• २ माघ २०८१, बुधबार

नागरिकलाई दुःख नहुने गरी काम गर्न मधेश प्रदेशका गृहमन्त्रीको निर्देशन

blog

धनुषाको जटही सिमानाकाको निरीक्षण गर्दै मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखी सहितका सुरक्षा निकायका प्रमुख। तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, भदौ १८ गते। मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नेपाल र भारतको सीमा नाका भएर आउजाउ गर्ने आमनागरिकलाई कुनै प्रकारको दुःख कष्ट नहुने गरी कामकाज गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ।

धनुषा जिल्लाको जटही नाकाको मंगलबार निरीक्षण गर्न पुगेका मन्त्री लेखीले यस प्रकारको निर्देशन दिनुभएको हो। उहाँले सिमानाकामा प्रहरीले चेकजाँचको नाउँमा तस्कर भन्दा बढी आमनागरिकलाई दुःख दिन्छ भने जनगुनासो बेलाबेलामा आइराखेकोले नागरिकलाई कुनै प्रकारको दुःख कष्ट नहुने किसिमले प्रतिबद्ध भएर प्रहरीले काम गर्नुपर्ने बताउनुभयो। 

उहाँले निरीक्षणको क्रममा आफ्नो भवन नभएर सशस्त्र प्रहरी जवानहरूलाई समेत बास बस्न र कामकाज गर्नमा समस्या देखिएकोले भवन निमार्णका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

अनुगमनका क्रममा मन्त्री लेखीलाई धनुषाका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले नाकामा हुने चेक जाँच र आवतजावत हुने सवारी साधनबाट उठ्ने राजश्वको साथसाथै नेपाल भारतको सिमास्तम्भहरुको बारेमा जानकारी गराउनु भएको थियो। अनुगमन टोलीमा गृह मन्त्रालयका सचिव वीरेन्द्र यादव, सशस्त्र प्रहरीका डिआजी काली दास धवजी, अनुसन्धानका डिआइजी माधव तिमिल्सिना सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीको उपस्थिति रहेको थियो।