• २३ भदौ २०८१, आइतबार

घर-घरमा खानेपानीको धारा आएपछि स्थानीय खुशी

blog

खानेपानीको उद्घाटन गर्नुहुँदै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा ।

अमरराज नहर्की

तनहुँ, भदौ २३ गते । तनहुँको बन्दीपुर गाउँपालिका–६ का चार गाउँका बासिन्दालाई दूषित पानी खानुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । गाउँपाखो खानेपानी तथा सरसफाई आयोजना सम्पन्न भएपछि दूषित पानीले गर्दा गाउँमा झाडापखला फैलन समस्याको समाधान भएको हो । 

आयोजनाले घरघरै धारा जडान गरेपछि वर्षामा धमिलो पानी खाने तथा गाग्रीमा पानी बोक्नु पर्ने बाध्यता हटेपछि गाउँले खुसी भएका छन् । आयोजना सम्पन्न भएपछि सो वाका खहरे, फिर्कीडाँडा, थुमथुमे, झापर्दी गाउँका ६२ घरमा धारा जडान गरिएको छ । एक घर एक धारा जडान गरिएपछि वर्षौंदेखि काकाकुल जीवन गुजारेका स्थानीयलाई सहज भएको छ । 

आयोजनाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले हलौ उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष थापाले हरेक नेपालीलाई शुद्ध खानेपानीको पहुँच पुर्‍याउने नेपालको सरकार लक्ष्य भए अनुरुप यस वडामा खानेपानीको सुविधा पुर्‍याउन सक्दा खुसी लागेको बताउनुभयो । साथै अध्यक्ष थापाले गाउँपालिकाले यहाँको खानेपानीको समस्या समाधानको लागि पहिलो प्राथमिकतामा राखेर सिफारिस गरेकोले गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिनुभयो । 

आयोजनाका संयोजक सिद्धान्त थापा मगरले खानेपानीको धेरै दुःख भएकोले बसाईसराई गरी गाउँ रित्तिने क्रम बढ्न थालेपछि योजना पार्नको धेरै दौडधुप गर्नुपरेको बताउनुभयो। दुई महिनामै योजना सम्पन्न गरी चौबिसै घण्टा धारामा पानी आउने गरी एक घर एक धारा वितरण गरिएको बताउनुभयो । 

संयोजक थापाले भन्नुभयो, "पाँच किलोमिटर टाढा रहेको देवघाट गाउँपालिका–३ को पौवा खोलाको पानी ल्याएर दुई महिनामै योजना सम्पन्न भयाे ।" खानेपानी उद्घाटन कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर राना, बन्दीपुर गाउँपालिका ६ का वडाध्यक्ष बलबहादुर गुरुङ, नेपाल मगर संघ समन्वय समिति तनहुँका उपाध्यक्ष हर्कबहादुर थापा, खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर गुरुङ, सचिव जीतबहादुर थापा लगायतले खानेपानी मूल टाढा भएकोले बेला बेलामा बिग्रिने समस्या हुन सक्ने हुँदा मर्मत सम्भार कोष स्थापना गरी योजनालाई दिगो बनाउन सबै जना लाग्नु पर्नेमा जोड दिनुभएको थियो । 

साथै वक्ताहरु पानीको आपूर्ति सहज भएसँगै तरकारी खेती तथा पशुपालन गरी आम्दानी वृद्धि गर्नमा ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा खानेपानीको लागि मुहान उपलब्ध गराएकोमा देवघाट गाउँपालिकालाई सम्मान गरिएको थियो । छोटो समयमा नै योजना सम्पन्न गरेको भन्दै भागीरथी देवी निर्माण सेवाका साइड इन्चार्ज पदम थापा मगरलाई सम्मान गरिएको थियो । योजना ६० लाख, सङ्घ सरकारको २० लाख र स्थानीय जनश्रमदान पाँच लाख ५० हजार गरी ८५ लाख ५० हजारको लागतमा निर्माण गरिएको उद्घाटन कार्यक्रममा जानकारी दिइएको थियो ।

खहरेकी फूलीमाया गुरुङले मादीसेती नदी तथा खहरे खोलाको  धमिलो पानी वर्षायाममा खानुपर्ने बाध्यता हटेको बताउनुभयो । गुरुङले भन्नुभयो, "पानी परेको बेला खोला तथा नदी धमिलो भएको बेला नजिक खानेपानी नहुँदा त्यही धमिलो पानी खानुपर्ने बाध्यता थियो, अहिले घरमै सफा धारा आउँदा निकै खुसी लागेको छ ।"

सोही ठाउँकी दिलमाया गुरुङ गाउँमा मूलको पानी नहुँदा  दूषित पानी खानुपर्ने मात्रै नभई एक जनाको काम नै पानी बोक्नुपर्ने बाध्यता हटेको हर्षित भएको बताउनुभयो । साथै उहाँले विगतमा गाउँमा दूषित पानीले झाडापखला फैलिने गरेकोमा सफा पानी पाउँदा खुसी छाएको बताउनुभयो ।