• १६ भदौ २०८१, आइतबार

आस्थाको केन्द्र घोडाघोडी

blog

सुदूरपश्चिम प्रदेश कला संस्कृति र रीतिरिवाजमा विविधता भएको प्रदेश हो । भौगोलिक हिसाबले तराई, पहाड र हिमाली क्षेत्र यस प्रदेशमा पर्दछ । सुदूरपश्चिम प्रदेशमा स्वदेशी तथा विदेशीलाई आकर्षण गर्ने पर्यटकीय क्षेत्रसँगै सांस्कृतिक, धार्मिक महìव बोकेका क्षेत्र पनि छन् । यस्तै मध्ये एक हो घोडाघोडी । घोडाघोडी भन्नेबित्तिकै घोडाघोडी ताललाई सम्झन्छौँ । विश्व रामसार सूचीमा सूचीकृत भएर तराईकै ठुलो सिमसार क्षेत्रका रूपमा रहेको घोडाघोडी तालकै समीपमा रहेको घोडाघोडी धार्मिक क्षेत्रको पनि उत्तिकै महìव छ । घोडाघोडी तालको भन्दा सुरुमा घोडाघोडी धार्मिक क्षेत्रको चर्चा हुने भए पनि अहिले दुवैको उत्तिकै महìव रहेको छ ।

थारू र पर्वते समुदायका पुजारी रहेको र दुवै समुदायको एउटै आस्थाको केन्द्र हो, घोडाघोडी मन्दिर । यहाँ मुख्य मन्दिरका रूपमा घोडाघोडी मन्दिर रहेको छ । घोडाघोडी मन्दिरभित्र माटाका घोडाघोडीहरू राखिएका छन् । त्यहाँ देवी भगवतीको आस्थाका रूपमा दैनिक भक्तजन दर्शनका लागि पुग्ने गर्दछन् । उक्त मन्दिरमा रेखदेख गर्ने भगत पुजारी थारू समुदायकै हुनुहुन्छ । यहाँ विशेष पर्वमा ठुलो मेला र बलिसहितको पूजाअर्चना हुने गर्दछ । कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकामा पर्ने घोडाघोडी तालअगाडि पूर्वपश्चिम राष्ट्रिय राजमार्गको किनारमा घोडाघोडी धार्मिक क्षेत्र रहेको छ । २०५१ सालमा योगी नरहरिनाथले घोडाघोडीमा एक महिना कोटीहोम सञ्चालन गर्नुभएपछि यस क्षेत्रको महिमा अझै बढेको हो । 

तत्कालीन अवस्थामा योगी नरहरिनाथले घोडाघोडीको धार्मिक महìवलाई घोडाघोडी माहत्मे नामक किताबमार्फत प्रचारप्रसार गर्नुभएको थियो । घोडाघोडी मन्दिर गुरुकुलका प्राचार्य शङ्करप्रसाद सन्ज्यालका अनुसार सत्ययुगमा लक्ष्मी भगवतीको श्रापमा परी घोडी बनेको र घोडाघोडी क्षेत्रमा आई तपस्या गरिबसेको अवस्थामा भगवान् विष्णुले लक्ष्मीलाई खोज्न घोडाको अवतार लिई घोडाघोडी क्षेत्रमा आइपुग्नुभएको थियो । घोडा र घोडीका रूपमा लक्ष्मी र विष्णुको मिलन भएपछि भगवान्का हर्षका आँसुले ताल बनेको भन्ने वर्णन श्रीमद्भागवत पुराणको षष्ठम स्कन्दको अध्यायमा उल्लिखित छ । जुन अहिले घोडाघोडी तालको नामले प्रख्यात छ । त्यसपछि यसै स्थानमा कपिल मुनिले तपस्या गरेको हँुदा घोडाघोडी ताललाई कपिल ताल नामकरण गरिएको योगी नरहरिनाथद्वारा लिखित पुस्तकमा उल्लेख छ । 

