• १३ भदौ २०८१, बिहिबार

भैरहवामा दुई सय १० बोरा चिनी बरामद

blog

भन्सारको टोलीले बरामद गरेको चिनी । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल
भैरहवा, भदौ १३ गते । 
भैरहवा भन्सार कार्यालयले ठुलो परिमाणमा तस्करीको सामान बरामद गरेको छ । लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले बेथरीबाट भन्सार छली नेपाल भित्रिएको दुई सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालकसहित नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी नेपालतर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो । ट्रक चालक मायादेवी गाउँपालिका २ तुलसीपुरका शिवकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रमुख गौतमले बताउनुभयो । नेपाली उद्योगको नामको चिनीका बोरामा भरिएको अवस्थामा छ लाख ३० हजार मूल्य बराबरको चिनी र ट्रकको १९ लाख गरी १६ लाख ३० हजार मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।

“चालकले सोधपुछको क्रममा चामल रहेको बयान दिए पनि सामान चेकजाँच गर्दा चिनी फेला परेको छ । उक्त सामान झुलनीपुरबाट लोड गरी पोखरा लैजाँदै गरेको सोधपुछबाट खुलेको छ ।,”उहाँले भन्नुभयो । सो क्षेत्रबाट पछिल्लो समय निरन्तर सामान भित्रिरहेको बरामद सामानबाट पुष्टि भइरहेको छ ।

एक साता अघि पनि सोही क्षेत्रबाट लु २ ख १२९० नम्बरको ट्रकसहित दुई सय १० बोरा चिनी बरामद भएको थियो । लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट सशस्त्र प्रहरी डण्डाको सहकार्यमा ती सामान बरामद भएका थिए । भैरहवा भन्सार कार्यालयले तस्करीलाई कुनै पनि हालतमा सफल हुन नदिने प्रण गरेको छ । विशेष सूचनालाई आधार बनाई भन्सारले स्रोत साधन र जनशक्ति अनुसार सक्रिय रूपमा निगरानी बढाउँदै रातदिनको गस्ती र सूचनाको सूक्ष्म निगरानीले अवैध पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेको छ  ।

पछिल्लो चामल, चिनी, मटर, कपडा र प्याजको तस्करी बढेको छ । यसका अलावा दैनिक उपभोग्य सामान, हार्डवेयर, मेसिनरी तथा इलेक्ट्रिक सामानहरू विभिन्न नाकाबाट भित्रिरहेको सुरक्षा निकायले बरामद गरेको तथ्याङ्कले देखाउँछ । सीमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहुँ र चामल अवैध रूपमा भित्र्याइ वैद्य बनाउने गरेका छन् ।