• १६ भदौ २०८१, आइतबार

मगर समुदायद्वारा ५८ वर्षदेखि लाखेनाच प्रदर्शन

blog

लाखेनाच प्रदर्शन गर्दै निस्दी–५ बेलौजीका स्थानीयहरु । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), भदौ १५ गते । 
लाखेनाच सामान्यतया नेवार समुदायको बसोबास रहेको स्थानमा नेवार समुदायले प्रदर्शन गर्दछ भन्ने हाम्रो बुझाइ छ । पाल्पाको एक गाउँमा ५८ वर्ष अघिदेखि मगर समुदायले निरन्तर लाखेनाच प्रदर्शन गर्दै आएका छन् ।

३६ घर मगर समुदायको बस्ती रहेको निस्दी गाउँपालिका–५, बेलौजीमा मगर समुदायले नेवारी संस्कृतिमा आधारित लाखेनाच प्रदर्शन गर्दै आएका हुन् । वि.सं.२०२३ भन्दा अघि हुम बहादुर सुनारी र स्व. लालबहादुर बयम्बुले गाउँमा लाखेनाचको सुरुवात गर्नुभएको थियो । त्यस पश्चात् सुनारीको नेतृत्वमा हालसम्म पनि लाखेनाच निरन्तर प्रदर्शन गरिँदै आएको छ । उहाँहरूले हालको पूर्वखोला १ सिलुवा माझकोटस्थित मितको गाउँमा लाखेनाच हेर्न जाँदा रमाइलो लागेपछि गाउँमै लाखेनाच सुरु गर्नुभएको थियो । त्यस पश्चात् हरेक वर्ष लाखेनाच निकालिँदै आएको ७७ वर्षीय सुनारीले जानकारी दिनुभयो ।

गाउँमा हरेक वर्ष नागपञ्चमीको अघिल्लो दिन साँझ विधिपूर्वक पूजासहित लाखेनाचको आरम्भ गरी पञ्चमी श्राद्धसम्म प्रदर्शन गर्ने गरिन्छ । ‘म र साथी लालबहादुर बयम्बु लाखेनाच हेरेर आएपछि नाच्न साह्रै रहर लाग्यो । पहिलो वर्ष मुकुन्डो बनाएर आफ्नै सुरुमा नचायौँ ।’’ तत्कालीन समयको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘‘ढोलकी हामीसँगै थियो । अर्को वर्ष सिलुवाको मित विष्णु श्रेष्ठको टोलीलाई बोलाएर मुकुन्डो बनाउन, लाखे सिगार्न, बाजा सुरुमा बजाउन, नाच्न र पूजाको विधि सिके पछि बर्सेनि नचाउँदै आएका छौँ ।’’

रहरै रहरमा सुरु गरिएको लाखेनाचमा नयाँ पुस्ताले पनि साथ दिँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘खै पछि अरू नाच रहला नरहला तर लाखेनाच भने रहिरन्छ जस्तो लाग्छ । लाखे र जोगिया बनेर नाच्न, ढोलकी र झ्याली बजाउन सबैले रहर गर्छन् ।’’ स्थानीय युवा यमबहादुर सारुले जनैपूर्णिमाको दिन गाउँको देउरालीमा प्रदर्शन गर्ने र त्यस पश्चात् अन्य गाउँमा समेत लाखे नाच प्रदर्शन गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विगतमा देउराली डाँडामा लाखे हेर्न आउनेको भिड लाग्थ्यो । अन्य स्थानमा पनि प्रदर्शन गर्न जान्थ्यौँ । पछिल्लो समयमा केही कम भएको छ । नागपञ्चमीको दिन गाउँमा, जनैपूर्णिमाको दिन देउराली र तीजको दिन ढुङ्गानावेशीमा लाखेनाच देखाउँदै आएका छौँ ।’’

सुनारीको नेतृत्वमा नमुना गाउँ बेलौजीमा मगरी संस्कृतिमा आधारित सोरठी, घाटु, कौरा, सालैजो नाच अझै पनि कायम नै छ । जनचेतना युवा क्लबका अध्यक्ष तिलक सारुले लाखे लगायत अन्य संस्कृति संरक्षणका लागि गाउँमा संस्कृति जगेर्ना समूह गठन भएको जानकारी दिनुभयो । समूहमार्फत नै लाखेनाच तथा अन्य नाच प्रदर्शनीका लागि व्यवस्थापनका कार्य गर्दै आएको बताउनुभयो । मगर समुदायको बाहुल्यता रहेको निस्दी गाउँपालिका पछिल्लो समय अन्य स्थानमा पनि मगर समुदायसँगै अन्य समुदायले पनि लाखेनाच प्रदर्शन गर्दै आएका छन् । बेलौजीमा लाखेनाच सुरु भए पश्चात् निस्दी–५ को कठैडाँडा र राईकोटमा पनि लाखेनाच सुरु भएको छ ।