनुभयो । २०७२ को संविधानपछि पालिकाहरू निर्माण गर्न चेपाङ जातिको संरक्षणमा ध्यान नपुगेको बताउनुभयो । 

चितवनको कोराक, लोथर, सिद्धिलाई गाउँपालिका नै कायम राख्न माग गर्नुभयो । गाउँपालिका भएमा त्यहाँको सरकार चेपाङ जातिले नै सञ्चालन गर्ने अवसर पाउने बताउनुभयो । कालिका नगर कमिटीका अध्यक्ष कृष्णबहादुर चेपाङले स्थानीय सरकार विपन्न चेपाङ समुदायको संरक्षणमा लाग्नु पर्ने बताउनुभयो ।  

यस्तैगरी पूर्वी चितवनको चेपाङ बालबालिकालाई आवासीय शिक्षा दिइरहेको गामबेसी चेपाङ संरक्षण केन्द्र रत्ननगरले पनि ‘न्वागी’ मनाएको छ । गाउँबाट आएका चेपाङका गुरु पान्देहरुले अन्नपातमा पूजापाठ गरेपछि खाना खुवाइएको थियो । चेपाङका गुरु पान्दे अमृतलाल चेपाङले  सबै चेपाङ बस्तीहरूमा धूमधामका साथ मनाउने गरिएको बताउनुभयो। यो पर्व लोप हुने जोखिम रहेकाले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । 

चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले चेपाङ समुदायका युवा पुस्ताहरूमा आफ्नो चाडपर्व, संस्कृति बिर्सँदै गएकाले केन्द्रमा आश्रित बालबालिकाहरूलाई पर्वको जर्गेना गर्न धूमधामका साथ पान्दे बोलाएर पर्व मनाइएको बताउनुभयो । उहाँले विगतदेखि नै यसरी केन्द्रमा न्वागी मनाउने गरिएको जानकारी दिनुभयो । केन्द्रमा हाल १५० जना चेपाङ बालबालिकाहरू आवासीय रूपमा अध्ययन गरिरहेका छन् ।

साउन महिनामा बाहिरिएको भगवान् भदौ महिनामा आउने र नयाँ अन्नबालीसँग पूजापाठ गरी मात्र भोजन गर्ने परम्परा रहेको छ । न्वागीको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाई खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ। यसका लागि चेपाङ झाक्रीहरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बली चढाउने गर्दछन् ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको नेपाल चेपाङका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताउनुभयो ।

चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।