• १६ भदौ २०८१, आइतबार

दुर्लभ रेडपान्डा संरक्षण क्रियाकलापमा दुई करोड खर्च गरिँदै

blog

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केही समय पहिले फेला परेको रेडपान्डा (हाब्रे)। तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ १३ गते। ताप्लेजुङमा दुर्लभ रेडपान्डा संरक्षणसम्बन्धी क्रियाकलापमा करिब दुई करोड रुपियाँ खर्च गरिने भएको छ। रेडपान्डा संरक्षणको काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले चालू आर्थिक वर्षमा उक्त रकम खर्च गर्ने भएको हो।

मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार चालू आव २०८१/८२ मा रेडपान्डा संरक्षणसम्बन्धी गतिविधिमा कुल एक करोड ९२ लाख ५५ हजार ८३३ रुपियाँ खर्च गरिने छ। रेड पान्डा नेटवर्कको सहयोगमा मञ्चले उक्त बजेट खर्च गर्न लागेको राईले जानकारी दिनुभयो। राईले रेडपान्डा संरक्षणसम्बन्धी विभिन्न ४१ वटा कार्यक्रम सञ्चालन हुने र उक्त रकम खर्च गरिने जानकारी दिनुभयो। 

कार्यालय सञ्चालन र कर्मचारीको तलबसमेत सोही रकममा पर्ने उहाँले बताउनुभयो। मञ्चका अनुसार रेडपान्डा अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, दिगो जीविकोपार्जन र पर्यटन प्रवर्द्धन शीर्षकमा उक्त बजेट खर्च हुनेछ। मञ्चले हाल जिल्लाका रेडपान्डा पाइने र रेडपान्डाको सम्भावित बासस्थान भएको क्षेत्रमा संरक्षणसम्बन्धी क्रियाकलाप सञ्चालन गर्दै आएको छ।

विगतदेखि नै रेडपान्डाको नियमित अनुगमनसम्बन्धी क्रियाकलाप, चोरी शिकारी नियन्त्रणलगायतका संरक्षणसम्बन्धी कार्यक्रम गरिरहेको मञ्चले जनाएको छ। रेडपान्डा संरक्षण अन्तर्गत नै रेडपान्डाको प्रमुख बासस्थान भएको क्षेत्रका दर्जनौँ विद्यालयमा रेडपान्डा तथा वातावरण संरक्षणसम्बन्धी स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो।