• ११ मंसिर २०८१, मङ्गलबार

सामाजिक सेवामा अभ्यस्त फाउण्डेसन

blog

सहयोग सामग्री वितरण गर्दै फाउण्डेसनका निता राउत । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरिकोट, भदौ १८ गते । समाजसेवामा अभ्यस्त रहेको निता राउत फाउण्डेसन समाज रूपान्तरणमा सक्रिय भूमिका खेल्दैआएको स्थानीयको भनाइ छ ।

दोलखा घर भए पनि काठमाडौँलाई कर्मथलो बनाउनुभएकी निता राउतले फाउण्डेसन स्थापना गरी वृद्धवृद्धा, बालबालिका र विपन्न वर्गका समुदायलाई सहयोग गरी उदाहरणीय बन्नुभएको छ ।

असहायका निम्ति सहारा बनिरहनुभएका राउतले समाजसेवाले आत्मसन्तुष्टि दिइरहेको बताउनुभयो । ‘समाजसेवा कसैलाई देखाउनका लागि होइन, विशुद्ध सेवाको भावना राखेर गर्न सक्नुपर्छ, त्यो नै असली समाजसेवा हो’ उहाँले भन्नुभयो । 

निताले वि.सं २०७४ सालमा फाउण्डेसन स्थापना गरी संस्थागत सहयोग अभियान अघि बढाएको बताउनुभयो । फाउन्डेसन स्थापना गर्नुअघि नै उहाँ सामाजिक सेवामा तल्लीन रहनुभएको थियो ।  

२०७२ सालको महाभूकम्पका बेला पनि दोलखामा महिलाका लागि स्यानेटरी प्याड, अत्यावश्यक औषधी र विभिन्न संस्थासँग मिलेर खाद्यान्न सामग्री वितरण गरेको स्थानीयको भनाइ छ । आर्थिक समस्याका कारण स्वास्थ्य उपचार गर्न नसकेका बिरामीदेखि चुहिने छानोमा जीवन बिताउने परिवारको सहायतामा उहाँ सक्रिय रहँदै आउनुभएको छ । 

दुर्गम जिल्लाका आर्थिक रूपले विपन्न विद्यार्थीका लागि स्कुल ब्याग, पोसाक र स्टेशनरी सामानहरू उहाँले सहयोग गर्दै आउनुभएको छ । राउतले कोभिड १९ सङ्क्रमणका बेला पनि सहयोग अभियान चलाउनुभएको थियो ।


फाउन्डेसन मुसहर बस्तीमा न्यानो कपडा अभियान, तराईका बाढी प्रभावितदेखि जोखिममा रहेका बालिकाको अभिभावकत्व ग्रहण, दुर्गम क्षेत्रका विद्यालयमा झोला, पोसाक वितरण, एचआइभी सङ्क्रमित बालबालिका, दृष्टिविहीन र अपाङ्गता भएको बालबालिकालाई सहयोग गर्दैआएको छ ।

उहाँले भन्नुभयो, ‘आफूले सक्ने ठाउँमा आफैले सहयोग गर्छु, कतिपय ठाउँमा एक्लै सम्भव हुदैंन, त्यो बेला अन्य मनकारी व्यक्तित्व वा अभियानमार्फत सहयोग गर्ने गरेकी छु ।’ आफ्नो मासिक पारिश्रमिकको २० प्रतिशत रकम फाउन्डेसन सहयोग कोषमा जम्मा गर्दै आएको पनि उहाँको भनाइ छ ।

सामाजिक कार्य बापत मलेसियामा आयोजना भएको यूथ इन्सपिरेशन सोसल वर्कर एक्सीलेन्सी अवार्ड, जिल्ला स्तरीय युवा प्रतिभा तथा उद्यमी खोजी र प्रोत्साहन कार्यक्रम अन्तर्गत समाजसेवा तथा स्वयंसेवामा उहाँ सम्मानित भइसक्नुभएको छ ।