• १० मंसिर २०८१, सोमबार

खरमुजुरको वासस्थान व्यवस्थापन

blog

खरमुजुरको वासस्थान व्यवस्थापन ।

धनगढी समाचारदाता

धनगढी, भदौ २२ गते ।  सुदूरपश्चिम प्रदेशमा दुर्लभ खरमुजुर (बेङ्गाल फ्लोरिकन) को वासस्थान व्यवस्थापन गरिएको छ । लोपोन्मुख खरमुजुरको संरक्षण गर्ने उद्देश्यले कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित विभिन्न सामुदायिक वनमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको हो । त्यसलाई संरक्षण पनि गर्ने जनाइएको छ । युएसआइडी जल, जङ्गल (बायोडाइभर्सिटी) परियोजनाको आर्थिक सहयोगमा निकुञ्ज कार्यालय र नेपाल पन्छाी संरक्षण सङ्घ (बिसिएन) ले खरमुजुरको वासस्थान व्यवस्थापन गरेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ‘कोर एरिया’ मा रहेको घाँसे मैदान र निकुञ्जबाहिरका सामुदायिक वन गरी १५० हेक्टर क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन भएको बिसिएनका फिल्ड अधिकृत हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । 

निकुञ्ज कोर एरियाको घाँसे मैदानमा ५० हेक्टरमा वासस्थान व्यवस्थापन गरिएको छ । यसै गरी बेलडाँडी गाउँपालिका–४ र ५ मा पर्ने किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पनि ५० हेक्टरमै वासस्थान व्यवस्थापन गरिएको छ । त्यस्तै बेलौरी नगरपालिका–५ मा रहेको उल्डनपुर सामुदायिक वन क्षेत्रमा २० हेक्टर, लालझाडी गाउँपालिका–३ मा रहेको सिद्धनाथ वनवाटिका सामुदायिक वनमा ३० हेक्टर क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको छ । खरमुजुरलाई आहारविहार गर्न, लुक्न सहज हुने गरी घाँस काँटछाँट गरेर वासस्थान व्यवस्थापन गरिएको पन्क्षीविद्समेत रहनुभएका डङ्गौराले बताउनुभयो । “निकुञ्जबाहिरसमेत वासस्थान व्यवस्थापन भएमा खरमुजुरको सङ्ख्या केही बढ्ने अपेक्षा छ,” उहाँले भन्नुभयो, “यसका साथै लोपोन्मुख खरमुजुरको संरक्षण र व्यवस्थापन सन्दर्भमा समुदायका मानिसलाई जानकारी हुने र उनीहरू पनि यस कार्यमा लाग्ने विश्वास गरेका छौँ ।”

२०२४ मा गरिएको गणनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरेर पाँच वटा खरमुजुर अभिलेख भएका छन् । चार वटा शुक्लाफाँटा घाँसे मैदानमा र एउटा पोथी खरमुजुर किसान मध्यवर्ती सामुदायिक वनको घाँसे मैदानमा भेटिएको थियो । पाँचमध्ये तीन भाले र दुई पोथी खरमुजुर रहेको जनाइएको छ । गत वर्ष पनि निकुञ्ज क्षेत्रमा पाँच वटा खरमुजुर अभिलेख भएका थिए । यसघि २०१४ मा निकुञ्जमा भेटिएको खरमुजुरमा ‘स्याटेलाइट ट्याग’ जडान गरेर अनुगमन गरिएको थियो । त्यो खरमुजुर निकुञ्ज क्षेत्रभन्दा करिब ५० किलोमिटर टाढा पुनर्बास नगरपालिकाको दोदा नदी क्षेत्रमा पुगेको देखिएको थियो । ‘ननब्रिडिङ सिजन’ मा खरमुजुर निकुञ्ज क्षेत्रभन्दा बाहिरसमेत पुगेको देखिएकाले निकुञ्जसहित मध्यवर्ती क्षेत्र र अन्य सामुदायिक वन क्षेत्रमा खरमुजुरको वासस्थान व्यवस्थापन गरिएको जनाइएको छ । यस कार्यका लागि निकुञ्जका कर्मचारीलाई तालिम दिइएको थियो । यसै गरी भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकावासीलाई सामुदायिक खरमुजुर संरक्षण तालिम प्रदान गरिएको छ । चार वटै पालिकाका १४० युवालाई चरा, प्रकृति र पर्यटनसम्बन्धी तालिम दिइएको छ । चरा र प्रकृति संरक्षणमा युवालाई अग्रसर गराउनका लागि उनीहरूलाई तालिम प्रदान गरिएको जनाइएको छ । उनीहरूमार्फत खरमुजुर संरक्षणमा समेत सहयोग पुग्ने फिल्ड अधिकृत डङ्गौराले विश्वास व्यक्त गर्नुभयो ।