• १६ भदौ २०८१, आइतबार

महामन्त्री थापाको प्रस्ताव पारित : कांग्रेस एक्लै निर्वाचन लड्ने

blog

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महत

काठमाडौं, भदौ १६ गते । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाइ एक्लै निर्वाचन जित्नसक्ने अवस्थामा पुर्‍याउने  निर्णय गरेको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीलाई बलियो बनाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले राख्नुभएको, नीतिगत, सांगठनिक र समयसामयिक प्रस्ताव उपर छलफल भएको बताउनु भयो । 

उहाँले महामन्त्री थापाले निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्ताव छलफल भई सोही दिशामा अघि बढ्ने निर्णय भएको बताउनु भयो । प्रवक्ता डा. महतले काँग्रेसको संगठनलाई चुस्त, दुरुस्त रुपमा गाउँगाउँमा पुर्‍याउने, संगठनको अभियानलाई अगाडि बढाउने सम्बन्धमा निर्णय भएको बताउनु भयो । सक्रिय सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता दिने बारेमा पनि निर्णय भएको छ । 

त्यस्तै, चुनावअघिको गठबन्धनबारे पार्टीलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने निर्णय भएको बताउनुभयो ।  प्रवक्ता महतले भन्नुभयो, ‘‘गठबन्धनका सम्बन्धमा पनि जुन प्रस्ताव महामन्त्रीको प्रस्तावमा आएको थियो । अहिलेको परिवेशमा सबै कुरालाई मध्यनजर गरी पार्टीलाई नै केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने र पार्टी संगठनलाई बलियो बनाएर एक्लै जित्नसक्ने परिस्थिति निर्माण गर्ने भन्नेतिर नै निर्णय केन्द्रित भएको छ ।’’

उहाँले महाअधिवेशनका सन्दर्भमा पार्टीको विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्ने निर्णय भएको बताउनु भयो । 

महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमा उल्लिखित एग्जिट पोलिसीको सम्बन्धमा छलफल गर्दा निर्णय गर्न केन्द्रीय समितिले आवश्यक नठानेको र संविधानसँग पनि जोडिने भएकाले संविधान संशोधनका क्रममा छलफल अघि बढाउने निर्णय भएको बताउनु भयो । 

बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०८१ असार १७ गते भएको सात वुँदे सहमति राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्ने उद्देश्य प्राप्तिका लागि हो भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ र उक्त सहमतिलाई कार्यान्वयन गर्न नेपाली कांग्रेसको यो बैठक पुनः दृढता व्यक्त गर्दछ ।’’ 

यसैगरी, विधान संशोधन मस्यौदा समिति गठन गर्ने  १०० दिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सो अभियान २०८१ असोज १ गतेदेखि पुस १० गतेसम्म सञ्चालन हुने छ । 

१४ बुँदामा सरकारको ध्यानाकर्षण 

कांग्रेसले १४ बुँदामा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । ती निर्णय यी हुन् :

१. बढ्दो हवाई तथा सडक दुर्घटना न्यूनीकरण गर्न प्रभावकारी प्राविधिक, प्रशासनिक एवं व्यावहारिक सुधारका लागि आवश्यक कानुनी बन्दोबस्त गर्न सरकारलाई आग्रह गर्दछ ।

२. सार्वजनिक सेवाको क्षेत्रमा हुने ढिलासुस्ती, बेथिति र विकृतिको अन्त्य गर्दै सेवाग्राहीमा सकारात्मक अनुभूति हुन सक्ने गरी सर्वसुलभ सेवा प्रदान गर्ने । 

३. दुग्ध विकास संस्थानले दुध उपभोक्तालाई सहज ढंगबाट बजारमा दुध उपलब्ध गराउन किसानहरुबाट दुध संकलन गर्ने र उपभोक्ता बीच पुराउने दायित्व हो । तर किसानहरुबाट सस्तो मूल्यमा उधारो खरीद गर्ने र महँगो मूल्यमा नगदमा बिक्री गर्ने गर्दासमेत किसानलाई दिनु पर्ने दूधको मूल्य भुक्तानी विलम्व र अनिश्चित हुनु निश्चय नै गम्भीर र दुःखलाग्दो विषय हो । यसबाट आम दुग्ध किसानलाई परिरहेको पीरमर्कालाई हृदयंगम गर्दै उनीहरुलाई अविलम्व भुक्तानी दिन नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ । 

४.नागरिकको स्वास्थ्य उपचारलाई सहज र सुलभ बनाउन प्रारम्भ गरिएको स्वास्थ बिमाको क्षेत्रमा कतिपय अप्ठ्यारा देखिएका छन् । विमित नागरिकले बिमाकै आधारमा उपचार गर्न नपाएको तथा असहज र झन्झटिलो भएको गुनासो सुनिएको छ । विमितको अधिकार सुनिश्चित गर्दै यस क्षेत्रमा देखिएको सबै जटिलताहरुलाई हटाई सबै नागरिकलाई स्वास्थ्य बिमाप्रति आकर्षित गर्न, स्वास्थ्य बिमालाई एकद्वार प्रणाली लागू गरी बिमाको रकम बढाई रु. ५ लाख कायम गर्न सरकारसँग माग गर्दछ । 

