• १० मंसिर २०८१, सोमबार

व्यावसायिक फलफूल खेतीमा किसान

blog

शेरबहादुर सार्की

बाजुरा, भदौ १३ गते । बाजुराका अधिकांश किसानले पछिल्लो समय फलफूल खेतीलाई व्यावसायिक रूपमा अँगाल्न थालेका छन् । यहाँ उत्पादित स्याउ, सुन्तला, किवी, आँप, ओखर, कागतीलगायतका फलफूल आयआर्जनको मुख्य स्रोत बन्ने सम्भावना बढेको छ । 

मुलुक सङ्घीय संरचनामा रूपान्तरण भएसँगै स्थानीय तहको निर्माण र ग्रामीण बस्ती सडक सञ्जालसँग जोडिएकाले पछिल्लो समय फलफूल खेतीप्रति आकर्षण बढेको हो । स्थानीयले फलफूल खेतीलाई आयआर्जन व्यवसायकै रूपमा लिन थालेका हुन् । स्याउ खेतीका लागि यहाँको माटो र हावापानी राम्रो रहेकाले पछिल्लो समय धेरै किसान फलफूल खेतीतर्फ आकर्षित बन्दै गएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पहिला पहिला स्थानीय जातको मात्र स्याउ उत्पादन हुन्थ्यो । कृषिमा आधुनिकीकरण हुन सकेको थिएन । कृषि ज्ञान केन्द्रले पछिल्लो समय साइबेरियामा उत्पादन हुने गरेको गोल्डेन गाला, फुजी स्याउका बोट वितरण गरेको छ । मनाङबाट ल्याइएको उन्नत जातको स्याउका कारण उत्पादन वृद्धि हुन थालेको हो । नयाँ जातको स्याउ राम्रो उत्पादन हुने गरेको किसान बताउँछन् । स्वामीकार्तिक खापर गाउँपालिका–१, जोरुका स्याउ किसान धनबहादुर रावतले स्याउको उत्पादन राम्रो हुन थालेपछि आफूहरूले यसलाई व्यवसायका रूपमा लिन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्याउ खेती जीविकोपार्जनमा निकै सहज देखेपछि मैले करिब सात सय रोपनीमा स्याउ खेती गरेको छु । ती स्याउ यति बेला राम्रोसँग फलेका छन् ।” स्याउ, सुन्तला, ओखर, कागतीलगायतका फलफूललाई स्थानीय सरकारले बजारसम्म बिक्री गर्न अनुदानको व्यवस्था गर्दै आएको छ । 

स्थानीय तह तथा सरकारी निकायको सहयोगका कारण पनि किसान फलफूल खेतीमा लाग्न थालेका रावलले बताउनुभयो । स्वामीकार्तिक खापर गाउँपालिका स्याउ खेतीका लागि उर्वर मानिएको छ । गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले यहाँको हावापानी निकै राम्रो भएकाले पछिल्लो समय किसानलाई स्याउ खेतीतर्फ आकर्षित गर्दै आएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले बाँझो जमिनमा पनि स्याउ खेती गर्ने अभियान सुरु गरेको छ । त्यसका लागि किसानलाई नयाँ जातको स्याउको बिरुवासमेत दिने गरेको छ ।

स्थानीय किसानले उत्पादन गरेका स्याउ तथा कागती गाउँपालिकाले देशका विभिन्न ठाउँमा बिक्री गर्न ढुवानी अनुदानबापत सहयोग गर्दै आएको जानकारी अध्यक्ष रोकायाले दिनुभयो । करिब ३७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेट्रिक टन स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।