• ११ मंसिर २०८१, मङ्गलबार

आत्महत्याका घटना बढ्दै, न्यूनीकरण अभियान प्रभावहीन

blog

रेखीराम राना

तानसेन, भदौ १८ गते । पाल्पामा आत्महत्याका घटनामा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत आव २०८०-०८१ मा आत्महत्या गर्ने बढेका हुन्। 

घरायासी समस्या, आवेग, डिप्रेसन, दीर्घरोग, प्रेममा वियोग लगायतका कारणले आत्महत्या बढेको प्रहरीले जनाएको छ । अघिल्लो आव २०७९-०८० मा जिल्लाभर ६७ जनाले आत्महत्या गरेकामा गत आव २०८०-०८१ मा ८८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अघिल्लो आवको तुलनामा २१ जना बढीले आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । तुलनात्मक रुपमा ४० वर्ष माथिका मानिसले बढी आत्महत्या गर्ने गरेको उहाँले बताउनुभयो । 

गत आवमा ४० वर्षभन्दा माथिका ४८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जबकी अघिल्लो आवमा यो उमेर समूहका ४० जनाले मात्र आत्महत्या गरेका थिए। ४० वर्षभन्दामाथि आत्महत्या गर्ने मानिस दीर्घरोगी, पारिवारिक समस्यामा रहेका, डिप्रेसनका औषधी सेवन गरेका रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय गरिवीका कारण पारिवारिक समस्यामा परेका मानिसले पनि आत्महत्याको बाटो रोजेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्था आउँदा आत्महत्या गरेको अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो । 

यस्तै पछिल्लो समय आत्महत्या गर्ने किशोर–किशोरी पनि बढेका छ । गत आव २०८०-०८१ मा सात जना बालबालिकासहित किशोर–किशोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो सङ्ख्या अघिल्लो आवको तुलनामा चारले बढी हो । 

मानिस विभिन्न समस्यामा पर्दा समयमै उचित परामर्शको अभावमा पनि आत्महत्या बढेको छ । समस्यामा परेको बेलामा उचित सल्लाह र साथ नपाएपछि आत्महत्या गर्ने गरेको प्रहरीको दाबी छ । एक्लै बस्ने प्रचलन, एकको पीरमर्का अर्कालाई नभन्ने प्रवृत्ति बढेकाले पनि आत्महत्याको दर बढेको प्रहरीले जनाएको छ । 

न्यूनीकरण अभियान प्रभावहीन

आत्महत्या न्यूनीकरण गर्न प्रहरी र केही सङ्घसंस्थाले अभियान चलाएका छन् । प्रहरीले मातहतका सबै निकायलाई आत्महत्या न्यूनीकरणका अभियान निरन्तर चलाउन निर्देशन गरेको छ । तर उक्त अभियानले खासै प्रभावकारी हुन सकेको छैन । आत्महत्या गर्न सक्ने मानिसको पहुँचसम्म अभियान पुग्न नसकेको सरोकारवाला निकायले जनाएकाे छ ।