• १६ भदौ २०८१, आइतबार

बसले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

blog

काभ्रेपलाञ्चोक, भदौ १४ गते । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी  महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

सडक–बाटोमा मागी हिँड्ने ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले गए राति मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नाम, वतन नखुलेकी ती महिलालाई ठक्कर दिने बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुसी न्यौपाने मृतावस्थामा फेलापरेकी छन् । बिहीबार अपराह्न घरबाट हराएको खबर पाएलगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुसीको शव फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

धरानमा बाढीले बगाउँदा मृत्यु

धरानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । बिहीबार दिउँसो परेको भारी वर्षाका कारण ड्रेनमा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

विद्यालयबाट घर फर्कँदै गर्दा धरान–११ ऐश्वर्य मार्गको ड्रेनमा आएको भेल बाढीले बगाएर मृत्यु भएको हो । उनी भिक्टोरी विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साथीसँगै विद्यालयबाट घर फर्कने क्रममा लिम्बूलाई बाढीले बगाएको थियो । 

धरान–११ मङ्गलबारे नजिक डे«नबाट बगाएर धरान–१७ ठकुरीखोलास्थित करिब दुई किलोमिटर तल झाडीमा अड्किएको अवस्थामा लिम्बूमृत भेटिएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।