• १७ भदौ २०८१, सोमबार

भ्रष्टाचार गरेको प्रमाणित भएकाे आधा घण्टाभित्रै पदमुक्त गर्छु : अध्यक्ष दाहाल

blog

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहाल ।

काठमाडाैं, भदाै १७ गते । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहालले बाेर्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिनुभएको छ ।

भ्रष्टाचार गरेको महसुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्र गेटबाट बाहिर निकाल्ने उहाँले बताउनुभयो ।

सोमवार चलचित्र विकास बोर्डको नेतृत्व सम्हालेपछि कुरा गर्दै उहाँले आफूले गरेको सो निर्णयमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले भने पनि नमान्ने बताउनुभयो । उहाँले आफू काम गर्नका लागि चलचित्र विकास बोर्डमा आएकाले अन्तरवार्तामा समय खेर नफाल्ने र सय दिनपछि मात्रै अन्तरवार्ता दिने बताउनुभयो । उहाँले सात दिनभित्र आफ्ना कार्ययोजना प्रस्तुत गर्ने पनि बताउनुभयो । 

कार्यक्रममा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाललगायतले सबै कुरा बुझेको व्यक्ति चलचित्र विकास बोर्डको नेतृत्वमा आएकाले चलचित्र क्षेत्रले परिवर्तनको महसुस गर्ने विश्वास व्यक्त गर्नुभयो । कलाकार दीपकराज गिरीले चलचित्र क्षेत्रमा बुझाइको हिसाव्बले सही व्यक्ति नेतृत्वमा आएको र सही स्थानमा आएको बताउनुभयो । कलाकार केदार घिमिरेले सबै सीप र क्षमता भएको व्यक्ति नेतृत्वमा आउँदा चलचित्र क्षेत्रमा केही नयाँ परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । चलचित्र क्षेत्रमा केही परिवर्तन आउनुपर्ने बताउनुभयो । 

यसैगरी, कलाकार जितु नेपालले उपस्थित अन्य कलाकारले अध्यक्ष दाहाललाई सफल कार्यकालको शुभकामना दिँदै चलचित्र क्षेत्रले नयाँ परिवर्तन महसुस हुनेगरी काम गर्न सुझाव दिनुभयाे ।