• १३ भदौ २०८१, बिहिबार

४९ वर्षपछि परिवारसँग भेट

blog

खरबहादुर राई ।

शेरबहादुर राई

ओखलढुङ्गा, भदौ १३ गते। २२ वर्षको युवा अवस्थामा विदेश जानुभएका ओखलढुङ्गाको साबिक रागादीप गाउँ विकास समिति हाल मोलुङ गाउँपालिका–८ का खरबहादुर राई ७१ वर्षको वृद्ध अवस्थामा घर फर्किनु भएको छ।

२०३२ सालमा घर छोड्नुभएका हिँड्नुभएका राई ४९ वर्षपछि घर फर्किनु भएको हो। रोजगारीको सिलसिलामा धरान, काठमाडौँ, पोखरा, स्याङ्जा, लुम्ले, त्रिशूली हुँदै लमजुङ पुग्नुभएका राई ४९ वर्षपछि गाउँ फर्किनु भएको हो। 

राई लामो समयसम्म लमजुङ जिल्लाको राईनाथ नगरपालिका–१ मा ज्याला मजदुरी गरेर बस्नुभएको खुलेको छ। 

राई लमजुङ जिल्लामा रहेको र गाउँ फर्किन चाहेको बारे सिन्धुलीको फिक्कल गाउँपालिका–६ का दिल राईले जानकारी गराउनुभएको थियो। 

लमजुङको राईनाथ नगरपालिका–१ का साथीमार्फत खरबहादुरको बारेमा जानकारी पाउनुभएका राईले गोरखापत्रलाई जानकारी गराउनुभएको हो। 

मोलुङ गाउँपालिका–८ रागादीपका वडाध्यक्ष सुधीर राईलाई जानकारी गराई राईनाथ नगरपालिका–१ लमजुङका वडाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाल प्रहरी र स्थानीयको समन्वयमा राईलाई उद्धार गरेर ओखलढुङ्गाको रागादीपमा रहेका आफन्तसँग भेट गराइएको हो। 

कागजात मिलाएर खरबहादुर राईलाई सामाजिक सुरक्षा भत्ता दिलाउने प्रक्रिया थालिएको वडाध्यक्ष सुधीर राईले जानकारी दिनुभएको छ। उहाँको बुबा आमाको निधन भइसकेको छ। हाल उहाँ भाइ बुहारीको घरमा बस्नु भएको छ।