काठमाडौँ, भदौ २० गते । कागेश्वरी मनोहरा नगरपालिका र जापानको ओत्सुकी शहरबिच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रमबिच कागेश्वरी मनोहरा नगरपालिका नगरप्रमुख उपेन्द्र कार्की र जापानको ओत्सुकी शहरको प्रान्तीय सभाका सभापति उजुकी मासाइतोले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतापत्रमा हस्ताक्षर पश्चात् कुरा गर्नुहुँदै नगरप्रमुख कार्कीले जापानको ओत्सुकी शहरसँग कला, संस्कृति, खेलकुद, पर्यटन र कृषिको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने समझदारी भएको बताउनुभयो । उहाँले जापानको ओत्सुकी शहर र कागेश्वरी मनोहरा नगरपालिकाबिच आपसी सहयोग आदानप्रदान र प्रवर्द्धनका लागि फ्रेण्डसिप सिटी एक्सचेन्जका लागि दुई शहर बिच भगिनी सम्बन्ध कायम गरिएको बताउनुभयो ।
यसैगरी, प्रमुख कार्कीले दुई शहरका बिचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गरिने बताउनुभयो । उहाँले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटनलगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान पनि हुने उल्लेख गर्नुभयो ।
नेपालको तुलनामा जापान पूर्वाधार र प्रविधिको विकासमा निकै अघि रहेकाले त्यहाँको असल अभ्यासहरुलाई नगरपालिकाले अनुसरण गर्ने बताउनुभयो ।
सम्झौतापत्रमा हस्ताक्षरपश्चात् जापानका उच्च अधिकारीहरुले पनि नेपालको शहरसँग भगिनी सम्बन्ध स्थापित गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।