• १३ भदौ २०८१, बिहिबार

नयाँ जातका स्याउ खेती विस्तार

blog

यदुप्रसाद भट्ट 

मनाङ, भदौ १३ गते । परम्परागत खेतीबाट खासै आम्दानी नहुने र परिवार पाल्न पनि धौधौ हुन थालेपछि मनाङका कृषक नगदे बालीतर्फ उन्मुख भएका छन् । स्याउ, मकै, भटमास, आलु र राजमाको खेती गर्ने किसान स्याउ खेती विस्तारमा लागेका छन् । 

परम्परागत यी बालीबाट राम्रो आम्दानी नभएपछि यहाँका किसान अहिले उच्च प्रविधिको इटाली र सर्बियाबाट ल्याइएको धेरै फल दिने फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउ खेती विस्तारमा लागेका हुन् । नासोँ गाउँपालिका–४, घेलानचोकका रामप्रसाद गुरुङले फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउ एउटै बोटमा ४५ किलोसम्म फल्ने गरेको बताउनुभयो । उहाँले चार रोपनी क्षेत्रफलमा उच्च प्रविधिको ‘हाई डेन्सिटी एम्पल फार्म’ विस्तार गर्नुभएको छ । पाँच वर्षअघि लगाएको स्याउले फल दिन थालेको दुई वर्ष भयो । 

दुई वर्षदेखिनै फल दिन सुरु गर्ने र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने भएकाले पनि यो प्रजातिको स्याउ खेतीतर्फ लगाव बढेको सङ्गीता गुरुङले बताउनुभयो । स्याउ बेचेर प्राप्त भएको पैसाबाट लमजुङ, पोखरा, काठमाडौँ लगायतका सहरमा राखेर बच्चाबच्ची पढाउनुपर्ने बाध्यता उहाँमा छ । अहिले प्रायः किसान परम्परागत खेती विस्थापित गर्दै यो प्रविधिको स्याउ खेतीमा लागेका छन् । जति चिसो भयो त्यति नै सप्रिने स्याउको बिरुवा भएकाले अनुकूल वातावरण पाए एउटै बोटले ४५ किलोसम्म उत्पादन दिन सक्ने कृषि प्राविधिक बताउँछन् । 

कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीले मनाङमा प्रायः कृषकले यस्ता स्याउ उत्पादनमा जोड दिएको बताउनुभयो । यी स्याउ उत्पादनको पहिलो सुरुवात एग्रो मनाङ प्रालिले गरेको हो । मनाङको ङिस्याङ गाउँपालिका–१, भ्राताङमा एग्रो मनाङ प्रालिले ७ सय ३५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेको छ । यहाँ गाला, गोल्डेन र फुजी गरी तीन थरीका स्याउ फलेको छ । स्याउ टिप्न मात्रै एकदेखि डेढ महिना लाग्छ । 

यो वर्ष ५ सय मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन हुने प्रक्षेपण गरिएको छ । गत वर्ष ४ सय ५० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको थियो । मनाङमा स्याउबाट वार्षिक ५ करोडभन्दा बढी आम्दानी हुन्छ । 

पूर्व सांसद पोल्देन छोपाङ गुरुङले इटाली र सर्बियाबाट स्याउको बेर्ना ल्याएर स्याउ खेती थाल्नुभएको छ । एग्रो मनाङको स्याउ काठमाडौं, पोखरालगायत ठूलाठूला डिमार्टमेन्ट स्टोर तथा होटलमा बिक्री हुन्छ । समुद्री सतहदेखि २ हजार ९ सय मिटर उचाइको भ्राताङमा स्याउ फलेको आठ वर्ष भयो । स्याउ भण्डारण गर्न भ्राताङ, बेँसीसहर र काठमाडौँमा चिस्यान केन्द्र निर्माण गरिएको छ । एग्रो मनाङले हालसम्म २ करोड २४ लाख रुपियाँ अनुदान सहयोग पाएको छ । 

एग्रो मनाङ प्रलिका अध्यक्ष सोमराज गुरुङले फार्ममा उत्पादित स्याउ भारतको कोलकाता हुँदै तेस्रो मुलुकसम्म निर्यात गर्ने योजना रहेको बताउनुभयो । ङिस्याङ गाउँपालिका–१, भ्राताङमा रहेको पुरानो स्याउबारीसँगै गाउँपालिकासँग थप जग्गा भाडामा लिइएको छ । २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार रुपियाँ भाडा तिर्ने गरी स्याउ खेती अघि बढाइएको यस फार्ममा अहिलेसम्म ३० करोड रुपियाँ लगानी भएको अध्यक्ष गुरुङले बताउनुभयो । 

गुरुङका अनुसार स्याउ खेतीका लागि सुरुमा हिमाली परियोजनाले २ करोड २४ लाख रुपियाँ अनुदान दिएको थियो । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाबाट मल, बिउ र प्याकेजिङमा अनुदान छ । बाँकी लगानी बैंकबाट जुटाइएको उहाँले बताउनुभयो । फार्ममा रहेका ६२ हजार बिरुवामध्ये धेरैले उत्पादन दिन थालेका छन् । केही बिरुवा प्रत्येक वर्ष थप्ने गरिएको छ ।