५.चाडबाडलाई लछित गरी कालाबाजारी, मिसावटखोर र बिचौलियाबाट आम उपभोक्ता ठगिने गरेकोले संघ, प्रदेश र स्थानीय तहबाट सघन र प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गर्दछ । साथै, चाडबाडको लागि अत्यावश्यक बस्तुको रूपमा रहेको चामल, दाल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरूको कृतिम अभाव सृजना हुन सक्ने अवस्थालाई मध्येनजर गरी बजारको माग बमोजिम उक्त वस्तुहरूको समयमै आपूर्ति व्यवस्था सहज गरी बजार नियमनको प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ ।

६. अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीनहरुको समस्या समाधान गर्न अघिल्लो आयोगले गर्दै आएको कार्यलाई निरन्तरता दिने गरि कानूनीलगायतका आवश्यक अन्य प्रभावकारी कार्य गर्न सरकारको ध्यानार्षण गर्दछ । 

७. जनभावना अनुसार संघीयतालाई सुदृढ र प्रभावकारी बनाउँदै जनताका अधिकारसँग सम्बन्धित प्रकृयामा रहेका विधेयकहरू अविलम्ब अघि बढाइयोस् । 

८. संविधानसभाबाट बनेको संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हकहरु कार्यान्वयनका लागि निश्चित समय अवधि भित्र बन्नु पर्ने कानूनहरु अझै पनि बन्न नसक्दा उनीहरुको हक कार्यान्वयन हुन सकेको छैन । तसर्थ, मौलिक हकसँग सम्बन्धित बन्नु पर्ने आवश्यक कानूनहरु यथाशीघ्र बनाउन सरकारसँग माग गर्दछ । 

९. सहकारी सञ्चालकबाट ठगिएका बचतकर्ताको बचत सुरक्षित गर्दै बचतकर्तालाई न्याय दिलाउन र सञ्चालकको लगानी असुल गराउने प्रभावकारी नीति लिन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पटक–पटक सरकारको ध्यानाकर्षण गराइसकेकोले यस विषयमा कुनै विलम्व नगरी प्रकृयामा रहेका सबै मुद्दाहरु चाडै टुङ्गो लगाउन र दोषी देखिएककालाई यथाशीघ्र कानूनी दायरामा ल्याई समस्याको दीर्घकालिन समाधान गर्न आवश्यक रणनीतिक कदम चाल्न समेत सरकारसँग जोडदार माग गर्दछ । 

१०. अन्तर्राष्ट्रिय मैदानमा हाम्रा खेलाडीहरू राम्रोसँग प्रदर्शन गरिरहेका छन् तर सुविधा सम्पन्न रंगशाला नभएको र खेलाडीलाई उचित सेवा, सुविधा नभएको गुनासो रहेको छ । सुविधा सम्पन्न रंगशाला निर्माण, विस्तार तथा उचित सेवा, सुविधा दिई खेलाडीहरूलाई आकर्षित र प्रोत्साहित गरी खेलकुद क्षेत्रको विकासमा सरकारले अविलम्व उपयुक्त कदम चालोस् भन्ने यो बैठक माग गर्दछ । 

११. यस वर्ष प्रकाशित एसइई र कक्षा १२ को परिक्षाफलमा अधिकांश विद्यार्थी अनुत्तिर्ण भएको परिस्थितिलाई नेपाली कांग्रेसले गम्भीर चिन्ताको रूपमा लिएको छ । राष्ट्रको सर्वाङ्गीण विकासका लागि किशोर किशोरीको शिक्षा र रोजगारीमा विशेष ध्यान दिनु पर्ने कुरामा हाम्रो अटुट विश्वास छ । बिग्रदो शैक्षिक अवस्थालाई सुधार गरी स्वदेशमै सर्वसुलभ र गुणस्तरीय शिक्षा तथा रोजगारीका अवसर निर्माण गर्न नेपाली कांग्रेसले विषय विज्ञ एवं सरोकारवालाहरुको परामर्शबाट गरी विद्यालयदेखि विश्वविद्यालयसम्मको समयसापेक्ष ‘शिक्षा नीति’ निर्माण गर्नेछ । विद्यालय शिक्षा पूर्ण रुपमा निःशुल्क बनाउने र वर्तमान शिक्षा क्षेत्रमा देखिएका तमाम समस्या समाधानका लागि उचित कदम चाल्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गर्दछ । 

१२. यस वर्ष अति भारी वर्षाका कारण बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक विपदमा परी सयौंको संख्यामा नागरिकले ज्यान गुमाउनु परेको, हजारौंको संख्यामा विस्थापित हुनु परेको, खेती योग्य जमीन, पशु चौपाया लगायत भौतिक सम्पत्ति तथा  देशभरको सडक सञ्जालमा पुग्न गएको क्षतिबाट उत्पन्न परिस्थितिले नागरिकको जीवन कष्टकर भएको विदितै छ । सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक सहानुभूति प्रकट गर्दछ । पीडित नागरिकको जीवन सहज बनाउनका लागि सरकारले उचित क्षतिपूर्ति र पुनर्वासको व्यवस्था सहित उपयुक्त कदम चाल्नका लागि नेपाली कांग्रेस जोडदार माग गर्दछ ।

१३. हरेक वर्ष नेपाली किसानहरूले भोग्नुपरेको मलको अभाव अन्त्य गर्न दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्न यो बैठक सरकारसँग माग गर्दछ ।

१४. नेपालको इतिहासमा पारा ओलम्पिक खेलमा पहिलो पटक पदक विजेता पलेसा गोर्वधनले राष्ट्रको गौरव र शान बढाउनु भएकाले आजको बैठक उहाँलाई विशेष बधाइ ज्ञापन गर्दै उच्च सम्मान गर्ने निर्णय गर्दछ । 

यो पनि पढ्नुहोस