साधत्व र सत्यता प्राप्तिका लागि विभिन्न समयमा ऋषिमुनि, महापुरुषले तपस्या गरेका तथ्यहरू घोडाघोडीमा पाइन्छ । गुरुकुलका प्राचार्य सन्ज्यालले योगी नरहरिनाथले कोटीहोमका लागि खाल्डो खनाउँदा विभिन्न तथ्यहरू फेला परेको बताउनुभयो । घोडाघोडीमा विशेष गरेर शिव, विष्णु र हनुमानको छुट्टाछुट्टै मन्दिर रहेका छन् । प्रत्येक मन्दिरमा अलग अलग पुजारीको व्यवस्था छ । यहाँ विशेष गरेर शिवरात्रि, माघेसङ्व्रmान्ति, विवाह पञ्चमी, कृष्णाष्टमी, तिज, गौरापर्व, नवरात्रि, जनैपूर्णिमालगायतका पर्वमा विशेष पूजाअर्चना हुनुका साथै मेलासमेत लाग्ने गर्दछ । होमकुण्ड अहिले पनि यथावत् नै संरक्षण गरी राखिएको छ । विवाह, व्रतबन्धलगायतका कार्य दैनिक मन्दिरमा हुने गर्छन् । उक्त धार्मिक क्षेत्रमा २०५८ सालदेखि गुरुकुल सञ्चालनमा छ । विभिन्न ठाउँका ३० जना बटुक गुरुकुलमै बसेर वेदविद्या, संस्कृत विद्या अध्ययन गरिरहेका छन् ।

तीन सय वर्ष पुरानो मोहन्याल जात्रा

घोडाघोडी धार्मिक क्षेत्रमा थारू र पर्वते समुदायको फरक फरक तिथिमा विशेष जात्रा तथा पूजा हँुदै आएको छ । त्यसमध्ये एक हो मोहन्याल पूजा तथा जात्रा । विशेष गरेर सुदूरपश्चिमको डोटीबाट यो जात्रा तथा पूजा सुरु भए पनि अहिले विभिन्न क्षेत्रबाट बसाइँसराइ गरी तराई झरेकाले घोडाघोडी मन्दिर परिसरको पश्चिमपट्टि मोहन्यालको छुट्टै मन्दिर स्थापना गरी पूजा तथा जात्रा मनाउँदै आएका छन् । मन्दिरमा जात्रा मनाउन तथा पूजा गर्नका लागि अघिल्लो दिन नै भक्तालु तथा श्रद्धालु आउने गर्छन् । वर्षमा दुई पटक एकादशीका दिन मोहन्याल पूजा हुने गर्दछ ।

प्राध्यापक डा. दीपकराज जोशीले डोटीको कठिउरमा मङ्सिर महिनामा पहिलो पटक र दोस्रो पटक घोडाघोडीमा पूजा तथा जात्रा हुने गरेको बताउनुभयो । उहाँका अनुसार करिब तीन सय वर्षअघि कठिउरका बम थरका व्यक्तिलाई सपना भई मोहन्याल देवताको स्थापना गरी पुजारी, धामी राखेर पूजा गरे जगत्को कल्याण हुने सन्देश दिएपछि यो जात्रा तथा पूजा सुरु भएको बताइन्छ । ताडी थरका व्यक्ति धामी र जोशीहरू पुजारी रहने चलन अहिले पनि कायमै छ । सुरुमा डोटीको कठिउरमा त्यस क्षेत्रका मानिसले मान्दै आएको मोहन्याल जात्राले अहिले बृहत्तर रूप लिँदै गएको छ । प्राडा जोशीले भन्नुभयो, “अहिले पनि कठिउरमा अछाम, डोटीलगायत आसपासका मानिस जम्मा भएर मोहन्याल जात्रामा डेउडा खेल लगाउने र पूजा गर्ने चलन व्यापक बन्दै गएको छ । तराईतिर झरेका त्यस क्षेत्रका मानिसले घोडाघोडीमा मोहन्यालको मन्दिर स्थापना गरेर पूजा गर्न थालेपछि यता पनि यसको महìव बढ्दै गएको हो ।”

घोडाघोडीमा मोहन्याल जात्रा तथा पूजा २०६१ बाट सुरु भएको हो । एकादशीका दिन हुने पूजाको अघिल्लो दशमीको रात पूजास्थलमा डेउडा खेल लगाउनुका साथै १०–१५ जना धामी आगोको वरिपरि नाच्ने गर्दछन् । रातभर जाग्राम बसेर भोलिपल्ट बिहानै नुहाइधुवाई गरेपश्चात् पूजा गरिन्छ । पूजा हुनुपूर्व मोहन्याल मन्दिरमा धामी बस्ने चलन छ । वर्षभरिको राम्रो नराम्रो सबै कुरा धामीले भन्ने जनविश्वास छ । मोहन्याल जात्रा विशेष गरेर शिवकै एउटा स्वरूप रहेको र शिवशक्तिका रूपमा विशेष दिन पारेर पूजा गरिँदै आएको मन्दिरका पुजारी बुद्धिप्रसाद जोशीले बताउनुभयो । मोहन्याल जात्राको अवसरमा २०७४ देखि स्थानीय बिदा दिने गरिएको छ । यहाँको प्राकृतिक सिमसार क्षेत्र घोडाघोडी तालको महìवसँगै धार्मिक पर्यटनको समेत महìव बढ्दै गएको समाजसेवी पूर्णराज जोशीले बताउनुभयो । यहाँ रहेका विभिन्न मठमन्दिरमा श्रद्धापूर्वक मनको इच्छा राखेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । दैनिक पूर्व÷पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने आन्तरिक तथा भारतीय धार्मिक पर्यटकले मन्दिरको दर्शन गरेर जाने गरेको घोडाघोडी मन्दिर प्रतिष्ठानका शङ्कर सञ्ज्यालले उल्लेख गर्नुभयो ।

