• १२ असोज २०८१, शनिबार

आयआर्जनबाट ग्रामीण महिलाको परिवार व्यवस्थित

blog

टीकापुर समाचारदाता

टीकापुर, भदौ १८ गते । परम्परागत खेतीपाती र घरको काममा मात्रै सीमित हुने ग्रामीण क्षेत्रका महिलाले व्यवसाय गरेर आयआर्जन गर्न थालेका छन् । महिलाले घरमै बसेर कमाइ गर्न थालेपछि आर्थिक र परिवार दुवै व्यवस्थित हुन थालेका छन् । 

टीकापुर नगरपालिका–६, लक्षिनापुरकी रामकृष्णी चौधरी ठेलागाडामा फलफूल बेच्नुहुन्छ । घरनजिकै फलफूल बेचेर भएको आम्दानीबाट १२ कक्षा पढ्दै गरेकी छोरीको पढाइखर्च र घरखर्च चलेको छ । जमिनका नाममा घरबास मात्रै भएकाले उहाँले परिवारको खानाखर्च र छोरीको पढाइखर्च जुटाउनु पर्छ । “दैनिक एक हजारदेखि सिजनमा १० हजार रुपियाँसम्मको बिक्री हुने भएकाले परिवारको खर्च चलेको छ,” रामकृष्णी भन्नुहुन्छ, “मैले छोरीको पढाइ, घरखर्च कमाएर घर कुर्ने भएपछि श्रीमान् कहिले भारत त कहिले गाउँमै फर्केर मजदुरी गर्नुहुन्छ । अहिले भारतको लद्दाखमा हुनुहुन्छ । बेला बेला आउने श्रीमान्को कमाइले भइपरी आउने अन्य खर्चको गर्जो टार्ने गरेका छौँ ।” रामकृष्णीले दैनिक तीन सय रुपियाँ बचत पनि गर्नुहुन्छ । गाउँमा पनि उपभोक्ता पाइने सम्भावना देखेपछि भजनी नगरपालिका, जवलपुरकी सलिना चौधरीले घरनजिकै ब्युटी पार्लर खोल्नुभएको छ । गाउँ भए पनि सलिनाको पसलमा दैनिक १० जनासम्म सेवाग्राही आउने गरेका छन् । श्रीमान् विद्यालय शिक्षक भए पनि थोरै तलब आउने र त्यो पनि समयमा नपाउँदा घर चलाउनै समस्या हुन्थ्यो । अहिले तलब जहिले आए पनि बचत हुन थालेको छ । सलिना भन्नुहुन्छ, “दैनिक दुई सय रुपियाँ बचत छ । छोराको पढाइखर्च, घरखर्च सबै व्यवसायबाटै चलेको छ ।”

टीकापुर नगरपालिका–९, बौनियाकी जानकी चौधरी घरमै व्यस्त हुनुहुन्छ । कक्षा ७ सम्मको पढाइ पूरा गरेकी जानकीले घरमै सिलाइ व्यवसाय गरिरहनुभएको छ । सिलाइमा रुचि भएकाले केही समय निजी पसलमा सिलाइ सिक्नुभएकी जानकीलाई एउटा संस्थाले तीन महिनाको व्यावसायिक तालिम दिएपछि व्यवसाय गर्ने आँट मिलेको हो । जानकी भन्नुहुन्छ, “तालिमपछि लेबल एकको प्रमाणपत्र पाएँ । एउटा सिलाइ मेसिन, एउटा इन्टरलक मेसिन पनि मिल्यो । घर पसल जस्तै छ, दिनमा पाँच सयदेखि सात सय रुपियाँसम्मको काम गरिरहेकी छु । पढिरहेका दुई छोरालाई हेरिरहेकी छु ।” जानकी घरमै बसी व्यावसायिक भएपछि उहाँका श्रीमान् ज्यालामजदुरी गर्न बाहिर जाने गर्नुभएको छ ।

परिवारको आवश्यकता बढेर एक्लैको कमाइले पूर्ति हुँदैन । महिला घरैमा आर्जन गर्ने भएपछि पुरुषलाई ढुक्कले कमाउन टाढा टाढा जान मिलेको छ । टीकापुर नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण उपशाखाका प्रमुख सङ्गीता शाह भन्नुहुन्छ, “महिला आयआर्जनमा लाग्दा कमाइका योगदान, बालबालिका, ज्येष्ठ नागरिकको स्याहारलगायत परिवार व्यवस्थापनमा सहयोग पुगेको छ ।” शाहका अनुसार पछिल्लो समय स्थानीय तह र विभिन्न सङ्घ संस्थाले महिलालाई मागमा आधारित तालिम दिन थालेपछि महिलाहरू सिप सिकेर व्यावसायिक भई आत्मनिर्भर बन्ने क्रम बढेको छ । कमाइ आकर्षक नभए पनि यसले पारिवारिक खुसी बढाएको छ ।