• १० मंसिर २०८१, सोमबार

संस्कृति संरक्षणमा जुर्मुराए कठरिया युवा

blog

संस्कृतिक झल्काउँदै कठरिया युवाहरु ।

अविनाश चौधरी

धनगढी, भदौ १८ गते । लोप भइरहेको कला, संस्कृति, भेषभूषाको संरक्षणमा कठरिया समुदायको युवा जुर्मुराएका छन् । नेपाल र छिमेकी राष्ट्र भारतका कठरिया समुदायको युवा लोप भइरहेको आफ्नो मौलिक संस्कृति, भेषभूषा संरक्षणमा जुटेका हुन् ।

दुवै देशका युवाले मिलेर कला, संस्कृति झल्काउने म्युजिक भिडियो निर्माण गरिरहेका छन् । नेपालभन्दा पनि खासगरी भारतमा आफ्नो समुदायको जनसङ्ख्या कम रहेका कारण नेपालको सहयोगमा भारतवासी आफूहरु कला, संस्कृति, भेषभूषाको संरक्षणमा जुटेको भारतको उत्तर प्रदेशस्थित लखिमपुरखिरी बेलापरसुवाका लल्लन कठरियाले बताउनुभयो । 

“नेपालभन्दा भारतमा हामी झन थोरै रहेका कारण नेपालको सहयोगमा आफ्नो संस्कृति, भेषभूषा संरक्षणको प्रयास थालेका छौं” उहाँले भन्नुभयो । आफ्नो मौलिक पहिचान बचाउन परोसी देश नेपालको सहयोग लिएको कठरियाले बताउनुभयो । 

भारतमा लखिमपुरखिरीको बेलापरसुवा, मौंरा, मुरमुच्नी, ढुस्किया र गोलबोझी गरी सीमावर्ती पाँच गाउँमा यो समुदायको बसोबास सीमित छ । तर नेपालमा कैलाली, बर्दिया लगायतका जिल्लामा भारतभन्दा बढी कठरिया थारुको बसोबास छ । 

नेपालको सहयोग लिएर भारतका कठरियाले पहिलो पटक आफ्नो देशमा कठरिया भाषाको म्युजिक भिडियो छायाङ्कन गरेका छन् । नेपालका सुवेश कठरियाले लेखेको ‘प्रेमके भोगी’ गीतमा म्युजिक भिडियो बनाइ रहेको बेलापरसुवाका सर्वेश कठरियाले जानकारी दिनुभयो । सो गीतमा नेपालकै गायक गायिका गणेश चौधरी र समीक्षा चौधरीको स्वर रहेको छ । 

लल्लन कठरिया निर्माता रहेको म्युजिक भिडियोको निर्देशन सुधराम दहितले गर्नुभएको छ । म्युजिक भिडियोमा नेपालकै मोडलद्वय नरेश चौधरी र मधु चौधरीले अभिनय गरेका छन् ।