थारू समुदायको ल्वाङ्गी पूजा

घोडाघोडी धार्मिक क्षेत्रमा रहेको घोडाघोडी मन्दिर तराईकै थारू समुदायको सबैभन्दा ठुलो देउथान हो । यस मन्दिरमा हरेक वर्ष थारू समुदायको ल्वाङ्गी पूजा हुने गर्दछ । विवाह पञ्चमीका दिन पर्ने यो पूजा परापूर्वकालदेखि थारू समुदायले कुलदेवताका रूपमा पुज्दै उत्सवकै रूपमा मनाउँदै आएका छन् । 

थारू बस्ती बसेसँगै देउथानका रूपमा घोडाघोडीमा थारू समुदायले पूजा गर्ने चलन रहेको बताइन्छ । योगी नरहरिनाथले कोटीहोम लगाउनुपूर्व पूर्वपश्चिम राष्ट्रिय राजमार्ग विस्तार गर्ने व्रmममा घोडाघोडी मन्दिरअगाडि सडक विस्तार गर्न डोजर चलाउँदा नागले धेरै दिन बाटो छेकेपछि अहिलेको घोडाघोडीको मुख्य मन्दिर भएको ठाउँमा पूजा गरेपछि नागले बाटो छोडेको स्थानीयवासीको भनाइ छ । सोही मन्दिरमा थारू भगत पुजारीका रूपमा रहँदै आउनुभएको छ । ल्वाङ्गी पूजा थारू समुदायको परम्परागत रूपमा मानिँदै आएको धार्मिक संस्कार हो । लामो समयदेखि यस पूजालाई पर्वका रूपमा भव्य रूपमा सम्पन्न गर्न घोडाघोडी तथा संस्कृति संरक्षण समाजले व्यवस्थापनको कार्य गर्दै आएको छ । पछिल्लो समय तीन दिनको सांस्कृतिक महोत्सवको आयोजना गरी मन्दिर परिसरमा थारू संस्कृति झल्काउने विभिन्न प्रस्तुति प्रदर्शन गर्ने गरिएको समाजका अध्यक्ष चन्द्रबहादुर चौधरीले बताउनुभयो । 

राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै थारू समुदायको वेशभूषा झल्काउने थारू समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिन नचुवा नाच, धमार, मागरलगायतको प्रस्तुतिले थारू समुदायको संस्कृति संरक्षणमा सहयोग पुगेको बताइन्छ । ल्वाङ्गी पूजामा कैलाली तथा कञ्चनपुरका थारू समुदाय तथा गैरथारू समुदायको सहभागिता रहन्छ । घोडाघोडी नगर भलमनसा समाजका अध्यक्ष बुधराम चौधरीले घोडाघोडी, भजनी, लम्कीचुहा, बर्दगोरिया, कैलारी, गौरीगङ्गालगायतका ९० भलमनसा पूजामा सहभागी हुन्छन् । उहाँका अनुसार यो पर्वमा विशेष गरी थारू समुदायले नयाँ बाली भिœयाइसकेपछि उक्त अन्नबालीलाई प्रसादका रूपमा आफ्ना देवीदेवतालाई चढाइने भएकाले पनि ल्वाङ्गी पूजाको महìव छ । 

ल्वाङ्गी पूजाको अघिल्लो रात थारू गुरुबाहरू धाक (धामी बस्ने) बस्ने र पूजाको बिहान मन्दिरमा देउतालाई छाँक (रक्सी), भालेपोथी दुई वटा सुँगुर, भाले कुखुराको भोग दिने चलन छ । मुख्य गुरुबाले पूजा गरेपछि सहभागी भलमनसाले भोग दिने र त्यसपछि मात्र अन्य भक्तजनको पूजा तथा भोग दिने गरिन्छ । पूजा कार्यव्रmममा कैलालीका ८२ गाउँका थारू समुदायको सहभागिता रहँदै आएको छ । घोडाघोडी देवताको अदृश्य शक्ति रहेको विश्वासका साथ भाकल गरेमा सोचेका मनोरथ मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनधारणा पाइन्छ ।