मीना कंडेल
कावासोती, भदौ २० गते । जिल्लाको कावासोती नगरपालिका–३, मा नमुना सदरमुकाम निर्माणको काम अघि बढ्न सकेको छैन । सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण गर्ने योजनासाथ वि.स. २०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना सदरमुकामको शिलान्यास गर्नुभएको थियो ।
शिलान्यास भएको ६ वर्ष हुँदा समेत नमुना सदरमुकाम निर्माण हुने क्षेत्रमा रहेका रूख कटानको समस्याले स्थलगत रूपमा काम अघि बढ्न नसकेको सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले जनाएको छ । सदरमुकाम निर्माणका लागि यहाँ एकसय ८४ बिघा जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले नमुना सदरमुकाम निर्माणस्थलमा रूख हटाउने मापदण्डअनुसारको प्रक्रियामा अघि बढेको बताउनुभयो । आवश्यक निर्णयका लागि सबै कागजातसहित वन तथा वातावरण मन्त्रालयमा फाइल पुगेको उहाँले बताउनुभयो ।
मन्त्रालयको निर्णयपछि रूख कटान अघि बढ्ने उहाँले बताउनुभयो । नमुना सदरमुकाम निर्माणस्थलमा ठुला ५ सय ५२ र साना ९० गरी ६ सय ४२ रूख रहेका छन् । सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर द्रोण कटवालले असोजबाट स्थलगत रूपमा नमुना सदरमुकाम निर्माणको काम अघि बढाउने तयारी गरेको बताउनुभयो ।
निर्माण प्रक्रिया अघि बढाउन थाल्दा समेत यहाँ रहेका रूख कटानको आदेश भने अझै आइ नसकेको इन्जिनियर कटवालले बताउनुभयो । उहाँले भन्नुभयो “हाल तीन वटा कार्यालय भवन निर्माण सुरु हुने साथै यस वर्ष थप अन्य भवन निर्माणको समेत प्रक्रिया अघि बढ्नेछ । वन तथा वातावरण मन्त्रालयले जति छिटो निर्णय गरिदिन्छ उति छिटो काम अघि बढाउन सहज हुनेछ ।”
पहिलो चरणमा हाल विनियोजन गरिएको ८० करोडको लागतमा जिल्ला प्रशासन कार्यालयसहित अन्य दुईवटा भवन निर्माणको काम अघि बढाउन थालिएको छ । यस कार्यका लागि चौधरी कन्स्ट्रक्सन रौतहट छनौट भएको छ ।
राष्ट्रिय योजना आयोगका सहसचिव मनमाया भट्टराईले जिल्लाकै गौरवको आयोजनाका रूपमा रहेको नमुना सदरमुकाम निर्माण गर्ने कार्यलाई छिटो सुरु गराउन सम्बन्धित सरोकारवालाले आवश्यक पहल गरिदिनुपर्ने बताउनुभयो । जिल्लाका सरकारी कार्यालयको भवनहरू नहुँदा समस्या रहेको बताउँदै नमुना सदरमुकाम निर्माणको काम थाल्नुपर्ने र आफ्नो तर्फबाट आवश्यक समन्वय गर्ने बताउनुभयो ।
नमुना सदरमुकाम निर्माणको गुरुयोजना अनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय, पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिमेट स्टेडियम, कर्मचारीका लागि आवश गृह, अतिथि गृह, सभाहल, पुस्तकालय, खाजा घर लगायतका संरचना निर्माण हुनेछन् ।
प्रारम्भिक गुरुयोजनाअनुसार आयोजनाको कुल लागत १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ । एकसय ८४ बिघा क्षेत्रमध्ये ४१ प्रतिशत भू–भागमा मात्र भौतिक पूर्वाधार निर्माण हुनेछन् । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनअनुसार अन्य भूभाग कङ्क्रिटविहीन राखिने छ ।
आयोजना निर्माणस्थलमा हरियाली क्षेत्र समेत राखिने छ । गण्डकी प्रदेशका एघार जिल्ला परिदृश्य गर्ने एघार खण्डको एक लाख १८ हजार ९१९ वर्ग मिटर क्षेत्रफलमा हरियाली क्षेत्र निर्माण गरिनेछ ।