• १३ भदौ २०८१, बिहिबार

डढुवा गाउँ पहिरोको उच्च जोखिममा

blog

धनकुटा, भदौ १३ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका सात डढुवा गाउँका फुलमाया राईको घरै नजिकै सुख्खा पहिरो झरिरहेको छ । पहिरो घरभन्दा करिब ५० मिटर पर छ । पहिरोकै कारण घरसँगै जोडिएको घडेरी झरेर करिब १० मिटर तल पुगेको छ ।

घरसँगै निर्माण गरिएको शौचालय समेत घरभन्दा धेरै तल पुगिसकेको छ । घरबारीका सिधारुख समेत बाङ्गीसकेका छन् । घरवारी कुनबेला पहिरोले लाने हो टुङ्गो छैन । पहिरोले धसिएकै बारीमा भए पनि अदुवा, बोडी लगायतको बाली लगाउनु भएको छ । अन्त कतै बस्ने बन्दोबस्ती नभएका कारण त्रासैत्रासकोबिच बस्नु परेको उहाँको भनाइ छ । “पहिरोका कारण रातदिन त्रास हुन्छ राती समेत निन्द्रा लाग्दैन, अन्त कमाई खाने बारी छैन यस्तैमा भए पनि बाली लगाउनु गरेको छ यो पनि कतिबेला तान्छ थाहा छैन,” राई भन्नुहुन्छ । 

धनकुटाको साँगुरीगढी गाउँपालिका सात स्थित डढुवा गाउँ पहिरोको उच्च जोखिममा छ । गाउँको दुवै तर्फको पहिरोको कारण सिङ्गो गाउँ नै जोखिममा परेको हो । २७ परिवारको बसोबास रहेको डढुवाको दुबैतर्फ पहिरो छ । २०५६ सालबाट सुरु भएको गाउँको पूर्व तर्फको पुरानो पहिरोले यस अघि नै सात परिवार विस्थापित भइसको स्थानीय विष्णु राई बताउनुहुन्छ । अहिले भने पूर्वतर्फको पहिरो केही कम भएको छ तर २०७५ सालदेखि गाउँको पश्चिम तर्फबाट अर्को सुख्खा पहिरो सुरु भयो । यो पहिरोका कारण गाउँका २७ परिवारमध्ये स्थानीय गर्भे राई, जिते राई, तीर्थ छारा, तीर्थ राई, बम बहादुर राई लगायत १० परिवार पहिरोको अति जोखिममा रहेको जिते राई बताउनुहुन्छ । अन्त कतै जाने व्यवस्था नभएकाले आफूहरूलाई सुरक्षित स्थानमा सार्न उनीहरूको माग छ । “जाने ठाउँ कतै छैन गाउँ नै कतिबेला बगाउँछ थाहा छैन चाँडोभन्दा चाँडो हामीलाई यहाँबाट सार्न माग गर्दछौँ,” जिते राई भन्नुहुन्छ। 

दुवै तर्फको पहिरोले गाउँको धेरै जग्गा जमिन बगाइसकेको छ । त्यसो त पालिकाले पनि सो स्थानलाई नियालिरहेको बताएको छ । जिल्लामै सबैभन्दा बढी पहिरोको जोखिम साँघुरीगढी गाउँपालिकामै रहेकोले पहिरोको कारण अति जोखिममा परेको परिवारलाई स्थानान्तरणको प्रक्रिया अगाडी बढाइएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो । धनकुटाका सात पालिकामध्ये सबैभन्दा बढी बाढीपहिरोको जोखिम यो पालिकामा रहेको उहाँको भनाइ छ । 

पालिकाका विभिन्न स्थानमा आधा दर्जन भन्दा बढी सक्रिय पहिरो छन् । कहिले त नजिकैको बस्ती नै विस्थापित गरिसकेको छ । चाँडोभन्दा चाँडो पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गराउन स्थानीयको माग छ ।