• २ माघ २०८१, बुधबार

‘शिक्षालाई रोजगारी र उत्पादनसँग जोड्नु पर्छ’

blog

काठमाडौँ, भदौ १४ गते  । नेपालको शिक्षा प्रणाली सिप र श्रममा जोडेर उत्पादन बढाउन सहयोग पुग्ने व्यावहारिक हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । हाल नेपालमा दिइने शिक्षा सैद्धान्तिक ज्ञानमा मात्रै आधारित भएकाले यसले श्रम बजार, उत्पादन र रोजगारीलाई जोड्न सकेको छैन । 

नेपाल उद्योग परिसङ्घ, होटेल सङ्घ नेपाल र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संयुक्त रूपमा बिहीबार राजधानीमा आयोजित ‘शिक्षा र रोजगारी’ विषयक छलफलमा सहभागी वक्ताले सो कुरामा जोड दिनुभएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सिटिइभिटीको पाठयक्रम पुनर्संरचना गरेर अहिले नेपालका उद्योगलाई आवश्यक जनशक्ति उत्पादन हुने गरी पाठ्यक्रम तयार गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिनुभयो । मन्त्रालयले नेपालको शिक्षालाई सिप, श्रम बजार र उत्पादनसँग जोड्ने गरी विद्यालय तहदेखि विश्वविद्यालयको पाठ्यक्रम पुनर्संरचना गर्ने काम भइरहेको पनि उहाँले बताउनुभयो । नयाँ पाठयक्रम अनुसार अबको शिक्षा उद्योग रोजगारी र उत्पादनमा केन्द्रित हुनु पर्छ भन्ने रहेको बताउँदै उहाँले शिक्षा, उद्योग र श्रम तीन वटा छुट्टाछुट्टै मन्त्रालय अन्तर्गत रहेकाले अबका दिनमा यी तीन मन्त्रालयबाट हुने कार्यक्रमलाई एकअर्कामा समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।  

कार्यक्रममा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालाई उद्योग र उत्पादनसँग जोडेर परिणाम ल्याउनका लागि निजी क्षेत्रको प्रत्यक्ष लगानी आवश्यक रहेको बताउनुभयो । जर्मनीमा निजी उद्योगीले आफ्ना लागि आवश्यक सक्षम जनशक्ति उत्पादन गर्न आफैँ शिक्षामा लगानी गरेर राम्रो उत्पादन गर्न सफल भएको बताउँदै उहाँले नेपालका उद्योगीले पनि जर्मनीकै जस्तो गरी आफ्नो उद्योगलाई चाहिने सक्षम जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी गर्नुपर्ने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सदस्य महेश भट्टराईले अब नेपालको शिक्षा प्रणाली उत्पादनसँग जोडिने र दक्ष जनशक्ति उत्पादन गर्ने हुनुपर्ने बताउनुभयो । अब प्राविधिक र व्यावसायिक शिक्षा दिने शिक्षालयको आवश्यकता रहेको भन्दै उहाँले सिटिइभिटी सङ्घीयताको मर्म अनुसार अगाडि बढाउन प्रयास भइरहेको बताउनुभयो । 

काठमाडौँ विश्वविद्यालयमा अध्यायपन गराउँदै आउनुभएका डा. प्रकाश पौडेलले नेपालको शिक्षा प्रणालीलाई रोजगारीसँग जोड्ने उद्देश्यका साथ २०४५ सालमा प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) स्थापना गरिए पनि त्यसको महत्व अहिलेसम्म स्थापित हुन नसकेको बताउनुभयो । 

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष किरण चौधरी र होटेल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहलगायतले नेपालको उत्पादन र रोजगारीको क्षेत्रमा आफूहरूको ठुलो योगदान रहेको र आउँदा दिनमा यस क्षेत्रबाट अझै गुणस्तरीय सेवा र उत्पादन दिनका लागि शिक्षा तथा व्यावसायिक तालिममा सहयोग, लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।